दुईपटक सरकार गिराउने ‘कि फ्याक्टर’ निर्मलाकाे मन्त्रालयमा कमब्याक होला ? – Nepal Press

दुईपटक सरकार गिराउने ‘कि फ्याक्टर’ निर्मलाकाे मन्त्रालयमा कमब्याक होला ?

विराटनगर । गएको जेठ १७ सम्म हिक्मत कार्की नेतृत्वको सरकारमा सहभागी थिइन् जसपा कोशीकी प्रदेशसभा सदस्य निर्मला सुब्बा । प्रदेशसभामा एक मात्रै सिट रहेको जसपाकी प्रदेश सभा सदस्यले स्वास्थ्य मन्त्रीबाट राजीनामा दिँदै सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि कार्की नेतृत्वको सरकारलाई सङ्कट आइलागेको थियो ।

संविधानको धारा १६८ (२) अन्तरगत एमाले माओवादी, एकीकृत समाजवादी, राप्रपा र जसपाको समर्थनमा २०७९ पुस २४ गते हिक्मत कार्की मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

निर्मलाले पार्टीको निर्णय भन्दै जेठ १७ गते सरकारबाट बाहिरिएपछि कार्कीले विश्वासको मत पाउन सकेनन् । कार्कीलाई राप्रपाका ६ जना र एमालेका ४० जना प्रदेश सभा सदस्यको साथ थियो ।

कोशीमा बहुमत पुर्‍याउन ४७ सिटको आवश्यकता पर्छ । जम्मा एक सिट आफ्नो पक्षमा ल्याउन नसकेपछि गएको असार १५ गते कार्की नेतृत्वको सरकार ढलेको थियो ।

आफ्नो पहिलो कार्यकालको सरकार ढलेपछि कार्की पुन ७० दिन पछि दोस्रो पटक मुख्यमन्त्रीमा कमब्याक भए । कार्कीलाई दोस्रो पटक सरकारको नेतृत्वमा आउन सर्वोच्च अदालतको आदेश कुर्न पर्‍यो ।

बहालवाला सभामुखलाई समेत गनेर प्रदेश प्रमुख परशुराम खापुङ्गले नेपाली काँग्रेस संसदीय दलका नेता थापालाई मुख्यमन्त्री असार १६ गते मुख्यमन्त्रीमा नियुक्त गरेका थिए । उनको नियुक्तिका विरुद्ध सर्वोच्च अदालत गएको एमालेको रिट उपर सुनुवाइ गर्दै साउनको ११ गते थापाको नियुक्त बदर गर्‍यो ।

सर्वोच्चले मुख्यमन्त्रीबाट बरखास्त गरेपछि थापा पुन दोस्रो पटक संविधानको धारा १६८(२) अन्तरगत नै मुख्यमन्त्रीमा नियुक्त भए । दोस्रो पटक थापालाई मुख्यमन्त्री बनाउन सभामुख बाबुराम गौतमले राजीनामा दिए ।

सभामुखलाई राजीनामा गराएर प्रदेश सभाको बहुमत ४७ देखाएका थापालाई विश्वासको मत लिन भने सकस भयो । उप सभामुख सिर्जना दनुवारले बिरामीको कारण देखाउँदै सभा नचलाएपछि भदौ ४ गतेको सभाको अध्यक्षता अध्यक्ष मण्डलका सदस्य इस्राइल मन्सुरीले गरे ।

अध्यक्षताका गरेका मन्सुरीले थापालाई विश्वासको मत दिएको विषयमा एमाले पुन दोस्रो पटक भदौ ६ गते सर्वोच्च गयो ।एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले दायर गरेको रिट उपर भदौ २२ गते सुनुवाइ गर्दै सर्वोच्चले दोस्रो पटक पनि थापालाई बरखास्त गर्‍यो ।

दुई या दुई दलले सरकार गठनका लागि बहुमत पुर्‍याउन नसकेपछि कार्कीलाई ठुलो दलको हैसियतमा सरकार बनाउने सुविधा प्राप्त भयो । उनी संविधानको धारा १६८(३) अन्तरगत सरकारको नेतृत्वमा पुगे । त्यो बेला पनि कार्कीलाई सरकार टिकाउन जम्मा एक सिटको खाँचो थियो । तर सुब्बाले टसकोमस गरिनन् ।

कार्कीलाई सरकार टिकाउन पुनः एक सिटको खाँचो थियो । मुख्यमन्त्री कार्कीले त्यो बेला निर्मलालाई आफ्नो पक्षमा उभ्याउन अनेक प्रयास गरे तर निर्मला टसकोमस भइनन् । उनले पटक पटक भन्ने गर्थिन, ‘नामकरणको विषय नमिले सम्म सरकारमा जान सक्ने अवस्था छैन ।’

एक सिटको अभावमा मुख्यमन्त्रीबाट कार्कीले असोज २० गते राजीनामा दिए ।

दोस्रो पटक राजीनामा दिएका हिक्मत कार्की पुन तेस्रो पटक मुख्यमन्त्री नियुक्त भएका छन् । उनले आजै मात्र पद तथा गोपनीयताको शपथ खाए । तेस्रो पटक सरकारको नेतृत्वमा हिक्मत कार्की पुग्दा निर्मला पनि सहयात्रीको रूपमा सरकारमा जाने सम्भावना देखिएको छ ।

सङ्घीय सरकारमा रहेको गठबन्धनमा उनको दल जसपा सहभागी छ । केन्द्रको गठबन्धन अनुसार प्रदेशहरूको बाँडफाँड हुँदा एक्ली सांसद निर्मला प्रदेश सरकारमा सहभागी हुने आङ्कलन गरिँदै आएको छ । उनी आफै पनि नयाँ सरकार गठनको प्रक्रियामा सहभागी नभए पनि कार्यक्रमहरूमा भने सहभागी हुँदै छन् ।

प्रदेश प्रमुखले संविधानको धारा १६८(५) अन्तरगत सरकारको आव्हान हुँदा होस या मुख्यमन्त्री कार्कीको पक्षमा प्रदेश सभा सदस्यहरूले सनाखत गर्दा दुवै कार्यक्रममा निर्मला प्रदेश प्रमुखको कार्यालयमा छन् ।

उनले समर्थन र हस्ताक्षर नगरे पनि दलको निर्णय अनुसार कार्यक्रममा सहभागी भएको बताइन् । उनले भनिन्, ‘सङ्घीय गठबन्धनमा आफ्नो दल सरकारमा सहभागी भएकाले प्रदेशमा भएको सरकार गठनको कार्यक्रममा आफू सहभागी भएको हुँ ।

कोशी प्रदेशमा एमाले र माओवादीको सहभागितामा अहिले नयाँ सरकार बनेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर