प्रहरी जवानबाट ७ वर्षपछि विशेष बढुवा पाएका ऐरी, करण केसी करारमै – Nepal Press

प्रहरी जवानबाट ७ वर्षपछि विशेष बढुवा पाएका ऐरी, करण केसी करारमै

काठमाडौं । प्रहरी प्रधान कार्यालयले विश्व कीर्तिमानी क्रिकेटर दीपेन्द्रसिंह ऐरीलाई सहायक हवल्दारमा बढुवा गर्ने निर्णय गरेको छ । प्रहरी महानिरिक्षक-आईजीपी बसन्त बहादुर कुँवरले पुरस्कारस्वरुप विशेष बढुवा दिएर ऐरीलाई सहायक हवल्दार बनाउने निर्णय गरेका हुन् ।

ऐरी २०७३ सालमा नेपाल प्रहरीको जवानमा भर्ना भएका थिए । त्यसयता उनी पुलिस क्बलमा रहेर घरेलु प्रतियोगिता खेल्दै आएका छन् । नेपाल प्रहरीमा जागिर सुरु गरेको ७ वर्षपछि ऐरी बढुवा भएका हुन् । नेपाल प्रहरीमा गत वर्ष मात्र सहायक हवल्दार, वरिष्ठ हवल्दार र वरिष्ठ नायब निरीक्षक-सई पद थपिएका हुन् । त्यसअघि जवानबाट हवल्दार, हवल्दारबाट असई, असईबाट सई र सईबाट इन्सपेक्टरमा बढुवा हुने गर्दथ्यो ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता कुवेर कडायतले प्रहरी नियमावली २०७१ को व्यवस्थालाई टेकेर आईजीपी कुँवरले ऐरीलाई विशेष बढुवा गरेको बताए । प्रहरी नियमावली २०७१ को नियम ३९ मा बढुवा सम्बन्धी विशेष व्यवस्था गरिएको छ ।

राष्ट्र तथा आफु सेवारत प्रहरी कार्यलयको मान, प्रतिष्ठा र गौरव बढाउन प्रशंसनीय, सृजनात्मक र लगनशील कार्य गर्नेलाई, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा विभिन्न विधामा उत्कृष्ट कार्य गरी राष्ट्र र प्रहरी संगठनको छवि उच्च राख्न विशेष योगदान पुर्याउनेलाई र प्रहरी सेवामा रहि कर्तव्य निर्वाह गर्दाको सिलसिलामा विरगति प्राप्त गर्ने वा काम गर्दा शारिरिक रुपमा अशक्त भई सेवाबाट अवकाश लिनुपर्ने अवस्थाका कर्मचारीलाई आईजीपीले राजपत्र अनङ्कित पदसम्म एक तह माथिको रिक्त पदमा बढुवा गर्न सक्ने उक्त नियममा उल्लेख छ ।

जवान, सहायक हवल्दार, हवल्दार, वरिष्ठ हवल्दार, सहायक निरीक्षक, नायब निरीक्षक र वरिष्ठ नायब निरीक्षक राजपत्र अनङ्कित पद हुन् । तर एक आर्थिक वर्षमा १० जनाभन्दा बढीलाई यसरी बढुवा गर्न नपाइने नियमावलीको व्यवस्था छ ।

ऐरी जवान भएकाले उनी त्यसभन्दा एक तहमाथिको सहायक हवल्दारमा पदोन्नति भएका हुन् । नियमित बढुवातर्फ २०७० सालसम्म जवानमा भर्ना भएकाहरु सहायक हवल्दार भइसकेका छन् ।

दीपेन्द्रले चीनमा जारी १९ औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा मंगोलियाविरुद्ध ९ बलमा अर्धशतक प्रहार गर्दै टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा कम बलमा अर्धशतक बनाउने विश्व कीर्तिमान बनाएका थिए । त्यसकै सम्मानस्वरुप उनले एक तह बढुवाको पुरस्कार पाएका हुन् ।

जारी एसियाडमा नेपाल पुलिस क्लबका ४६ जना खेलाडिले नेपालको प्रतिनिधित्व गरिरहेका छन् । पुलिस क्लबमा विभिन्न १६ खेलका २८४ जना खेलाडी रहेको क्लब हेरिरहेका डीएसपी रुकेस तन्डुकारले जानकारी दिए । तीमध्ये २३ जना खेलाडि करारमा छन् । क्रिकेटका करन केसी र गुल्सन झा पुलिसमा करारका खेलाडी हुन् । डीएसपी रुकेसले नेपाल प्रहरीमा भर्ना खुलेका बखत खेलाडीले आवेदन दिने गरेको बताए । ‘क्लबमा रहेका खेलाडीहरुको काम भनेकै खेल्ने मात्र हो ।

‘विशेष परिस्थितीमा मात्र उहाँहरु ड्युटीमा खटिनुपर्छ’, डीएसपी तन्डुकारले भने । पुलिससहित विभागीय क्लबहरुले राष्ट्रियस्तरमा राम्रो प्रदर्शन गर्ने खेलाडीहरुलाई करारमा राखेर भर्ना खुलेका बखत उनीहरुलाई भित्र्याउने गरेका छन् । स्रोतका अनुसार नेपाल प्रहरीले लामो समयपछि खेलाडीलाई विशेष बढुवा दिएर पदोन्नति गरेको हो । गत १३ औँ दक्षिण एसियाली खेलकुद–सागमा स्वर्ण जित्ने खेलाडीलाई समेत विशेष बढुवा दिइएको थिएन ।

तीनवटै विभागीय क्लबहरुले करारमा राख्दा कार्यालय सहयोगीस्तरको पारिश्रमिक दिने गरेका छन् । त्यसमा पनि कतिपय खेलाडीहरु अझै पनि मासिक दश पन्ध्र हजार तलबमै विभागीय क्लबहरुले करारमा आबद्ध गरिरहेको बताइन्छ । लामो समय प्रहरीमा करारमा खेलेका फुटबलर भरत खवास पछि नेपाल आर्मीमा सेकेन्ड लेफ्टिनेन्टमा भर्ना भएर त्रिभुवन आर्मी क्लबबाट हाल खेलिरहेका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *