आन्तरिक लोकतन्त्रमाथि अनुदारवादी हमला र पार्टी कब्जाको नियतसँग जोडिएको एमालेको भविष्य – Nepal Press

आन्तरिक लोकतन्त्रमाथि अनुदारवादी हमला र पार्टी कब्जाको नियतसँग जोडिएको एमालेको भविष्य

कार्ल मार्क्सले कम्युनिष्ट पार्टी निर्माण सन्दर्भमा भन्नुभएको छ- ‘प्रत्येकबाट उसको क्षमताअनुसार, प्रत्येकबाट उसको जिम्मेवारीअनुसार’ । विश्व सर्वहारा वर्गका आदर्श तथा संसारभरका कम्युनिष्टहरुका साझा मार्गदर्शक कार्ल मार्क्सको यो प्रसंगको अर्थ छ ।

संगठन निर्माण र जिम्मेवारीको सवालमा कम्युनिष्ट पार्टीले बनाउने विधि हेर्दा चीनले यसको उच्चतम प्रयोग गरेको देखिन्छ र त्यहाँको नेतृत्व समयानुकूल अब्बल छानिएकोसमेत देखिएको छ । नेपालको सवालमा भने मदन भण्डारीले जनताको बहुदलीय जनवादमार्फत कम्युनिष्ट पार्टीसमेत लोकतान्त्रिक प्रणालीमा जाने कुरामा जोड दिँदै अगाडि बढाउनुभयो र प्रतिस्पर्धामार्फत श्रेष्ठता नै अबको कम्युनिष्टको कार्यदिशा भनेर स्थापित गर्नुभयो ।

नेकपा एमालेको सातौं महाधिवेशनमा आन्तरिक लोकतान्त्रीकरणको कुरा केपी शर्मा ओलीले उठान गर्नुभयो र आठौं महाधिवेशनबाट त्यसलाई व्यवहारतः सुरु नै गरियो । वस्तवमा एमालेमा पार्टी जीवनको आन्तरिक लोकतान्त्रीकरणका अगुवा केपी शर्मा ओली नै हुनुहुन्छ । भलै अहिले उहाँको नेतृत्वलाई सिरानीमा राखेर केही व्यक्तिले ओलीले प्रतिपादन गरेको आन्तरिक लोकतन्त्रको वस्त्रहरण गरेका छन् ।

नेकपा एमालेको संगठन, यसको कार्यकर्ताको परिचालन हेर्दा पार्टी नेताको आकर्षणले भन्दा पनि पार्टीको तल तलसम्म रहेको संगठन नै मुख्य हो । एमाले एउटा पार्टीमात्र नभएर नेपाली समाजको ‘कल्चर’ भइसकेको छ । यो एक सामुदायिक संरचना पनि हो ।

हरेक सामाजिक संस्थाहरु, उपभोक्ता समितिहरु, व्यवस्थापन समितिहरु विभिन्न सामाजिक अभियानमा समेत एमालेको नेतृत्व रहेको र प्रतिस्पर्धामा अब्बलसमेत रहेको देखिन्छ । वस्तवमा जल, जमिन, जंगल, जडिबुटीदेखि विद्यालय र खानेपानीसम्म एमाले कल्चरबाट आएका व्यक्तिहरुले नेतृत्व गरेका छन् ।

निम्न मध्यम वर्ग र मध्यम वर्गले अपनत्व गर्ने पार्टीको रुपमा स्थापित भएको एमाले अटुट निर्वाचनमार्फत प्रतिस्पर्धामा श्रेष्ठताको लाइनमै अडिग रहेको छ । तर, पार्टी एमालेबाट नेकपामा परिणत हुँदा र त्यसपछि एमालेमै रुपान्तरण हुँदाको बखतबाट यसबीचमा विकास भैसकेको आन्तरिक लोकतन्त्रमा केही भिन्नता देखिन पुगेको छ ।

दशौं महाधिवेशन र त्यसपछिका घटनाले त्यसको पुष्टि हुँदैछ । एमालेले बहुदलीय व्यवस्थाको सुरुवातपछि करिब ५ वर्षमात्रै देशको नेतृत्व गर्ने अवसर पाएकोमा मनमोहन अधिकारीको नेतृत्व र केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको काम अत्यन्तै महत्वपूर्ण र दीर्घकालीन असर पर्ने र देशको हितमा रहेको देखिन्छ । जसको श्रेय जति र जसरी लिनुपर्ने हो, त्यति लिन सकिएको छैन ।

दशौं महाधिवेशन र त्यसपछिका घटनाले त्यसको पुष्टि हुँदैछ । एमालेले बहुदलीय व्यवस्थाको सुरुवातपछि करिब ५ वर्षमात्रै देशको नेतृत्व गर्ने अवसर पाएकोमा मनमोहन अधिकारीको नेतृत्व र केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको काम अत्यन्तै महत्वपूर्ण र दीर्घकालीन असर पर्ने र देशको हितमा रहेको देखिन्छ । जसको श्रेय जति र जसरी लिनुपर्ने हो, त्यति लिन सकिएको छैन ।

अन्य दलको निकम्मापन र पार्टीभित्र झांगिँदै गएको नव-सामन्ती प्रवृत्तिले गर्दा एमालेलाई समेत लखेट्दै गैरहेको छ र एमालेसँग नजिक रहेको निम्न मध्यम वर्गीय र मध्यम वर्गीय जमात पनि टाढा हुने दिशामा अग्रसर छ । पार्टीभित्रका ‘गणेश प्रवृत्ति’हरु र नेतृत्वमा विकसित नव-सामन्ती चिन्तनले पार्टी बिग्रँदैछ ।

यसको पछिल्लो तस्वीर प्रदेश अधिवेशनहरुमा प्रत्यक्ष, अप्रत्यक्ष र अझ भन्ने हो भने बन्दसत्रदेखि बन्द कोठाहरुमा भएका छलफलमा देखिएका छन् । एमालेमा केपी शर्मा ओलीको विकल्प कसैले खोजेको छैन र त्यो सम्भावना तत्काल दूर क्षितिजमा समेत पनि देखिएको छैन ।

तर, आज पार्टीभित्रको व्यवहारिक रुपमा अनुदार, राजनीतिक रुपमा कपटी र जनताबाट अनुमोदन नभएको वा हुन नसकेको तप्काले केपी ओलीको नाम भजाएर पार्टी सत्तालाई नोकरशाहीकरण गर्दैछ । जनता र कार्यकर्ताबाट अनुमोदन हुन नसक्ने त्यो पंक्ति ओलीको सर्वसम्मत नेतृत्वलाई विवादमा पारेर भने पनि पार्टीलाई सानो कोटरीमा सीमित गर्न उद्यत छ ।

जनताका बीचमा गएर प्रतिस्पर्धामा श्रेष्ठता हासिल गर्न नसक्ने केही जुका प्रवृत्तिका व्यक्तिहरु पार्टी कब्जाको रणनीतिमा रहेका छन् । त्यो प्रवृत्तिको शिकार म स्वयं यो लेखक पनि भएको छु । पार्टीको भ्रातृ संगठन नेपाल खेलकुद महासंघको महाधिवेशनमा निर्वाचनमा उम्मेदवारी दिन लगाइ पछि मेरो उम्मेदवारी नै गायब पारियो ।

खेलकुद महासंघलगायत अधिकांश जनवर्गीय संगठनमा जुन व्यक्ति र प्रवृत्तिले पार्टीको आन्तरिक लोकतन्त्र अपहरण ग¥यो, त्यही प्रवृति र व्यक्तिका संरक्षकहरुले बागमती प्रदेश अधिवेशनमा पार्टीसत्ताको चरम दुरुपयोग र धाँधली गरेको देख्ने साक्षी पनि म बनेको छु । मलाई लाग्छ, अन्य प्रदेशमा पनि यही नै भयो र भइरहेको छ ।

पार्टीभित्रको व्यवहारिक रुपमा अनुदार, राजनीतिक रुपमा कपटी र जनताबाट अनुमोदन नभएको वा हुन नसकेको तप्काले केपी ओलीको नाम भजाएर पार्टी सत्तालाई नोकरशाहीकरण गर्दैछ । जनता र कार्यकर्ताबाट अनुमोदन हुन नसक्ने त्यो पंक्ति ओलीको सर्वसम्मत नेतृत्वलाई विवादमा पारेर भने पनि पार्टीलाई सानो कोटरीमा सीमित गर्न उद्यत छ ।

पछिल्लो समय प्रदेशहरुको अधिवेशन त्यसमा पनि बागमतीको अधिवेशनमा जुन आन्तरिक लोकतन्त्रको मर्ममा नै प्रहार हुनेगरी पार्टी केन्द्रीय कार्यालय कब्जा गरेको नेतृत्व नै एउटा नेता जिताउन र अर्कोलाई हराउन नांगो रुपमा उत्रियो ।

स्वच्छ प्रतिस्पर्धाभन्दा पनि जनता र कार्यकर्ताको मन जित्न नसक्नेहरुको तिकडमले अब एमालेको आन्तरिक लोकतन्त्रको अभ्यासलाई विकृत बनायो । जनमत निर्माणमा दिनुपर्ने ध्यानलाइ पार्टी कब्जामा केन्द्रित गर्दा र कार्यकर्तालाई गुण र दोषको आधारमा व्यवहार गर्नुपर्नेमा पक्षधरताको आधारमा गर्दा अहिले देखिएको अन्तरघात नेतृत्वबाट नै सुरु भएको मानिनेछ ।

पार्टीका जनसंगठनहरु र विभिन्न कमिटीहरुमा गएर ‘यो पार्टीको आदेश हो, अध्यक्ष कमरेडको निर्देशन हो’ भन्दै आन्तरिक लोकतन्त्रको उपहास गर्ने अनुदारवादी गुटले एमाले कब्जा गर्न खोजिरहेको छ । सबैलाई थाहा छ, यो अध्यक्ष ओलीको लाइन होइन । तर, पार्टीका बहुसंख्यक पदाधिकारीसमेत किन मौन छन् ? मुख्य प्रश्न यो हो ।

एमालेको सिद्धान्त मुर्दा शान्ति होइन । अन्याय सहने मौनताले विद्रोहलाई जन्माउँछ र त्यो विद्रोह अराजकतामा जानसक्छ । त्यसैले अध्यक्ष ओली र पार्टीको नाममा मनपरी गर्नेहरुको हर्कतले सीमा नाघ्न नपाउँदै त्यसलाई विधि पद्धतिअनुसार संस्थागत रुपमा समाधान गरियोस् । राजनेतालाई पार्टीको साँघुरो घेराभित्रको विवादमा तान्ने हर्कत बन्द गरियोस् ।

त्यो प्रवृत्तिको शिकार भएर आज पार्टी कमिटीविहीन भएको एउटा कार्यकर्ताको हिसाबमा अझै पनि म भन्छु, नेपालको विकास, समृद्धि र सामाजिक न्यायको निम्ति एमालेको विकल्प अर्को पार्टी बन्नै सक्दैन । यही एमालेलाई उन्नत लोकतान्त्रिक र बलियो जनआधारित पार्टी बनाउनुको विकल्प छैन ।

त्यसैले आन्तरिक लोकतन्त्र बलियो बनाऔं, नेतृत्वले सबैलाई समान व्यवहार गरौं । तिकडम गरेर पार्टी कब्जामा हैन, जनमत बनाउन ध्यान दिउँ । जनताको बीचमा प्रतिस्पर्धाद्वारा श्रेष्ठता हासिल गर्न नसक्नेहरुको चंगुलबाट पार्टीलाई मुक्त गरौं । नेतृत्वको चाकडी र चाप्लुसीभन्दा आलोचना र समर्थन गरौं । एमालेको जस्तो संगठन र सशक्त कार्यकर्ता भएको बलियो पार्टीबाट पश्चिम बङ्गालको जस्तो नेतासँगै सकिने पार्टी हुनबाट रोकौं ।

(एमालेको बागमती प्रदेश अधिवेशनमा कृष्ण दाहाल पक्षमा खटिएका नेपाल बेसबल सफ्टबल संघका अध्यक्ष न्यौपाने एमाले निकट खेलकुद महासंघका पूर्वसचिव हुन् ।)


प्रतिक्रिया

2 thoughts on “आन्तरिक लोकतन्त्रमाथि अनुदारवादी हमला र पार्टी कब्जाको नियतसँग जोडिएको एमालेको भविष्य

  1. निर्वाचनलाई स्विकार गर्ने अनि हारे पछि अन्टसन्ट कुरा गर्न मिल्छ ? कार्यकर्ताको मतको कदर गर्दै थप मत हासिल गर्न लाग्ने कि यस्ता वाहियात लेख छाप्ने ? कार्यकर्तामा जाने, मन जित्ने अनि चुनाव जित्ने ।

  2. यस्ता पात्र र प्रवृत्तिका कारणले गर्दा पार्टीले क्षति व्यहोर्नु परेको हो। मिडियामा अन्सन्ट कुरा पस्केर कसको सेवा गर्दैछन्?

Leave a Reply

Your email address will not be published. Required fields are marked *