आजदेखि बिपी साहित्य महोत्सव – Nepal Press

आजदेखि बिपी साहित्य महोत्सव

काठमाडौंं । नेपाली कांग्रेसले पार्टीका संस्थापक नेता तथा प्रथम जन निर्वाचित प्रधानमन्त्री जननायक विश्वेश्वरप्रसाद कोइरालाको ११०औँ जन्म जयन्तीको अवसरमा आइतबारदेखि तीन दिनसम्म बिपी साहित्य महोत्सव, २०८० आयोजना गर्दै छ ।

बिहान ११ बजे कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाबाट महोत्सवको उद्घाटन गर्ने कांग्रेस पार्टी कार्यालयले जनाएको छ ।

बिपी कोइरालाको जन्म जयन्तीका अवसरमा कांग्रेस केन्द्रीय कार्यसमितिको आयोजना एवं नेपाली लेखक सङ्घको संयोजन एवं नेपाल सांस्कृतिक महासङ्घ, निरन्तर शनिवार र फाइनआर्टको सहयोगमा भदौ २६ गते सम्म पार्टी केन्द्रीय कार्यालय सानेपामा ‘बिपी साहित्य महोत्सव’ हुन लागेको हो ।

कांग्रेस केन्द्रीय कार्यसमितिको गत साउन २ देखि १० गतेसम्म भएको बैठकले बिपी जन्म जयन्तीका अवसरमा बिपी साहित्य महोत्सव आयोजना गर्ने निर्णय गरेको थियो । कांग्रेसले जननायक बिपी कोइरालाको जन्मदिन भदौ २४ गतेलाई हरेक वर्ष बिपी जन्म जयन्तीका रूपमा मनाउँदै आएको छ ।

तीन दिनसम्म चल्ने महोत्सवमा कविता साँझ, गजल साँझ, साङ्गीतिक साँझ, चित्रकला प्रदर्शनी, वृत्तचित्र प्रदर्शनी, ऐतिहासिक फोटो प्रदर्शनीलगायत कार्यक्रम हुने कांग्रेसका सूचना, सञ्चार तथा प्रचार विभागका प्रमुख मीनबहादुर विश्वकर्माले जानकारी दिए ।

पहिलो दिन बिहान ‘हाइज्याकिङ फर डेमोक्र्यासी’ वृत्तचित्र प्रदर्शन गरी सुरु हुनेछ । त्यसपछि बिपीको साहित्य सिर्जना र जीवन दर्शन विषयमा अभि सुवेदीले सम्भाषण दिनेछन् । त्यसपछि बिपीका दृष्टिमा बिपी, बिपीका आख्यानमा मनोविश्लेषण, साहित्यमा पर्यावरण, नेपालको मातृभाषा साहित्य शीर्षकका आख्यान र साहित्यमा अलग अलग सत्र सञ्चालन हुने पार्टी कार्यालयले जनाएको छ । पहिलो दिनको अन्तिममा २० कविबाट कविता साँझको आयोजना गरिने छ ।

दोस्रो दिन भदौ २५ गते बिहान वीर गणेशमान चलचित्र प्रदर्शन गरी महोत्सवको सुरुआत गरिनेछ । मार्क्स, गान्धी र बिपी, आजको लोकतान्त्रिक समाजवादको खोज विषयमा आनन्द कुमारले सम्भाषण दिनेछन् । त्यसपछि बिपीले नपाएका १५ वर्ष, बिपीका आख्यानमा मधेस, अन्तर्राष्ट्रिय राजनीति र कूटनीतिमा बिपी, युवा स्रष्टामा बिपी पठन शीर्षकका आख्यान र साहित्यमा प्रवचन तथा छलफल हुनेछन् । दोस्रो दिनको अन्तमा ३० जना गजलकारबाट गजल साँझको आयोजना हुने छ ।

तेस्रो दिन भदौ २६ गते बिहान तीन घुम्ती चलचित्र प्रदर्शनबाट महोत्सवको सुरुआत गरिने छ । त्यसपछि बिपीको समाजवादी परिकल्पनामा शिक्षा विषयमा केदारभक्त माथेमाले सम्भाषण दिनेछन् । त्यसपछि समावेशिता, सामाजिक रूपान्तरण र बिपी, समय र सबाल्र्टन, बिपीका आख्यानमा नारी, परिवारले बुझेका बिपी विषयमा अलग अलग सत्र सञ्चालन हुनेछन् । तेस्रो तथा महोत्सवको अन्तिम दिनमा धन्यवाद ज्ञापन र साङ्गीतिक साँझसँगै महोत्सवको समापन गरिने पार्टी कार्यालयले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर