दसैँको मुखमा व्यापारीले आफूखुसी बढाए भाउ, चिनी र जीराको कृत्रिम अभाव – Nepal Press

दसैँको मुखमा व्यापारीले आफूखुसी बढाए भाउ, चिनी र जीराको कृत्रिम अभाव

काठमाडौं । चाडबाडको मौका छोपेर व्यापारीले आफूखुसी खाद्यान्नको भाउ बढाएका छन् । सँगै कतिपय वस्तुको अभावसमेत हुन थालेको छ । दैनिक खाद्यान्नको मूल्य बढाएसँगै कृत्रिम अभाव सृजना गरेर कालोबजारी सुरू भएको उपभोक्ताको गुनासो छ ।

अहिले बजारमा चिनी र जीराको अभाव छ । जीराको मूल्य ३ गुणाले बढाएर प्रतिकेजी १ हजार ३ सयभन्दा माथि पुर्‍याइएको छ । सीमित थोक पसलमा पाइएपनि खुद्रामा चिनी पाइन छाडेको उपभोक्ताले बताएका छन् । तर, १५० रूपैयाँ तिर्न तयार हुँदा चिनी नपाइने टिकाथलीकी प्रमिला भट्टराई बताउँछिन् । चिनी त झन् पसलमा पाइन छाडेको छ । प्रतिकेजी १ सयमा बिक्री भइरहेको चिनीको भाउ एक्कासी १३० देखि १५० रूपैयाँ पुर्‍याइएको छ ।

नेपाल खुद्रा व्यापार संघका कोषध्यक्ष वसन्त श्रेष्ठ दसैँको मुखैमा आएर बजारमा चिनी सटेज भएको बताउँछन् ।

उनले नेपाल प्रेससँग भने, ‘राज्यले दसैँको बेला चिनी सटेज हुने कुरालाई ध्यान दिनुपर्ने थियो । तर, त्यसो गरेनन् । अहिले बजारमा जीरा पनि सटेज नै छ । भन्सारमा समस्या भएको भन्दै जीरा कसैले निकालेका छैनन् ।’

खाद्यान्नको १० प्रतिशतसम्म र जीराको भाउ मूल्य ३ गुणासम्म बढेको उनको भनाइ छ ।

दुई महिनाअघि १३० रूपैयाँ प्रतिकिलो रहेको मुसुरीको दाल अहिले १ नम्बरको १७० पुगेको छ । प्रतिकेजी ४० रूपैयाँ बढेर रहरी दाल २३० पुगेको छ ।

भारतले चामल निर्यातमा कर लगाएपछि पनि नेपाली बजारमा चामलको भाउ पनि बढिरहेको छ । संघका अनुसार बजारमा नयाँ चामल आउने बेला भएकोले बोरामा ५० देखि १ सयसम्म मूल्यवृद्धि भएको छ ।

भुटेको तोरीको तेलमा पनि प्रतिलितर ५ देखि १० रूपैयाँसम्म वृद्धि भएको छ । भुटेको तोरीको तेल प्रति लिटर ३६० रुपैयाँ, काँचो तोरीको तेल प्रति लिटर ३१० रूपैयाँसम्म रहेको छ । भने, भटमास तेल र सनफ्लावरको मूल्य प्रति लिटर २०५ रूपैयाँ छ ।

उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष ज्योती बानियाँ बजारका सरकारकै कारण चिनीको हाहाकार भएको बताउँछन् ।

उनले भने, ‘अहिले बजार नै विचौलीयाहरूले चलाइरहेका छन् । दसैँको मौका छोपेर चिनी र जीराको हाहाकार छ । राज्यको कारण नै बजारमा मूल्यवृद्धि र अभाव भएको हो ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *