अध्यक्ष बन्न मात्रै नभई योजनासहित काम गर्न वाचा लिएर आएको छु : अध्यक्षका प्रत्याशी आरके शर्मा – Nepal Press

अध्यक्ष बन्न मात्रै नभई योजनासहित काम गर्न वाचा लिएर आएको छु : अध्यक्षका प्रत्याशी आरके शर्मा

कतार । गैर आवासीय नेपाली संघ (एनआरएनए) को आगामी कार्यकाल (२०२३–०२५) कोलागि कतार निवासी राजेन्द्रकुमार (आर.के.) शर्माले अध्यक्ष पदमा उम्मेदवारी दिने औपचारिक घोषणा गरेका छन् ।

कतारको राजधानी दोहास्थित र्‍याडिसन ब्लु होटलमा बुधवार उम्मेदवार घोषणा सभा कार्यक्रम गरी अध्यक्षका प्रत्याशी शर्माले आफ्ना २४ बुँदे बाचा पत्र सार्वजनिक गरे ।

‘गैर आवासीय नेपालीको अभियान: स्वदेशमा लगानी, प्रवासमा सम्मान’ भन्ने मूल नारा समेटेर शर्माले २४ महिने कार्यकालका लागि २४ कार्ययोजनाहरु समेटेर बाचा पत्र सार्वजनिक गरे ।

संघका वर्तमान उपाध्यक्षसमेत रहेका शर्माले विश्वका सबै क्षेत्रमा बस्ने गैर आवासीय नेपालीहरूको सल्लाह र सुझावको आधारमा आफ्ना योजना तथा कार्यक्रमहरू ल्याएको बताए ।

सिङ्गो गैर आवासीय नेपाली अभियानलाई एक ढिक्का बनाएर अघि लैजाने र आफ्नो कार्यकालमा ‘फुटेको होइन, जुटेको एनआरएन’बन्ने उनले दाबी गरे।

उनले भने, ‘मैले आइसिसीको उपाध्यक्ष भई कार्य गरिसकेकाले स्वभावतः अध्यक्ष भई जिम्मेवारी निर्वाह गर्नकालागि अनुभव कमाइसकेको छु । त्यही अनुभवलाई उपयोग गर्दै थप जिम्मेवारी उठाउने अठोट गरेको छु । तपाई हाम्रो सपनालाई साकार पार्ने पवित्र उद्देश्य राखेर गैर आवासीय नेपाली अभियानको नेतृत्व लिने संकल्प गरेको हुँ ।

शर्माले विदेशमा बस्ने नेपाली श्रमिकहरूलाई सामूहिक लगानी कोषमा आबद्ध गराउने र श्रम बेचेर स्वदेश फर्किने नेपाली श्रमिकहरूको भविष्य सुरक्षित गराउन विशेष भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरे ।

अब गैर आवासीय नेपाली अभियानलाई मानवीय सहयोगमा मात्र सीमित नराखी नेपालको आर्थिक क्रान्तिका लागि एकजुट भएर लाग्नुपर्ने बेला भइसकेको उनले जिकिर गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *