राष्ट्रसंघका महासचिव गुटेरेसको भ्रमणको सुरक्षा नेतृत्व नेपाली सेनाले गर्ने – Nepal Press

राष्ट्रसंघका महासचिव गुटेरेसको भ्रमणको सुरक्षा नेतृत्व नेपाली सेनाले गर्ने

काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमणका बेला नेपाली सेनाले सुरक्षा नेतृत्व गर्ने भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निमन्त्रणामा दसैंलगत्तै नेपाल भ्रमणमा आउन लागेका महासचिव गुटेरेसको भ्रमण राजकीय बनाउने क्रममा नेपाली सेनाको नेतृत्वमा सुरक्षा प्रदान गर्न लागिएको जिल्ला सुरक्षा परिषद् काठमाडौंले जनाएको हो ।

नेपाली सेनाको नेतृत्वमा महासचिव गुटेरेसलाई सुरक्षा दिन जिल्ला सुरक्षा परिषद् काठमाडौं र ललितपुरको बैठकले सबै सुरक्षा निकायसँग समन्वय गरिरहेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेतले नेपाल प्रेसलाई जानकारी दिए ।

प्रमुख जिल्ला अधिकारी बस्नेतले भने, ‘भीभीआईपीको भ्रमणका बेला सुरक्षाको नेतृत्व नेपाली सेनाले नै गर्ने भएकाले संयुक्त राष्ट्रसंघका महासचिवको भ्रमणमा पनि सेनाले नै गर्छ । पहिलो तथा भित्री घेरामा सेना हुन्छ । बीचमा नेपाल प्रहरी र बाहिरी सुरक्षामा सशस्त्र प्रहरी हुन्छ । महासचिवको भ्रमण काठमाडौं उपत्यकाको हकमा काठमाडौं र ललितपुरमा मात्रै हुने भएकाले दुई जिल्लाकै संयुक्त जिल्ला सुरक्षा परिषद् बैठक बसेर पर्याप्त मात्रामा सुरक्षा व्यवस्था र समन्वय गर्ने निर्णय फूलपातीको अघिल्लो दिनमै भइसकेको छ ।’

महासचिव गुटेरेस कात्तिक १२ देखि १५ गतेसम्म नेपालको औपचारिक भ्रमणमा आउँदैछन् । महासचिव गुटेरेसको भ्रमणको क्रममा अन्नपूर्ण र खुम्बु क्षेत्रको हिमाली दृश्यावलोकन गराउने कार्यक्रमसमेत तय गरिएको छ ।

गुटेरेसले कात्तिक १४ गते संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यतालिका छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले गत शुक्रबार संसद सचिवालयलाई पत्र पठाउँदै संसदको संयुक्त सदनमा महासचिव गुटेरेसको सम्बोधनको प्रबन्ध मिलाउन अनुरोध गरिसकेको छ । जसका लागि कात्तिक १२ मा संघीय संसदको संयुक्त बैठक बोलाइएको छ ।

सरकारको आग्रहअनुसार सचिवालयले महासचिव गुटेरेसको सम्बोधनको तयारी थालेको छ । महासचिव गुटेरेसको भ्रमणलाई केन्द्रित गरी प्रतिनिधिसभाको बैठक कात्तिक १२ गते आह्वान भइसकेको र संसदले इजरायल र गाजापट्टीमा भएको हमलामा मारिएका बालबालिका तथा नागरिकको सम्झनामा दुःख व्यक्त गर्ने तयारीसमेत रहेको छ ।

उनको भ्रमणको बेला दुवै सदनको संयुक्त बैठक बस्ने निर्णय भएको छ । महामहिम गुटेरेसले कात्तिक १४ गते अपरान्ह ४ बजे संघीय संसदको संयुक्त सदनलाई सम्बोधन गर्ने कार्यतालिका छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर