प्रदेश सांसददेखि वडाध्यक्षसम्म २१ ठाउँ रिक्त, उपनिर्वाचनको तयारीमा आयोग – Nepal Press

प्रदेश सांसददेखि वडाध्यक्षसम्म २१ ठाउँ रिक्त, उपनिर्वाचनको तयारीमा आयोग

काठमाडौं । काठमाडौं महानगरपालिका- १६ का वडाध्यक्ष मुकुन्द रिजालको डेंगुका कारण बिहीबार निधन भयो । उनको निधनसँगै महानगरपालिकाको वडा नम्बर १६ अध्यक्षविहीन भएको छ ।

कुनै वडामा अध्यक्षको निधन भएपछि स्थानीय सरकार सञ्चालन ऐनअनुसार वडा समितिका सदस्यको काममा समन्वय र सजीकरण गर्ने, वडाको विकास योजना, बजेट तथा कार्यक्रम तयार गर्ने तथा स्वीकृतिका लागि गाउँपालिका वा नगरपालिकामा पेश गर्ने, वडाबाट कार्यान्वयन हुने योजना तथा कार्यक्रम कार्यान्वयन गर्ने तथा त्यसको अनुगमन तथा आवधिक समीक्षा गर्ने काम प्रभावित हुन्छ ।

यतिमात्रै नभएर वडा अध्यक्ष नभएकै कारण नागरिकका महत्वपूर्ण काम नाता प्रमाणित गर्ने, नागरिकता तथा नागरिकताको प्रतिलिपि लिन सिफारिस गर्ने, जन्ममिति प्रमाणित गर्ने, विवाह प्रमाणित तथा अविवाहित प्रमाणित गर्ने, जीवित एवं मृतकसँगको नाता प्रमाणित गर्ने, तथा सर्जमिन सिफारिस गर्नेलगायतका काम पनि प्रभावित हुन्छ । यी काम प्रभावित हुन नदिन वडा अध्यक्षको उपनिर्वाचन गर्नुपर्ने कानूनी प्रावधान छ ।

निर्वाचन आयोगको तथ्यांकअनुसार काठमाडौं महानगरपालिकामात्रै नभएर अहिले देशभरका १७ वटा वडामा अध्यक्ष खाली छ । आयोगका अनुसार कोशीका दुई जिल्लाका दुई, मधेशको एक जिल्लाका दुई, बामगतीका तीन जिल्लाका तीन, गण्डकीको एउटा जिल्लाको एक, लुम्बिनीका तीन जिल्लाका तीन, कर्णालीका दुई जिल्लाका दुई र सुदूरपश्चिम प्रदेशका तीन जिल्लाका तीन वडा अध्यक्षको पद रिक्त छन् ।

अध्यक्ष रिक्त वडाहरुमा सुनसरीको गढी गाउँपालिका- ६, उदयपुरको त्रियुगा नगरपालिका- १२, रौतहटको इशनाथ नगरपालिका- ६, काठमाडौंको कीर्तिपुर नगरपालिका- ४, नुवाकोटको ककनी गाउँपालिका- २, मकवानपुरको हेटौंडा उपमहानगरपालिका- १२ रहेका छन् ।

त्यस्तै गोरखाको गोरखा नगरपालिका- ५, गुल्मीको मुसिकोट गाउँपालिका- १, रोल्पाको रुन्टिगढी गाउँपालिका- ४, बर्दियाको ठाकुरबाबा नगरपालिका- ४ मा पनि वडा अध्यक्ष रिक्त रहेको आयोगले जनाएको छ ।

आयोगका अनुसार कर्णालीमा कालिकोटको तिलागुफा नगरपालिका- ४, जाजरकोटको कुशे गाउँपालिका- ७, सुदूर पश्चिममा दार्चुलाको दुहुँ गाउँपालिका- ५, बझाङको सुर्मा गाउँपालिका- ४ र डोटीको पूर्वीचौकी गाउँपालिका- ६ नम्बर वडामा अध्यक्ष पद खाली छ ।

आयोगका प्रवक्ता सहसचिव शालिग्राम पौडेलले अधिकांश पद निर्वाचित व्यक्तिको निधन भएकाले रिक्त भएको बताए । कतिपय पद अन्य कारणले पनि रिक्त भएका भन्दै उनले त्यसको तथ्यांक संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत मागिएको बताए ।

मन्त्रालयले सबै विवरण उपलब्ध नगराएका कारण यो नै अन्तिम भन्न नसकिने उनको भनाइ छ ।

गाउँपालिका अध्यक्ष र उपाध्यक्ष पनि रिक्त

आयोगका अनुसार एकएक गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा एक प्रदेशसभा सदस्यको पनि निधन भएका कारण पद रिक्त छ । जसमा कर्णालीमा दैलेखको महाबु गाउपाँलिकामा अध्यक्ष खाली छन् । त्यहाँका गाउँपालिका अध्यक्ष लक्षुमन गुरुङको २०७९ माघ २७ गते हृदयाघातबाट निधन भएको थियो । अध्यक्षको निधनपछि उपाध्यक्ष मञ्जुकुमारी शर्माले कार्यबाहक अध्यक्षको जिम्मेवारी सम्हाल्दै आएकी छन् ।

यस्तै बामगतीमा दोलखाको गौरीशंकर गाउँपालिकाका उपाध्यक्ष श्यामसुन्दर तामाङको पनि हृदयाघातका कारण निधन भएको थियो । उनको गत असार ३१ गते उपचारका क्रममा काठमाडौंस्थित सहिद गंगालाल हृदयरोग केन्द्रमा निधन भएको थियो ।

उपप्रमुख नहुँदा स्थानीय सरकार सञ्चालन ऐनअनुसार न्यायिक समितिको संयोजक भएर काम गर्ने, गैरसरकारी संघसंस्थाका क्रियाकलापको समन्वय गर्ने, उपभोक्ता हित संरक्षणसम्बन्धी कामको समन्वय गर्ने, योजना तथा कार्यक्रमको अनुगमन तथा सुपरिवेक्षण गरी त्यसको प्रतिवेदन बैठकमा पेश गर्ने काम प्रभावित भएको छ ।

यस्तै सभा र कार्यपालिकाबाट गठित समितिको काममा सहजीकरण र समन्वय गर्ने, सात दिनभन्दा बढी समय गाउँपालिका वा नगरपालिकामा अनुपस्थित हुने भएमा अध्यक्ष वा उपप्रमुखलाई जानकारी गराउने काम उपप्रमुख नहुदाँ प्रभावित भएको छ ।

प्रदेशसभातर्फ एक पद रिक्त

सुदूरपश्चिम प्रदेशमा बझाङ प्रतिनिधिसभा एकको प्रदेशसभा (क)बाट निर्वाचित सांसद एवं सुदूरपश्चिम प्रदेश सरकारका तत्कालीन आन्तरिक मामिला तथा कानूनमन्त्री पृथ्वीबहादुर सिंहको निधन भएसँगै उक्त निर्वाचन क्षेत्र पनि रिक्त भएको छ । मन्त्री सिंह सवार सवारी डडेल्धुराबाट चैनपुर आउने क्रममा केदारस्युँ गाउँपालिकाको धारछडा भन्ने ठाउँमा दुर्घटना हुदाँ गत असार ५ गते निधन भएको हो ।

उपनिर्वाचनको मिति घोषणाको पर्खाइमा आयोग

प्रवक्ता पौडेलका अनुसार आयोगले स्थानीय तहदेखि प्रदेशसभासम्म रिक्त भएको पदको जानकारी सरकारलाई गराइसकेको छ । यस विषयमा निर्वाचन आयोगका पदाधिकारी तथा प्रधानमन्त्री एवं उपप्रधानमन्त्रीसँग समेत छलफल भएको उनले बताए ।

सरकारले उपनिर्वाचनको मिति घोषणा गरेपछि उपनिर्वाचन गराउन आयोग तयारी अवस्थामा रहेको पौडेलले बताए । संविधानको धारा २१५ को उपधारा ९ मा गाउँपालिकाको अध्यक्ष वा उपाध्यक्ष एक वर्षभन्दा बढी पदावधि बाँकी रहेको अवस्थामा रिक्त पदको पूर्ति उपनिर्वाचनबाट हुने व्यवस्था छ ।

यस्तै संविधानकै धारा २१६ को उपधारा ९ मा नगरपालिकाको प्रमुख वा उपप्रमुख एक वर्षभन्दा बढी पदावधि बाँकी रहेको अवस्थामा रिक्त पदको पूर्ति उपनिर्वाचनबाट हुने व्यवस्था छ । वडा अध्यक्षको हकमा पनि यही कानूनी व्यवस्था छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर