१२ करोडको क्याप माथि सार्दा पनि बढेन शेयर बजार, लगानीकर्ताहरु भन्छन्- राष्ट्र बैंकले निराश बनायो – Nepal Press

१२ करोडको क्याप माथि सार्दा पनि बढेन शेयर बजार, लगानीकर्ताहरु भन्छन्- राष्ट्र बैंकले निराश बनायो

काठमाडौं । नेपाल राष्ट्र बैंकले मार्जिन प्रकृतिको शेयर धितोमा रहेको एकल ग्राहक कर्जाको १२ करोडको सीमा बढाउँदा पनि शेयर बजार बढ्न सकेन ।

राष्ट्र बैंकले निर्देशिका जारी गरेर शेयर धितो कर्जामा रहेको एकल ग्राहक कर्जाको १२ करोडको सीमा बढाएर १५ करोड पुर्‍याएको छ । संस्थागततर्फको सीमा भने २० करोड पुर्‍याइएको छ ।

लगानीकर्ताले शेयर कर्जामा १२ करोडमै क्याप लगाएकाले शेयर बजार वृद्धि हुन नसेको बताइरहेका थिए । तर, राष्ट्र बैंकले उक्त क्यापको सीमा बढाए पनि शेयर बजार बढ्नुको साटो घट्दै गएको छ ।

बजार नबढेपछि लगानीकर्ताहरुले शेयर धितो कर्जाको सीमा नै आवश्यक नरहेको बताएका छन् । शेयर बजार साताको पहिलो दिनदेखि नै ओरालो लागेको छ । मंगलबार पनि दोहोरो अंकले घटेको छ ।

देशकै अर्थतन्त्र राम्रो अवस्थामा नभएकाले लगानीकर्ताहरुमा निराशा देखिएको अर्थशास्त्री डा. डिल्लीराज खनालले बताउँछन् ।

खनाल भन्छन्, ‘नेपाली शेयर बजारका सीमितता छन् । नेपाली शेयर बजार त्यति बृहत रुपमा विकास भएको छैन । अहिले अर्थतन्त्र त्यति राम्रो अवस्था छैन । त्यसकारण मानिसहरुमा पनि उत्साह देखिँदैन ।’

लगानीकर्ताहरु निराश भएर शेयर बजार घटिरहेको उनको भनाइ छ । ‘लगानी गर्ने मोटिभेसन छैन मानिसहरुमा । अनि शेयर बजारमा पनि निराशाको अवस्था देखिएको हो’, उनले भने ।

राष्ट्र बैंकले बढाएको शेयर धितो कर्जा सीमालाई आफूहरुले अस्वीकार नगरेको तर निराश भने बनाएको लगानीकर्ता डुपेन्द्र भट्टराई बताउँछन् ।

‘शेयर धितो कर्जा सीमालाई बढाएर राष्ट्र बैंकले केही हदसम्म भए पनि फाइदा पुर्‍याएको छ । यसलाई नराम्रो अथवा नकारात्मक रुपमा लिएको भन्न मिल्दैन’, उनी भन्छन्, ‘तर, लगानीकर्ताले योभन्दा बढी नै आशा गरेका थिए । आशा गरेअनुसारको परिणाम नआएकाले अलि निराशा छाएकै हो । यसलाई पूरै नराम्रो भन्न मिल्दैन । राष्ट्र बैंकले १२ करोडको शेयर धितो कर्जा सीमालाई बढाएर १५ र २० करोड पुर्‍याउनु एकदमै सकारात्मक र राम्रो हो ।’

उनका अनुसार राष्ट्र बैंकले कर्जा सीमालाई योभन्दा फरक रुपमा लैजान सक्थ्यो । जहाँ लगानीकर्ताको आशा गरेअनुरुप भए बजारमा उत्साह छाउने भट्टराईको भनाइ छ ।

सानादेखि ठूला लगानीकर्ताको अपेक्षाअनुरुप क्यापको सीमालाई नबढाइएको शेयर लगानीकर्ता संघ नेपालका कार्यबाहक अध्यक्ष ताराप्रसाद फुलेल बताउँछन् ।

‘असार मसान्तको समाप्तिपछि बैंक तथा वित्तीय संस्थालगायत अन्य कम्पनीहरुले नाफा बाँड्ने, बोनस प्रदान गर्ने हुँदा कतै न कतै स-सानो प्रभावले असर गरेको जस्तो देखिएको हो’, उनले भने, ‘हाम्रो शेयर बजारलाई प्रत्यक्ष प्रभाव पार्ने भनेको बैंकको ब्याजदर हो । जुन अहिले बैंकहरुले आफ्नो मनमर्जीले घटबढ गरिरहेका छन् ।’

उनका अनुसार दशैं र दीपावलीका लागि केही स-साना लगानीकर्ताले शेयर बेचेर भए पनि रुपैयाँ चलाइरहेका हुन्छन् । तर, त्यसले त्यति प्रभाव पार्दैन । खासमा क्लोजिङ महिना भएकाले गर्दा पनि जताततै चटारो परेको उनको भनाइ छ ।

राष्ट्र बैंकले व्यक्तिगततर्फको क्यापलाई २० देखि २५ करोड र संस्थागततर्फको शेयर धितो कर्जा सीमा नै हटाउने आशा गरेका थिए लगानीकर्ताहरुले । तर, राष्ट्र बैंकले लगानीकर्ताको मागलाई पूरा सम्बोधन नगरेको उनीहरुको गुनासो छ ।

‘क्याप जति खुकुलो गर्‍यो, त्यत्ति बजारमा उत्साह र बजार बढ्ने सम्भावना रहन्छ । कहिलेकाहीं नियामक निकायको गलत नीतिका कारण पनि बजारलाई प्रभाव पार्ने हुन्छ’, अध्यक्ष फुलेलले भने, ‘तर, राष्ट्र बैंकलाई नै गलत भन्न मिल्दैन । यहाँ सबै कुराले प्रभाव पारेको देखिन्छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर