कसरी मनाउने तीज ? होटलका मेन्यूमा कि सामाजिक सम्बन्धमा – Nepal Press

कसरी मनाउने तीज ? होटलका मेन्यूमा कि सामाजिक सम्बन्धमा

चितवन । तीज पर्व कसरी मनाउने भन्ने प्रश्न र चर्चा हरेक वर्ष हुने गर्छ । यसवर्ष पनि हिन्दू महिलाहरुको पर्व तीज आउन १० दिनमात्रै बाँकी छ । तर, महिलाहरुलाई भने तीज लाग्न थालेको महिनादिन जति भइसक्यो ।

दर खाने, खुवाउने, चट्ट मेकअपमा सजिने, पार्टी प्यालेस र होटलमा गएर रमाइलो गर्ने । पछिल्ला दिनहरुमा यिनै माध्यमबाट तीज मनाइँदै आएको देखिन्छ । हुन त आफूले सक्ने हैसियतमा पर्व मनाउँदा प्रश्न गर्ने नगर्ने दुई पक्षमा बहस हुने गर्छ ।

साउन महिना हरियो रंगमय हुँदा बजार पनि हरियाली थियो । महिला केन्द्रित हरिया सामग्रीले बजार रंगिएको थियो । तीज लाग्यो राताम्य छ बजार । राता सारी, ब्लाउजहरु सामाजिक सञ्जालभरि प्रदर्शित छन् । युट्युब रातै छन् आधुनिक भाकाका तीज गीत र भिडियोहरुले ।

हामी बजार चलायमान बनाउनुपर्ने दायित्वमा पनि छौं । व्यवसायीहरु पर्वहरुले नै वर्षभरको आर्थिक बोझ कम गर्ने बताउँछन् । बजार अनुकूल आफू बनाउने नाममा समाजको एक व्यक्तिको भड्किलो व्यवहारले कम आय हुने व्यक्तिलाई कस्तो असर पर्ला ?

यही अवस्थालाई पृष्ठभूमिमा उल्लेख गर्दै हरेक वर्ष तीज लागेपछि गृह प्रशासनअन्तर्गत देशभरका जिल्ला प्रशासन कार्यालयले सार्वजनिक अपिल गर्दै आएका छन् । प्रशासनले एकै भाषा र फर्म्याटमा सार्वजनिक सूचना जारी गर्दै आएको केही वर्ष भइसकेको छ ।

अघिल्ला कोभिड १९ ले गाँजेका दुई वर्षमा मानिसले धैर्यता राखे पनि अहिले तीज कम खर्चिलो बनाऊ भन्ने आदेश सुन्न न तीज लागेका महिलालाई फुर्सद छ न त बजार र व्यापार बढाउने ध्याउन्नमा लागेका व्यापारीहरुलाई चासो छ । बिरालो बाँधेर श्राद्ध गर्ने परम्परा झैं एक पेजको सार्वजनिक सूचना जारी गरेर आँखा चिम्लिन्छ प्रशासन पनि । जसको उदाहरण एक हप्तायता जिल्ला प्रशासन कार्यालयहरुले जारी गरेका सूचनालाई लिन सकिन्छ ।

जिल्ला प्रशासन कार्यालय कास्कीले भदौ १२ गते एउटा सार्वजनिक सूचना जारी गर्‍यो । सूचनामा तीज पर्व भड्किलो नबनाउन सार्वजनिक अपिल गरिएको छ । त्यसैको भोलिपल्ट चितवन प्रशासनले पनि तीज भड्किलो नबनाउँ भनेर सार्वजनिक सूचना जारी गरेको थियो ।

दुबै जिल्ला प्रशासनको सूचनामा पार्टी प्यालेस, होटल, सार्वजनिक स्थललगायतका स्थलमा खर्चिलो गरी तीज नमनाउन भनिएको छ । त्यस्तै सार्वजनिक स्थलमा रकम संकलन गर्ने उद्देश्यले कुनै किसिमका मेला, महोत्सव नगर्न पनि चेतावनी दिइएको छ ।

बजार तीजमय भइसकेको प्रशासनलाई भने पत्तो छैन । प्रशासन कार्यालयहरुले तीज खर्चिलो, भड्किलो नबनाऊ भनी सार्वजनिक गरेकाे सूचनाले केही दिनदेखि नै सार्वजनिक तीज सेलिब्रेसन अफर सार्वजनिक गरिरहेका होटल तथा पार्टी प्यालेसहरुलाई कुनै असर गरेको छैन । पार्टी प्यालेस, होटलहरुले तीज मनाउने अफरहरु सार्वजनिक गरिरहेका छन् ।

उनीहरुले अझ महिलाहरुका तस्वीर राखेर तीज सप्ताह भन्दै हप्तादिन अघि प्रचार गरिरहेका छन् । कास्की सारङकोटको होटल अन्नपूर्ण भ्यूले आफ्नो सामाजिक सञ्जालमा दुई जना महिलालाई १६ हजार रुपैयाँमा तीज विशेष छुट भन्दै प्रचार गरेको छ । त्यस्तै पोखराकै होटल साराले २० जनाभन्दा बढी आएमा २० प्रतिशत शुल्क कम भन्दै मेनु सार्वजनिक गरेको छ ।

जिल्ला प्रशासन कार्यालय चितवनले गरेको सार्वजनिक चितवनको होटल सिराइचुलीले एक हजार पाँच सयबाट रुपैयाँबाट तीज मेन्यु सुरु हुन्छ भनेर सार्वजनिक गरेको हप्ता दिन बढी भइसक्यो । यहाँका सबैजसो होटल तथा पार्टी प्यालेसहरुले तीज मेन्यु भन्दै महिलाहरुलाई तीजको दर खान महिना दिनअघि देखि नै प्रेरित गरिरहेका छन् ।

चितवन होटल व्यवसायी संघका अध्यक्ष कृष्ण भट्ट व्यवसायी कोरोनादेखि नै थलिएकाले पारिवारिक वातावरणमा होटलमा आएर तीज मनाउन दिनुपर्ने तर्क राख्छन् । उनले ससानो परिवार भएकाले आफ्ना पारिवारका थोरै मानिसहरु लिएर होटलमा खानुलाई प्रशासनले रोक्न नहुने तर्क राखे ।

यद्यपि तीज मेन्यु भन्दै गरिएको प्रचारका विषयमा भने उनले प्रशासनले रोक भनेपछि साथीहरुलाई सूचनाबारे सचेत गराउने बताए । तर, प्रशासनलाई होटलहरुले गरेका सार्वजनिक आह्वानबारे थाहा खबर छैन ।

चितवनको प्रशासन पनि १३ गते सार्वजनिक सूचना जारी गरेर ढुक्क बसेको छ । सम्बन्धित निकायले आफ्नो सूचना अटेर गरे कस्तो कारबाही गर्ने भन्ने पनि यकिन छैन प्रशासनलाई । चितवनका सहायक सीडीओ चिरञ्जीवी शर्मा भने चाडपर्व मनाउने नाममा खर्चिलो, देखासिकी बढ्दै गएकाले त्यस्तो क्रियाकलाप रोक्न प्रशासनले सूचना जारी गरेको बताउँछन् ।

उनले होटलहरुले तीजका नाममा गर्ने विज्ञापन अवैधानिक रहेको पनि बताए । यद्यपि आफ्नो कार्यालयमा होटल तथा पार्टी प्यालेसहरुले सार्वजनिक गरेका तीज मेन्युबारे जानकारी नभएको उनले बताए ।

‘हामी प्रहरीमार्फत तत्काल अनुगमन गर्छौं’, उनले भने, ‘तीज मनाउने नाममा मेन्यु सार्वजनिक गर्दै खर्चिलो नबनाउन सार्वजनिक सूचना जारी गरिसकेका छौं, कसैले गरेका रहेछन् भने पनि नियन्त्रण गर्छौं ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *