लुम्बिनीका गृहमन्त्रीका वरिष्ठ राजनीतिक सल्लाहकारले दिए राजीनामा – Nepal Press

लुम्बिनीका गृहमन्त्रीका वरिष्ठ राजनीतिक सल्लाहकारले दिए राजीनामा

रुपन्देही । लुम्बिनी प्रदेश सरकारका प्रवक्ता एवं गृहमन्त्री सन्तोष कुमार पाण्डेयका वरिष्ठ राजनीतिक सल्लाहकार बैजनाथ गुप्ता (बी.एन.) ले पदबाट राजीनामा दिएका छन् ।

मन्त्री पाण्डेयको निजी सचिवालयमा रही वरिष्ठ सल्लाहकारको भूमिका निर्वाह गर्दै आएका गुप्ताले सामाजिक संजाल फेसबुकमार्फत राजीनामा दिएका हुन् । उनले लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (लोसपा) को साधारण सदस्य समेत नहुने गरी पार्टीबाट पनि राजीनामा दिएको बताए ।

‘कुनै पनि पद वा पार्टीको सदस्य नभइकन पनि जनताको सेवा गर्न सकिने र पार्टीको सदस्य भइसकेपछि पार्टीको नीति विधान बाहिर रही काम गर्न नसकिने भएको महशुस भइ स्वतन्त्र भएर जनताको सेवालाई निरन्तरता दिनका लागि राजनीमा दिएको हुँ, ’गुप्ताले राजीनामा पत्रमा उल्लेख गरेका छन् ।

उनले गठबन्धन सरकारमा पार्टी रहँदा सरकारबाट भएका गलत कार्यको विरोध गर्न अफ्ठयारो महशुस भएकाले स्वतन्त्र भइ देश र जनताको हितमा काम गर्नका लागि पदबाट राजीनामा दिएको बताए । उनले भने, ‘मन्त्री सन्तोषकुमार पाण्डेय र मबीच नङ र मासुको सम्बन्ध छ । अहिले मैले पदबाट राजीनामा दिए पनि सम्बन्ध उस्तै रहन्छ । जनताको सेवा जारी रहन्छ । ’

सिद्धार्थनगर नगरपालिका–६ निवासी गुप्ताले यसअघि मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको लुम्बिनी प्रदेश सरकारमा सन्तोषकुमार पाण्डेय भौतिक पूर्वाधार विकास मन्त्री हुँदा पनि वरिष्ठ सल्लाहकारको जिम्मेवारी निर्वाह गरेका थिए ।


प्रतिक्रिया

One thought on “लुम्बिनीका गृहमन्त्रीका वरिष्ठ राजनीतिक सल्लाहकारले दिए राजीनामा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर