श्रममन्त्री अर्यालसँग रोमानियाकी राजदूतको भेट – Nepal Press

श्रममन्त्री अर्यालसँग रोमानियाकी राजदूतको भेट

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्याल र नेपालका लागि रोमानियाकी राजदूत डेनिएला मारियाना सेजोनोभ टेनेबीच भेटवार्ता भएको छ ।

दुईजनाबीच रोमानिया-नेपालबीच श्रमलगायतका विषयमा छलफल भएको थियो । मन्त्री अर्यालले रोमानिया र नेपाल सरकारबीच श्रमसम्बन्धी समझदारी समेत भइसकेको र भिसाका लागि भारत जानु पर्दा नेपालीलाई आर्थिक व्ययभार बढेकाले नेपालबाट नै रोमानियाको भिसा प्रदान गर्ने व्यवस्था मिलाइ दिन आग्रह गरे ।

त्यस्तै, सचिव घनश्याम उपाध्यायले नेपाली सवारी चालक अनुमतिपत्रलाई रोमानिया सरकारले समेत मान्यता दिन अनुरोध गरेका छन् । रोमानियामा माग हुने रोजगारका क्षेत्र अनुकूल हुने गरी नेपाली श्रमिकको सीप विकासका लागि सहकार्य गर्न उपाध्यायले आग्रह गरे ।

राजदूत सेजोनोभले रोमानिया रोजगारदाताले नेपाली श्रमिकलाई रुचाएको र रोमानिया सरकारले पनि सहज र सरल प्रक्रियाबाट नेपाली श्रमिक भित्राउन चाहेको बताइन् । साथै रोमानिया नर्सिङ, निर्माण, हस्पिटालिटी लगायतका क्षेत्रमा नेपालीको अत्यधिक माग रहेको उनले बताइन् ।

राजदूत सेजोनोभका अनुसार रोमानियाले गत जनवरीदेखि हालसम्म नेपाली युवाको लागि ७ हजार ८०० भिसा जारी गरेको छ । गत वर्ष ११ हजार ५०० नेपाली श्रमिक रोमानिया पुगेको उनले बताइन् ।

नेपाल र रोमानिया सरकारबीच सन् १९६८ को अप्रिल २० मा कुटनीति सम्बन्ध स्थापित भएको हो । नेपाल र रोमानिया सरकार बिच सन् २०२३ को अक्टोबर ६ मा श्रम सम्बन्धी समझदारी भएको हो ।

रोमानियामा करिब १० हजार नेपाली श्रमिक छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *