तीजको फेरिएको पदचाप – Nepal Press

तीजको फेरिएको पदचाप

प्रत्येक वर्ष जस्तै यसपालि पनि चाडपर्वहरु करेसाबारीमा आइपुगे । रमाइलो तीज पर्व त घरभित्र नै पसिसक्यो । हिन्दू महिलामात्र होइन आजभोलि सबै समुदायका महिलाहरुले तीज मनाउन थालेका छन् । समाजको अन्तरघुलन र एकताका लागि यो अत्यन्त राम्रो पक्ष हो । प्राचीनकालमा हिन्दू महिलाले मनाउने तीज समाजको आधुनिकीकरणसँगै आममहिलाको चाडको आकारमा विकास हुँदैछ । वैवाहिक जीवनमा प्रवेश गरेपछि जन्मघरबाट कर्म घरमा जोडिएकी महिलालाई माइतीको परिवारसँग जोड्नु तीजको महत्वपूर्ण विशेषता हो ।

भाद्र शुक्ल द्वितीयादेखि पञ्चमीसम्म चार दिन मनाइने यो चाडमा भगवान शिवको आराधना गरिन्छ । तृतीयाको दिन महिलाहरु रातो पहिरनमा सजिएर वर्ष दिनसम्म आफूले भोगेका भोगाइहरु गीतमार्फत अभिव्यक्त गर्ने परम्परा थियो । समाजको आधुनिकीकरणसँगै तीज मनाउने र तीजमा गाइने गीतका प्रकृति फेरिएका छन् । हिजो विवाहित चेलीहरु माइती जान नपाएको, वर्षदिनसम्म खेतीपातीको काममा व्यस्त हुँदा माइती भेट्न नपाएको जस्ता गुनासाहरु तीज गीतमा हुन्थे । जन्मघर छोडेर पराइघर जाने अबोध बालिकाले परिवारको बुहार्तन र कतिपय अवस्थामा पतिले गर्ने दुर्व्यवहार मनमा गाँठो पारेर बस्नुपर्ने अवस्था थियो । त्यसैले प्राचीन समाजमा तीजले पारिवारिक बुहार्तन र दुर्व्यवहारलाई गीतमार्फत अभिव्यक्त गर्ने अवसर प्रदान गर्दै आएको थियो । वैयक्तिक जीवनमा भोगेको पीडा पोख्ने चौतारी झैं थियो त्यसवेलाको तीज पर्व । खुलेर बोल्न कि रत्यौली कि त तीज नै पर्खनुपर्ने अवस्था थियो । आआफ्नो क्षेत्रअनुसारका लोकलयमा गीतहरु गुञ्जिन्थे । पूर्वतिर संगिनी गीतमार्फत वेदनाको पोको यसरी फुकाउने गरिन्थ्योः

बाबा र ज्युको नि धुरी है भरी ।२।
परेवा घुरुरु मेरा बाबा, परेवा घुरुरु
नौ डाँडा काटी निदिइहाल्यौ बाबा ।२।
मन रुन्छ धुरुरु मेरा बाबा, मन रुन्छ धुरुरु
तीजै र आयो नि चाडै आयो ।२।
माइतीघर जानलाई मेरा बाबा, माइती घर जानलाई
नआए बाबा नि न आए दाजु ।२।
मै चेली लिनलाई मेरा बाबा, मै चेली लिनलाई ।

साँच्चै गीत संगीतको एकपल पनि कति मीठो र आनन्द दायी हुन्छ ।

आमा, काकी, भाउजूहरु निराहार ब्रत बस्नुभए पनि म भने पूजापश्चात साथीहरुसँग इनारको पानी पिउन जान्थें । थकाइको भन्दा साथीहरुसँगको पल अत्यन्तै मीठो अनि पूर्ण लाग्थ्यो । पञ्चमीको दिन हडिया खोला दोभानमा गाईको गोबर मिसाइएको माटो दल्दै नुहाएको अनि ३६५ पटक दतिवनको डाँक्लाले दाँत माझेको मेट्न खोजे पनि नमेटिने गरी मनमा गडेर बसेको छ ।

तीजको ब्रत किन र केका लागि बसिन्छ भन्ने नबुझ्दै आमा, दिदी, भाउजूसँग पूजा गर्न हिँडेको त्यो बालपनको याद अझै ताजा छ । द्वितीयामा दर खाएर तृतीयाको दिन ब्रत बसी आमाहरुसंँग करिब पाँच किलोमिटर हिँडेपछि भद्रपुर बजार आइपुग्थ्यो । अनि शिव मन्दिरभित्र भगवानको दर्शन गरेर पूजा गरिन्थ्यो । आमा, काकी, भाउजूहरु निराहार ब्रत बस्नुभए पनि म भने पूजापश्चात साथीहरुसँग इनारको पानी पिउन जान्थें । थकाइको भन्दा साथीहरुसँगको पल अत्यन्तै मीठो अनि पूर्ण लाग्थ्यो । पञ्चमीको दिन हडिया खोला दोभानमा गाईको गोबर मिसाइएको माटो दल्दै नुहाएको अनि ३६५ पटक दतिवनको डाँक्लाले दाँत माझेको मेट्न खोजे पनि नमेटिने गरी मनमा गडेर बसेको छ ।

अझै रोचक त पञ्चमीको पूजामा घुम्दाखेरीको पल लाग्थ्यो । पाप छिर्न सक्छ भनेर दुवै गोडाको पाइला अलिकति पनि खाली नगरी घिसारेको, खाली ठाउँ रहेमा त्यहीबाट पाप छिर्छ भनेर बडो होसियारीपूर्वक गरिने यो पूजा अनि मीठो र चासो दिएर सुन्ने पञ्चमीको कथा त्यो बालपनमा निकै रमाइलो लाग्थ्यो । अरुन्धतीसहित कास्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नी तथा वशिष्ठ ऋषिको पूजा गरी व्रत समापन गरिन्थो । हलोले नजोतेको अन्नको भात र एक सुइरो भएर उम्रने कर्कलोको तरकारीे त झन् सम्झँदा पनि मुखै रसाउँछ । रजस्वला भएको बेला पञ्चमीको व्रत बस्दा अझै बढी पाप काटिने र पुण्य प्राप्त हुने भन्ने कुराले चाहिँ खै किन हो मन चिमोट्थ्यो । तर पनि म मौन हुन्थें । पूजा सकिएपछि आमाहरुसँगै गाउने र नाच्ने संगिनी नृत्य असाध्यै मन पर्थ्यो । समूहमा घण्टौं गाइन्थ्यो, नाचिन्थ्यो । अर्गानिक गायन, नृत्य अनि खाना आजको शहरिया जीवनमा त सपना जस्तो लाग्छ ।

हुन त अहिलेको समाज र महिलाको बदलिएको कार्यसँगै तीज पर्व र गीतमा पनि परिवर्तन हुँदै आएको भने अवश्य छ । हिजो ढिकीजाँतो, चुलोचौको र मझेरीमा सीमित महिला आजभोलि विभिन्न संघसंस्थाहरुका माथिल्लो पद र नीतिनिर्माणका विभिन्न तहमा पुगेका छन् । विश्वका धेरै मुलुकहरुमा कर्मथलो बनाएर बसोबास गरेका छन् । अहिले जो जहाँ छन्, त्यही बसेर तीज मनाउनुपर्ने बाध्यता छ । महिलाका पक्षमा विभिन्न ऐन, कानूनहरु निर्माण भएका छन् । महिला हक, अधिकारका विषयसँग सम्बन्धित भएर खुलेका सरकारी तथा गैरसरकारी संघसंस्थाहरु आवाज बुलन्द गर्ने माध्यम बनेका छन् । अबका महिलाहरु एकसरो लाउन र खान सक्षम भएका छन्, आफ्नो कर्तव्य बुझेका छन् । त्यसैले हिजोआजका तीज गीतहरु पनि विलौनाभन्दा हाँसीखुशीमा केन्द्रित छन् ।

रजस्वला भएको बेला पञ्चमीको व्रत बस्दा अझै बढी पाप काटिने र पुण्य प्राप्त हुने भन्ने कुराले चाहिँ खै किन हो मन चिमोट्थ्यो । तर पनि म मौन हुन्थें । पूजा सकिएपछि आमाहरुसँगै गाउने र नाच्ने संगिनी नृत्य असाध्यै मन पर्थ्यो । समूहमा घण्टौं गाइन्थ्यो, नाचिन्थ्यो । अर्गानिक गायन, नृत्य अनि खाना आजको शहरिया जीवनमा त सपना जस्तो लाग्छ ।

पुरुषहरु पनि तीजका कार्यक्रममा सहभागिता जनाउन थालेका छन् । आजभोलिको तीज दुःख बिसाउने चौतारी मात्र नभएर खुुशी साट्ने चौतारी पनि बन्न पुगेको छ । अहिले तीज पर्व माइतीघर जान नसकेका सबै महिला दिदीबहिनीहरुलाई समेटिने गरी उचित स्थानमा जमघट भई दुःखसुखका भावनाहरु व्यक्त गर्ने माध्यम बन्न थालेको छ । साथीभाइ रमाइलो गर्दै पीडा र वेदनाभन्दा संघर्षका कुरा अनि महिला अधिकार, माया, प्रेम सद्भावका रमाइला पक्षहरु समेटिएका छन् । जसले महिलालाई अझ चेतनशील, ऊर्जाशील र सशक्तबनाउन सहयोग पुगेको छ । विविध कारणले माइत जान नसक्ने महिलाहरुका लागि तथा संस्कृतिलाई जीवन्त राख्न यस्ता कार्यहरुले ठूलो भूमिका खेलेका हुन्छन् ।

तर, चाडपर्वका बहानामा हामीले नराम्रा पक्ष भित्रन दिनुहुन्न । तीजका नाममा ऋणको भार व्यहोर्न नपरोस् । तीजको नाममा दिदीबहिनीहरुको असुहाउँदो, अश्लील, उत्ताउलो व्यवहारले ठाउँ नपाओस् । गाउँघर समाज र परिवारबीच सुमधुर सम्बन्ध बनाउने गीत हामीबाट टाढा नजाऊन् । हुदाँखाने र हुनेखानेबीच विभेद नल्याओस्, सबैलाई समेट्न सकोस् । कार्यशैली परिवर्तनले निम्त्याएका विभिन्न रोगका कारण तीजमा निराहार व्रतको सट्टा पानी, फलफूल ग्रहण गरी हाँसीखुशी मनोरञ्जन गर्दै व्रत बसौं । दरमा प्रयोग गरिने खाद्यवस्तु र पहिरनको स्वस्थ प्रतिस्पर्धा होस्, स्वदेशी उत्पादनलाई प्रश्रय दिन सकौं ।

आजको समाजका महिला जीवनका हरेक क्षणलाई उदाउँदो बिहानी जस्तो सुनौलो बनाउन प्रयत्नशील छन् । हरेक दिनको झुल्किँदो घामसँगै उनीहरु घर र कार्यालय दुवै धान्न तम्तयार देखिन्छन् । उनीहरुका ती पाइला आधा धर्ती ओगट्ने महिला भएरमात्र होइन, समाजको दायित्व र जिम्मेवारी काँधमा बोकेर अघि बढ्नेतर्फ अग्रसर छन् । आजको समयमा महिलाको परिवर्तित जिम्मेवारी अनुकूल बनाउँदै तीज मनाउनु पर्छ । तीजको संस्कृतिमा आएका परिवर्तनहरुलाई समयानुकूल गरेर नै हामी यसलाई उमंगमय बनाउन सक्छौं । आउनुस्, तीजलाई सार्थक सांस्कृतिक अभ्यासका रुपमा अगाडि बढाऔं । सबै आमा, दिदीबहिनीहरुलाई तीजको शुभकामना ! अन्त्यमा माइत रमाइलो मलाई, माइत रमाइलो !

गीतकार देवी पराजुलीकाे तीज गित :


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *