मन मिलेको सन्देश दिन चितवनमा कांग्रेसको जिल्ला सम्मेलन – Nepal Press

मन मिलेको सन्देश दिन चितवनमा कांग्रेसको जिल्ला सम्मेलन

चितवन । दलभित्रै आरोप प्रत्यारोपमा अल्झिएको चितवन कांग्रेस नयाँ कार्यसमिति बनेको १८ महिनापछि जिल्ला सम्मेलन गर्ने तयारीमा लागेको छ । सत्ताधारी दलबीचको गठबन्धन बनाएर संघ र स्थानीय तह निर्वाचन लडे पनि अपेक्षित जीत हासिल गर्न नसकेपछि नेताहरु विभाजित बनेका थिए ।

विधानअनुसार नयाँ कार्यसमिति आएको वर्षदिनमा गर्नुपर्ने जिल्ला सम्मेलन ६ महिना ढिलो गरी भदौ २३ र २४ गते आयोजना गरी पार्टी एकजुट भएको सन्देश दिन खोजिएको छ ।

स्थानीय र संघीय चुनावमा पार्टीको हितविपरीत काम गरेको भनी निलम्बनमा परेका १८ जनाको निलम्बन फुकुवापछि चितवन कांग्रेसले जिल्ला सम्मेलन गर्न लागेको हो ।

कांग्रेस जिल्ला सभापति राजेश्वर खनाल पार्टीको केन्द्रदेखि नै गुट भएकाले जिल्ला कार्यसमितिमा गुट–गुटबाट निर्वाचित भएर आएका पदाधिकारी सदस्य रहेको बताउँछन् ।

‘हामी गुटविहीन छैनौं’, उनले आज आयोजित पत्रकार सम्मेलनमा भने, ‘एउटा एउटा केन्द्रीय नेताको समर्थन पाएर निर्वाचित हुनुपर्ने भएपछि गुटबाटै निर्वाचित भएर आउनुपर्ने अवस्था आयो ।’

२०७८ साल फागुन १९ र २० मा भएको जिल्ला अधिवेशनबाट सभापतिमा निर्वाचित उनले आफूबाहेक केन्द्रीय नेताको आशीर्वाद पाएका ४ जनासँग निर्वाचन लडेर जितेको पनि बताए । उनले अहिले पनि मन मिल्ने निश्चित नभएकोतर्फ संकेत गर्दै भने, ‘सकेसम्म मन मिलाउँछौं, नभए विधान मिलाउँछौं ।’

अहिले चितवनमा ठूला भनिएका नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्रबाट प्रत्यक्ष निर्वाचित संघीय सांसद छैनन् । कांग्रेसको यही अवस्था मध्यनजर गर्दै २०८४ सालको निर्वाचन लक्षित अभियान चलाउनसमेत जिल्ला सम्मेलनले सर्वसम्मत निर्णय गर्ने तयारी गरिएको छ ।

जिल्लाबाट १४औं महाधिवेशनमा सहभागी क्षेत्रीय प्रतिनिधि, भ्रातृ तथा शुभेच्छुक संस्थाहरुको सहभागितामा आयोजना गर्न लागेको जिल्ला सम्मेलनले विदेश गएका पार्टीका सदस्यहरुलाई सके घर फर्काउने नभए पार्टीको जनसम्पर्क समितिमार्फत सम्पर्कमा ल्याउनेसमेत कार्यक्रम पास गर्न लागेको छ ।

त्यसैगरी ज्येष्ठ नागरिकलाई पार्टीमै राखिराख्न ७० जना ज्येष्ठ नागरिकलाई सम्मानसमेत गर्न लागेको छ । सभापति खनालले भने, ‘अब विदेशमा बसोबास गर्ने नेपालीले समेत मतदान गर्न पाउने निर्वाचन कानून आउन लागेको अवस्थालाई मध्यनजर गरी र ज्येष्ठ नागरिकले हाम्रो पार्टी र समाजलाई दिएको योगदानको सम्मानमा यो कार्यक्रम थाल्न लागेका हौं ।’

गत निर्वाचनअघि चितवनमा २८ हजार क्रियाशील सदस्य रहेको जिल्ला समितिको तथ्यांक छ । तर, अहिलेसम्म साउन ६ गते थालेको सदस्यता नवीकरणमा ७० प्रतिशत हाराहारीले नवीकरण गरेको तथ्याङ्क छ ।

कांग्रेसले भरतपुर महानगरकै केही वडामा गत निर्वाचनमा सदस्य संख्याभन्दा कम मत पाएको थियो । त्यस्ता सदस्यहरुलाई नवीकरण गर्न दबाब नदिएको जिल्ला समितिले जनाएको छ ।

‘हामीले स्वघोषणापत्र तयार गरेका छौं’, जिल्ला सचिव ध्रुवराज पोखरेल भन्छन्, ‘यसअघिका मन नमिलेका वा गरेका गल्ती सुधार गर्न तयार भएपछि र पार्टीलाई धोका नदिने स्वघोषणा गरेपछि मात्रै सदस्यता नवीकरण गरेका छौं ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर