२४ वर्षपछि भारतले चिनेको नेपाली क्रिकेट – Nepal Press

२४ वर्षपछि भारतले चिनेको नेपाली क्रिकेट

काठमाडौं । एसिया कप क्रिकेटअन्तर्गत सोमबार भारतविरुद्ध नेपालले ब्याटिङ गरिरहँदा पूर्वभारतीय क्रिकेटरहरुले नेपाली खेलाडीको खुलेर प्रशंसा गरे । यसअघि नेपाली क्रिकेटबारे उनीहरुले सायदै यसरी बोलेका थिए ।

करिब दुई दशकदेखि अन्तर्राष्ट्रिय प्रतियोगितामा आफ्नो उपस्थिति देखाउँदै आए पनि छिमेकी भारतले नेपाललाई वास्ता गरेको कहिल्यै देखिएन । तर आफ्नै देशविरुद्ध भएको प्रदर्शनबाट यसपटक उनीहरु बोल्न बाध्य बने ।

कमेन्ट्री गरिरहँदा गौतम गम्भीर, रवि शास्त्री, इरफान पठान, मोहम्मद कैफलगायतले नेपाली क्रिकेटमा सम्भावना रहेको र उनीहरुमा अनुभवको मात्र कमी रहेको उल्लेख गरेका थिए । सामाजिक सञ्जालमार्फत त्यसलाई व्यक्त गर्न पनि उनीहरु हिच्किचाएनन् ।

खेल सुरु हुनुअघि नेपाल ३० ओभरभन्दा अगाडि नै अलआउट हुने अनुमान उनीहरु गरिरहेका थिए । कतिसम्म भने उनीहरु नेपाल र भारतबीचको खेलभन्दा बढी आगामी विश्वकपमा भारतको सहभागीताबारे बढी चर्चा गर्दै थिए ।

नेपालको ब्याटिङ देखिसकेपछि पूर्वखेलाडि तथा कमेन्टेटर आकाश चोपडाले सामाजिक सञ्जालमार्फत नेपाली क्रिकेटको विकासमा भारतले सहयोग गर्नुपर्ने भन्दै स्टाटस लेखे । भारतले आफ्नो ए टीमलाई नेपाल पठाउनुपर्ने र भारतको घरेलु क्रिकेटमा नेपाललाई सहभागी गराउनुपर्ने सुझाव दिँदै उनले अगाडि लेखेका थिए, ‘नेपालमा क्रिकेटको प्यासन अतुलनीय छ र उनीहरुसँग सम्भावना पनि छ ।’

कैफले पनि भारतविरुद्धको प्रदर्शनमार्फत नेपालले सम्भावना र ठूलो भविष्य देखाएको उल्लेख गरेका थिए । उनको फेसबुक स्टाटस थियो, ‘आफ्नै भूमिमा हुर्किएका क्षमतावान खेलाडी भएको उदाउँदो क्रिकेट राष्ट्र देख्दा निकै पुनर्ताजगी भइरहेको छ ।’

पूर्वभारतीय तेज बलरसमेत रहेका इरफान पठानले मंगलबार पनि नेपालको खेल हेर्न अमेरिकाबाट श्रीलंका आइपुगेका क्रिकेट समर्थकको सानो भिडियो राख्दै लेखेका छन्, ‘नेपाली क्रिकेट समर्थकको प्यासन अवास्तविक छ । धेरै माया र सम्मान ।’

त्यसअघि सोमबार पनि उनले खेल भइरहँदा सामाजिक सञ्जालमा भारतविरुद्ध बनाएको योगफलबाट नेपालले गर्व गर्नुपर्ने उल्लेख गरेका थिए । भारतीय तेज बलरविरुद्धको प्रदर्शन र रनिङ विटविन द विकेट्सबाट बटुलेको रनबारे उनले तारिफ गरेका थिए ।

नेपाली क्रिकेट टोलीमा अधिकांश खेलाडी २४ वर्षभन्दा कम उमेर रहेको उल्लेख गर्दै राम्रो एक्सपोजर पाउने हो भने केही वर्षमा नेपाली क्रिकेट निकै माथि पुग्ने उनले कमेन्ट्री दौरान भनेका थिए ।

विश्वकै सबैभन्दा ठुलो व्यवसायिक क्रिकेट प्रतियोगिता मानिने भारतको इन्डियन प्रिमियर लिग-आईपीएलका चेन्नई सुपर किङ्स, रोयल च्यालेन्जर्स बैंगलोरलगायत टोलीले पनि नेपालबारे प्रंशसा गरेका छन् ।

सन् १९९९ को एसीसी यू-१९ कपमा फाइनलसम्म पुगेर नेपालले आफ्नो पोटेन्सियल देखाउन सुरु गरेको हो। त्यसयता उसले लगातार चारपटक एसीसी यू-१९ एलिट कपको उपाधि जित्यो भने लगातार पाँचपटक यू–१९ विश्वकपमा सहभागी भएको थियो। सन् २००२ को यू-१९ विश्वकपमा नेपालले पाकिस्तान र बंगलादेशजस्ता टेस्ट टोलीलाई हराएको थियो।

सन् २००४ को संस्करणमा दक्षिण अफ्रिकालाई हराएको नेपालले सन् २००६ को संस्करणमा प्लेट च्याम्पियनसिपको सेमिफाइनलमा दक्षिण अफ्रिका र फाइनलमा न्युजिल्यान्डलाई हराएर उपाधि जितेको थियो ।

नेपालले सन् २००८ को यू-१९ विश्वकपको प्लेट च्याम्पियनसीपअन्तर्गत क्वाटरफाइनलमा जिम्बावे र सेमिफाइनलमा नामिबियालाई हराएर फाइनलसम्मको यात्रा तय गरेको थियो। त्यसयता नेपालले सन् २०१६ को यू-१९ विश्वकपमा न्युजिल्यान्डलाई हराएको थियो । एक वर्षपछि आयोजित एसीसी यू-१९ एसिया कपमा भारत पनि नेपालसँग पराजित भएको थियो।

उमेरस्तरको क्रिकेटमा विश्वस्तरमा राम्रो प्रदर्शन गरिरहे पनि नेपाली क्रिकेटप्रति छिमेकी चार टेस्ट राष्ट्र भारत, पाकिस्तान, बंगलादेश र श्रीलंकाले कहिल्यै रुची देखाएनन्। कमजोर स्रोत–साधनबीच नेपालले सपना भने देख्न छाडेन ।

सन् २०१८ मा एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएपछि नेपालको टेस्ट राष्ट्रसँग खेल्ने बाटो खुलेको थियो। तर उक्त मान्यता पाएको झन्डै ५ वर्षपछि मात्र नेपालले टेस्ट राष्ट्रसँग एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेल्ने मौका पायो, त्यो पनि विश्वकप दौरान।

केही महिनाअघि आयोजित एसिसी प्रिमियर कपको उपाधि जितेपछि नेपालको एसिया कप ढोका र विश्व क्रिकेटका दुई महाशक्ती भारत र पाकिस्तानसँग सिनियर अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलोपटक प्रतिस्पर्धा गर्ने बाटो खुलेको थियो।

चोपडा अब नेपाली क्रिकेटको विकाशमा भारतले सहयोग गर्नुपर्ने भन्दै लेख्छन्, ‘म सम्झन्छु भारतले वेस्ट इन्डिजको प्रथम श्रेणी क्रिकेट पुरा सिजन खेल्ने गर्थ्यो।‘

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *