उच्च पदस्थ व्यक्तिहरुले विदेश भ्रमण गर्दा साधारण खर्च बढ्यो : योगेश भट्टराई (भिडिओ) – Nepal Press

उच्च पदस्थ व्यक्तिहरुले विदेश भ्रमण गर्दा साधारण खर्च बढ्यो : योगेश भट्टराई (भिडिओ)

काठमाडौं । नेकपा(एमाले)का सांसद योगेशकुमार भट्टराईले सरकारका उच्च पदस्थ व्यक्तिहरु अनावश्यक ठाउँमा पनि विदेश भ्रमणमा जानाले साधारण खर्च बढिरहेको बताएका छन् ।

बुधबार सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै सांसद भट्टराईले पछिल्लो ६ महिनामा हरेक दिन कोही न कोही सरकारका मन्त्रीहरु विदेश भ्रमणमा रहेका बताए । उनले कोभिड १९ अगाडीको समयमा भन्दा बढी अहिले सरकारका प्रधानमन्त्री, मन्त्री तथा कर्मचारीहरुको भ्रमण भइरहेको बताए ।

शाखा अधिकृत जाँदा पनि हुने कार्यक्रममा समेत मन्त्री विदेश जाने भन्दै उहाँले यसले साधारण खर्च बढिरहेको बताए । यसरी भ्रमण गर्नु फजुल खर्च गर्नु मात्रै भएको उनले बताए । सांसद भट्टराईले पछिल्लो ६ महिना, वर्ष दिनमा भ्रमण गएकाहरुको विवरण र औचित्यको सम्बन्धमा समितिमा छलफल गर्नुपर्ने माग गरे ।

‘सन् २०१७/१८ को भन्दा बढी विदेश भ्रमणहरु भइराखेको छ यो ५/६ महिनामा । जम्बो, जम्बो टोलीहरु चाहे त्यो प्रधानमन्त्रीको टोली होस् अथवा मन्त्रीहरुको टोली होस् । हरेक दिन कुनै न कुनै मन्त्री विदेशमा छ । हरेक दिन कुनै न कुनै सचिव विदेशमा छ । हरेक दिन कार्यालयको कुनै न कुनै मान्छे विदेशमा छ’, उनले भने, ‘यहाँसम्म छ कि शाखा अधिकृत अथवा उपसचिव, सहसचिवले सहभागिता जनाउन मिल्ने कतिपय कार्यक्रमहरुमा स्वयं मन्त्रीहरु उपस्थित हुने, सचिवहरु जाने ३ दिनको कार्याक्रमलाई ७/१० दिनको भ्रमण अवधि बनाउने अनि विदेशमा गएर आफ्नो आफन्त भेट्ने । साइडलाइन काम गर्ने । यसले गर्दा हाम्रो अत्याधिक रुपमा साधारण खर्च बढिराखेको छ । र फजुल कुरा हो । यसमा यसपटक परराष्ट्र मन्त्रालय र अर्थ मन्त्रालयलाई बोलाएर पछिल्लो ५/६ महिनाको विदेश भ्रमणको स्थिति के छ ? औचित्य के थियो ? हेर्नुपर्छ ।’

सांसद भट्टराईले राष्ट्रिय गौरवका आयोजनाहरुले समयमै कार्य सम्पादन गर्न नसकेका भन्दै यसतर्फ समितिले गम्भीर रुपमा चासो लिनुपर्ने बताए । उनले आजका दिनसम्म सुन तस्करी छानबिन सम्बन्धी आयोगले गर्ने कार्यादेशमा समेत सहमति जुट्न नसकेको भन्दै सरकार छानबिन गर्नबाट पछि हट्दै गएको बताए । उनले आन्दोलनरत राहत शिक्षकहरुको माग सम्बोधन गरेर उनीहरुलाई तुरुन्त कक्षाकोठासम्म पुर्याउनुपर्ने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर