कांग्रेस रूपान्तरण अभियानको आचारसंहिता- जनताको घरमा बस्ने, मदिरा सेवन नगर्ने – Nepal Press

कांग्रेस रूपान्तरण अभियानको आचारसंहिता- जनताको घरमा बस्ने, मदिरा सेवन नगर्ने

काठमाडौं । नेपाली कांग्रेस रूपान्तरण अभियानले दोस्रो चरणको कार्यक्रम सुरु गरेको छ । बीपी कोइरालाको जन्म जयन्तीको अवसरमा ७७ जिल्लाका १६५ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा पुग्ने गरी काभ्रेको धुलिखेलबाट अभियानको सुरु गरिएको हो ।

अभियानले मंसिरमा हुन गइरहेको महासमिति बैठकलाई नीतिगत र सांगठनिक हिसाबले रूपान्तरणका मुद्दाका पक्षमा परिणामदायी बनाउने लक्ष्य बोकेको केन्द्रीय सदस्य मधु आचार्यले बताए ।

देशव्यापी अभियान गर्न संलग्न अभियन्ताहरूले आफ्नो ८ बुँदे आचारसंहिताको घोषणा गरेका छन् ।

अभियानका क्रममा विभिन्न जिल्लाको भ्रमणमा जाँदा महँगो होटेलमा नबस्ने, पार्टी सदस्यहरूको घरपरिवारमा बस्ने, तडकभडक खर्चिलो यात्रा नगर्ने, माला–खादाको प्रयोग नगर्ने, मदिरा सेवन नगर्ने, तोकिएको समयमै कार्यक्रम आरम्भ गर्ने, विषय केन्द्रित मन्तव्य मात्र राख्ने तथा सम्बोधन संक्षिप्त गर्नेलगायतका आचारसंहितामा तोकेको नेता आचार्यले बताए ।

अभियानमा केन्द्रीय सदस्य मधु आचार्य, डा. गोविन्दराज पोखरेल, पूर्वकेन्द्रीय सदस्य गुरुराज घिमिरे, भरत बहादुर खड्का, जगदीश्वर नरसिंह केसी, रंजित कर्ण, रिता साही, नरेन्द्र कुमार केरुंग, डा. सीता घिमिरे, विजुला वर्मा, अच्युत पौडेल, महेश खरेल लगायतले नेताहरूले सञ्चालन गरिरहेका छन् । पार्टी सही र शीघ्र रूपान्तरणले मात्र कांग्रेसलाई जनताको कांग्रेस बनाउने उनीहरूको लक्ष्य छ ।

यसअघि पनि रुपान्तरण अभियानले सातै प्रदेशमा आफ्नो कार्यक्रम गरेर पार्टी केन्द्रीय समिति बैठकअघि सभापति शेरबहादुर देउवासहित सबै पदाधिकारीले सुझाव प्रतिवेदन दिएको थियो ।

अहिले पनि पार्टीले पूर्वघोषित अभियान स्थगित गरेको अवस्थामा रूपान्तरण अभियान पार्टी रूपान्तरणको एजेन्डा लिएर देशदौडाहामा लागेको हो। यो अभियान दुई महिनासम्म चल्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर