कोशीको साइड इफेक्ट- ‘चिर्कटो’ले गठबन्धनमा परकम्प, भत्काउन एमालेको चलखेल – Nepal Press

कोशीको साइड इफेक्ट- ‘चिर्कटो’ले गठबन्धनमा परकम्प, भत्काउन एमालेको चलखेल

काठमाडौं । सत्ता गठबन्धनलाई भत्काउन प्रमुख प्रतिपक्षी दल नेकपा एमाले रणनीतिक रुपमा अघि सरेको छ । कोशीमा शेखर कोइरालाले अघि सारेका केदार कार्कीलाई मुख्यमन्त्रीमा समर्थन गरेर एमालेले गठबन्धनभित्र खेल्ने जमर्को गरेको छ ।

शेखरले कोशीमा पार्टीको निर्णयविरुद्ध विद्रोह गर्दा कांग्रेसमा मात्रै नभएर सत्ता गठबन्धनमै कम्पन ल्याएको छ । कोशीबाट चालेको कदमले अन्य प्रदेश हुँदै गठबन्धनबाट बनेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्व सरकार धेरै दिनसम्म नटिक्ने एमाले नेताहरुको ठोकुवा छ ।

वर्तमान सरकारको आयु मंसिरसम्म मात्रै भएको एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले दाबी गरे । यो सरकारको आयु बढीमा २ महिना रहेको उनको तर्क छ ।

‘अहिले जुन परिस्थिति कोशीमा देखिएको छ । यसले एकदुई महिनाभित्रमा अहिलेको सरकार बदलिएर नयाँ राजनीतिक समीकरणमा जान्छ भन्ने मैले देखिरहेको छु । मंसिरसम्म यो सरकारको आयु २ महिना राखिदिए हुन्छ’, उनको भनाइ थियो ।

उपाध्यक्ष पाण्डेले मात्रै नभएर एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले पनि कांग्रेस नेताहरुसँग अनौपचारिक छलफल भइरहेको बताए ।

उनले भने, ‘कोशीपछि लुम्बिनी र बागमतीमा पनि कुरा उठिरहेको छ । तर, संवैधानिक हिसाबले प्रदेशसभामा सरकार बन्ने विकल्पको अभ्यासले प्रभाव पार्छ । केन्द्रमा पनि त्यही हुने हो । जनता र देशले गठबन्धनको विकल्पमा नयाँ सरकार र बाटो खोजेको कोशीबाट संकेत गरेको छ । त्यसबारे सामान्य छलफल हुने नै भइहाल्यो कांग्रेस नेताहरुसँग पनि । तर, यही एजेण्डा बनाएर छलफल थालेको अवस्था होइन ।’

उनले देशलाई एमालेले सरकारविहीनताको अवस्था बन्न नदिने बताए ।

उनले थपे, ‘प्रमुख प्रतिपक्ष वेटिङ गभर्मेन्ट भएकाले सरकारविहीनताको अवस्था हुन दिँदैन । अहिले जुन अराजकता र नीतिहीनताको अवस्था आइरहेको छ । त्यसले जनता र राजनीतिक दल पनि विकल्पको खोजीमा रहेको कोशीले देखाएको छ ।’

तर, एमाले नेताहरुले दाबी गरे झैं कोशीको बहाव केन्द्रसम्म आउँछ भन्नेमा सत्ता पक्षका नेताहरु स्वीकार्न तयार छैनन् । यद्यपि, प्रचण्ड सरकारको विकल्प खोज्नुपर्ने बताउँदै आएका शेखरले कोशीमा थालेको विद्रोहले गठबन्धनभित्र आशंका बढाएको छ ।

कोशीमा शेखरको विद्रोहपछि प्रधानमन्त्री र शेरबहादुर देउवासँग गठबन्धन नतोड्ने लिखित सहमति जनाएका छन् । बालुवाटारमा भएको एक बुँदे सहमतिमा भनिएको छ, ‘हामी वर्तमान सत्ता गठबन्धनप्रति दृढ र स्पष्ट छौं, र यो गठबन्धनलाई कुनै पनि हालतमा कमजोर हुन दिने छैनौं ।’

कोशीमा शेखरको कदमबाट हच्किएरै प्रचण्ड र देउवाले शेखरसँग बाध्य भएर लिखित सहमति गरेका हुन् । तर, यो सहमति अहिलेसम्म कार्यान्वयन भएको छैन ।

यो सहमतिअनुसार कोशीको मुख्यमन्त्री कार्की गठबन्धनको हुनुपर्ने हो । तर, उनले एमालेलाई समेटेर मन्त्रिपरिषद् विस्तार गरेका छन् । सत्ता गठबन्धन दलका तीन नेता सत्ता टिकाउन चिर्कटो सम्झौतामा केन्द्रित रहेको एमालेका उपाध्यक्ष विष्णु पौडेलले आरोप लगाए ।

बुटवलमा पुगेर उनले भने, ‘सरकारलाई देशको अर्थतन्त्रका समस्याबारे कुनै मतलब छैन, चासो छैन, सत्ता र सरकार टिकाउने, कागजमा लेखेको चिर्कटो सम्झौता गर्न ठिक्क छ ।’

देउवा र शेखरसँगको सहमतिपछि प्रचण्डले गठबन्धन भत्काउने एमालेको षड्यन्त्र निस्तेज पारेको भन्दै पाँचै वर्ष सहमतिअनुसार अघि बढ्ने दाबी गरेका छन् । तर, उनले आशंका कायमै राखेका छन् ।

उनले आज धनगढी पुगेर भने, ‘एमालेले गरेको चलखेल रोकियो भन्ने ठानेको त हिजो फेरि अर्को चलखेल भयो । हामीले मुख्यमन्त्रीलाई विश्वासको मत लिनुअघि कांग्रेसको एकमात्रै मन्त्री बनाउने भनेको त फेरि एमालेको मन्त्री त्यहाँ छिराइहालेछन् ।’

तर, बालुवाटारमा भएको तीन नेताबीचको सहमतिको चिर्कटोले कांग्रेसमा थप विवाद बढाएको छ । आज सभापति देउवाले राखेको उपसभापति र महामन्त्रीहरुको बैठकमा विश्वप्रकाश शर्मा र गगन थापाले आपत्ति जनाए । प्रधानमन्त्री प्रचण्ड र देउवाले गठबन्धनलाई निरन्तरता दिन्छु भनेर वक्तव्य दिनु उपयुक्त नभएको महामन्त्री शर्माको भनाइ छ ।

उनले भने, ‘शेखरका प्रति आशंका भए उहाँले वक्तव्य दिएको भए भइहाल्यो । त्यो चिर्कटो बनाइएको विषयमा हामी दुई महामन्त्रीको सहमति छैन ।’

यो घटनापछि सभापति देउवा र शेखर कोइरालाले पनि गम्भीर आत्मसमीक्षा गर्नुपर्ने महामन्त्री शर्माले बताए । अब कोशीमा कांग्रेसले पनि विश्वासको मत दिएर अघि बढ्नुपर्ने उनले सुझाव दिए ।

उनले भने, ‘शेखर कोइरालाले पनि जबरजस्ती कांग्रेसको भागको माओवादीलाई दिइयो भन्ने भाष्य बनाउनुभएको छ । त्यो कांग्रेसको भाग दिइएकै होइन । कुनै प्रदेशमा कांग्रेसको भागको हुन त बहुमत ल्याएको पनि हुनुपर्थ्यो नि !’

उनले पार्टी सभापति र शेखरले पार्टी पंक्तिलाई कोशीमा भएको दुर्घटनाबारे जवाफ दिनुपर्ने बताए ।

तर, कांग्रेसका प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्मा कार्की गठबन्धनको मुख्यमन्त्री भइसकेको दाबी गर्छन् । उनी भन्छन्, ‘केन्द्रको सहमतिमै उहाँले एमालेलाई सरकारमा ल्याउनुभएको हो । अब गठबन्धनलाई कायम राखेर सहमतीय सरकार बनाउनेबारे छलफल भइरहेको छ ।’

नेता विश्वकर्माले सत्ता गठबन्धनमा कुनै असर नगर्नेसमेत दाबी गरे ।

त्यसो त पार्टीको निर्णयभन्दा बाहिर गएर मुख्यमन्त्री बनेका कार्कीलाई सभापति देउवाले अब पार्टीको स्पिरिटअनुसार अघि बढ्न निर्देशन दिइसकेका छन् । देउवाले कार्कीलाई अस्वीकार गरेपछि शेखरले बाध्य भएर एमालेसँगको समीकरण अगाडि बढाएको भए पनि त्यो केन्द्रसम्म नआउने उनी निकट एक नेताले बताए ।

शेखर निकटका नेता सञ्जय गौतमले पनि कोशीमा नयाँ ढंगले सरकार बनेपछि केन्द्रमा त्यसले असर नगर्ने बताए ।

उनले भने, ‘हामी गठबन्धनबाटै चुनाव लडेर आएका हौं । अहिले त्यहीअनुसार सरकार बनेको छ । कोशीमा आन्तरिक विवादको कारणले नयाँ ढंगले बने पनि गठबन्धनले स्वीकारिसकेको छ । केन्द्रमा अहिले तत्काल सरकार फेरिने सम्भावना छैन ।’

माओवादीका सचिव दिनानाथ शर्मा पनि कोशीमा भएको घटनालाई स्वाभाविक रुपमा लिन्छन् ।

उनी भन्छन्, ‘कोशीको मुख्यमन्त्री गठबन्धनबाट बनेका छन् । त्यहाँको संसदीय गणित अप्ठेरो थियो । त्यहाँ एमालेले समर्थन गरेर आफैं सरकारमा आयो । लोकतन्त्रमा यस्तो हुनुलाई स्वाभाविक रुपमा नै लिनुपर्छ । त्यहाँ विशेष परिस्थिति बनेको थियो । त्यसलाई निकास दिनुपर्ने अवस्था थियो । अहिले सरकार बनेको छ ।’

नेता शर्माले मध्यावधिमा जानुभन्दा अहिले सबै मिलेर सरकार बन्नु उपयुक्त भएको बताए । कोशीमा देखिएको समस्या गठबन्धनको नभएर कांग्रेसको आन्तरिक भएको उनको भनाइ छ ।

उनले भने, ‘कोशीमा कांग्रेसभित्रको आन्तरिक समस्याले भएको हो । उहाँहरुले समाधान गर्नुहुन्छ । त्यसले गठबन्धनमा कुनै असर गर्र्दैन । शेखरजीले पनि कोशीको समस्या समाधान गर्न यो कदम चालेको भन्दै हामी गठबन्धनबाट विचलित छैन भनेर प्रतिक्रिया दिइसक्नुभएको छ । त्यसले खास फरक पार्छ जस्तो लाग्दैन ।’

कोशीमा जस्तै एमाले नेताहरुले दाबी गरे झैं केन्द्रमा तत्काल सरकार परिवर्तन हुने सम्भावना कम छ । कोशीमा शेखरको कदमलाई कांग्रेस इतर पक्षको साथ छैन । शेखरले एकलौटी एमालेसँग मिलेर समीकरण बनाएको भन्दै महामन्त्री गगन थापाले समेत साथ दिएका छैनन् ।

तर, एमाले अध्यक्ष केपी ओलीले संकेत दिएर नै शेखरले अहिलेको कदम चालेको बताइन्छ । केन्द्रमा सरकार गठनको लागि १३८ आवश्यक पर्छ । संसदीय अंकगणितमा फेरबदल ल्याउन नै शेखरले पछिल्लो समय शरणार्थी प्रकरणमा जेलमा रहेका बालकृष्ण खाणलाई फकाउन थालेको चर्चा छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर