एसिया कपका लागि नेपाली टीम तयार, कप्तान पौडेल भन्छन्- भारत र पाकिस्तानविरुद्ध उत्कृष्ट क्रिकेट खेल्नेछौं (भिडिओ) – Nepal Press

एसिया कपका लागि नेपाली टीम तयार, कप्तान पौडेल भन्छन्- भारत र पाकिस्तानविरुद्ध उत्कृष्ट क्रिकेट खेल्नेछौं (भिडिओ)

काठमाडौं । नेपाली क्रिकेट टीमका कप्तान रोहित पाैडेलले एसिया कपमा भारत र पाकिस्तानविरुद्ध उत्कृष्ट क्रिकेट खेल्ने आत्मविश्वास प्रस्तुत गरेका छन् । उनले नतिजा आफ्नो हातमा नरहे पनि मैदानमा सतप्रतिशत प्रयास गर्ने बताए ।

आज नेपाल क्रिकेट संघले खेलाडीको बिदाइका लागि आयोजना गरेको कार्यक्रममा पत्रकारसँग कुरा गर्दै पौडेलले आफूहरु भारत-पाकिस्तानसँग खेल्न तयार भएको उल्लेख गरे ।

‘धेरै समयदेखिको सपना साकार हुँदैछ । सबैजना तयार छन् । खेलको मजा लिनेछौं’, उनले भने, ‘रिजल्ट हाम्रो कन्ट्रोलमा छैन, तर प्रोसेस कन्ट्रोलमा छ ।’ उनले विश्वकप क्वालिफायरमा वेस्ट इन्डिज र जिम्बाबेसँग खेलेको अनुभव एसिया कपमा काम लाग्ने आशा व्यक्त गरे ।

‘हामी सबैले विश्वकप छनोट र इमर्जिङ कपबाट धेरै कुरा सिकेका छौं । खेलाडीहरुले आआफ्नो कमजोरीमा सुधार गरेका छन् । त्यसैले त्यो दिन बेस्ट क्रिकेट कसरी दिन सकिन्छ भन्नेमा फोकस्ड छौं,’ उनले भने ।

सर्टबलको सामना गर्न के रणनीति छ भन्ने पत्रकारको प्रश्नमा पौडेलले जवाफ दिए, ‘हामीले तयारी गरिरहेका छौं । सर्ट बलमा पुल हान्न नसके पनि अरु सटहरु खेल्न प्रयास गर्नेछौं । होपफुल्ली राम्रो । हुन्छ ।’

प्रशिक्षक मोन्टी देसाइले सर्ट बलमा विश्वका दिग्गज ब्याट्सम्यानरु पनि आउट हुने गरेको भन्दै यसलाई मात्र समस्याका रुपमा लिन नहुने बताए ।

‘सर्ट बलमा संसारका बेस्ट प्लेयरहरु पनि आउट हुन्छन् । म भन्छु कि प्लिज सट बल गर मेरा केटाहरुलाई । त्यसबेला उनीहरुको क्यारेक्टर देखिन्छ,’ उनले भने । नेपालले फुल मेम्बर टिमलाई जित्न चाहे पनि उनीहरुको स्थानमा पुग्न समय लाग्ने देसाइको भनाइ थियो ।

‘तिनीहरुको ठूलो इतिहास छ । हामीकहाँ धेरै समस्या छन् । खेलाडीले पाँच–महिना लाइटबिना इन्डोर प्राक्टिस गरेको देखेको छु । एउटा मात्र बलिङ मसिन छ । क्यान म्यानेजमेन्टलाई पनि चुनौति छ । जति छ, त्यसको अधिकम सदुपयोग गर्ने हो’, उनले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *