आर्थिक मन्दीले असनमै हुन छाड्यो व्यापार, अबको आश दशैंतिहार – Nepal Press

आर्थिक मन्दीले असनमै हुन छाड्यो व्यापार, अबको आश दशैंतिहार

काठमाडौं । कुनै समय थियो संघीय राजधानीको असन बजारका व्यापारीलाई खाजा खाने फुर्सदसमेत हुँदैनथ्यो । तर, अहिले स्थिति ठीक विपरीत देखिएको छ । राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमै देखिएको आर्थिक मन्दीले व्यवसायीहरुसमेत प्रभावित भएका छन् । उपभोक्ताहरुको क्रय शक्तिमा ह्रास आएको छ ।

१० वर्षदेखि असनमा जुत्ता कपडा पसल चलाउँदै आएका काठमाडौंका गगन बज्राचार्य दिनभरमा एकाध ग्राहकले मात्र सामान खरिद गर्ने बताउँछन् । उनी बिहान ८ बजे पसल खोल्छन् । खासै व्यापार नभएपछि उनलाई अहिले आफ्नै व्यवसाय घाँडो भएको छ । भूकम्प र नाकाबन्दीमा समेत नभोगेको आर्थिक मन्दी उनले अहिले महसुस गरिरहेका छन् ।

‘व्यवसाय सुरु गरेदेखि कहिल्यै पनि अहिलेको जस्तो अवस्था देखेको छैन’, बज्राचार्यले सुनाए, ‘पहिला फोन आउँदा मोबाइल उठाउनेसम्मको फुर्सद हुँदैनथ्यो । अहिले त्यही मोबाइलमा दिनभर फिल्म हेरेर बस्दा पनि दिनै नगएको जस्तो लाग्छ ।’

उनका अनुसार पहिले दैनिक ७०-८० हजारको व्यापार हुन्थ्यो । ‘अहिले मुस्किलले ५ हजार हुन्छ । कुनै दिन त एक रुपैयाँको पनि व्यापार हुँदैन’, बज्राचार्यले भने ।

अब उनलाई एउटैमात्र आश छ, नजिकिँदै गरेको दशैंतिहारमा अहिले नभएको व्यापारको भर्पाइ गर्ने । दशैंतिहारमा सोचेजस्तो व्यापार नभए उनी व्यवसाय नै छोड्ने मनस्थितिमा पुगेका छन् ।

पर्वतकी चन्दा बस्नेतले पनि युनिलिभर कलेक्सनको नाममा असनमा कपडा पसल सञ्चालन गरेको २० वर्ष भयो । उनको कहानी पनि बज्राचार्यको जस्तै छ । विगतको व्यापारलाई अहिले तुलना गर्दा अत्यास लाग्ने उनी बताउँछिन् । उनले करिब ७० हजारसम्मको दैनिक व्यापार गरेकी थिइन् । ‘तर, अहिले ४ हजारको पनि हुँदैन । ‘यस्तो समय पनि आउँछ भन्ने मैले सोचेको थिइनँ’, उनले भनिन्, ‘२० वर्षमा यस्तो अवस्था पहिलोपटक देख्दैछु, भोग्दैछु ।’

धेरै व्यापार हुँदा उनले तीन जना कर्मचारी राखेकी थिइन् । व्यापार हुन छाडेपछि अहिले सबै कामदारलाई बिदाइ दिइसकेको छिन् ।

दोलखाकी युनिसा बस्नेतको पनि असनमा ब्याग पसल छ । एक दशकदेखि व्यवसायमा रहेकी उनी अहिले त्यही पसल भूतघर जस्तो लाग्न थालेको बताउँछिन् । उनका अनुसार बिहान पसल खोल्न नजाँदै आज पनि हिजो जस्तो ग्राहक नै नआइ बित्ने हो कि भन्ने चिन्ताले सताउँछ ।

असनको धर्म स्टोर (कस्मेटिक तथा कपडा)का सञ्चालक अहिले सटर भाडा तिर्नसमेत नसकेको गुनासो गर्छन् । ३० वर्षदेखि व्यापार गर्दै आएका उनी अहिले व्यवसाय नै छोड्ने अवस्थामा पुगेको बताउँछन् ।

असनका अर्का व्यापारी लक्की देव मानिसहरुको आवतजावत धेरै भए पनि सामान भने नबिक्ने गरेको बताउँछन् ।

यी साना व्यवसायीहरु आर्थिक मन्दीले मारमा परेका केही प्रतिनिधि उदाहरणमात्रै हुन् । यस्तै कथाव्यथा हजारौं व्यवसायीको छ ।

सरकारको संकुचनकारी नीतिका कारण आर्थिक मन्दी छाएको नेपाल चेम्बर अफ कमर्शका वरिष्ठ उपाध्यक्ष कमलेश अग्रवाल बताउँछन् ।

सरकारले अपनाएका नीतिले ठूला व्यापारी र उद्यमीहरुलाई मात्रै फाइदा पुर्‍याएको र साना तथा मझौला उद्यमी तथा व्यवसायी पलायन हुने अवस्थामा पुगेका उनको भनाइ छ ।

‘चालू पूँजी निर्देशिकाले गर्दा वित्तीय पहुँच कम भयो र अर्कोतर्फ बढ्दो ब्याजदरले गर्दा व्यवसायीहरुले आफ्नो किस्ता र ब्याज तिर्न सकेनन्’, उनले भने ।

आर्थिक मन्दी हटाउने कदम चाल्न सरकार असफल भएको आरोप अग्रवालको छ । साना व्यवसायीहरुले बचत गरेका सहकारीहरु समस्यामा परेपछि उनीहरु थप मारमा परेको उनको बुझाइ छ ।

नेपाल उद्योग वाणिज्य महासंघले भने आर्थिक मन्दीले ५० प्रतिशत साना तथा मझौला व्यापार तथा व्यवसाय बन्द भएर पलायन हुने अवस्थामा रहेको बताएको छ ।

सरकारले व्यापार व्यवसाय गर्नेहरुलाई प्रोत्साहन गर्नुको साटो निरुत्साहन गरेको महासंघका उपाध्यक्ष हेमराज ढकालले बताए ।

‘सरकारले कुनै तवरले व्यापारी तथा व्यवसायीहरुलाई प्रोत्साहन गर्न सकेको छैन । बैंकको ब्याजदरदेखि मौद्रिक नीतिसम्मले साना तथा मझौला व्यापार धराशायी अवस्थामा छन्’, उनले भने, ‘अर्थ मन्त्रालय र राष्ट्र बैंकबीच सन्तुलन देखिएन । जसरी भए पनि बजारलाई सखाप पार्ने काममात्रै भइरहेको छ ।’

कतिपय व्यवसायीहरु पलायनसमेत भएका छन् । कतिपय ठाउँमा सटर खालीका सूचना टाँसिएका छन् । तर, देशमा कति साना व्यवसायी आर्थिक मन्दीकै कारण पलायन हुने अवस्थामा पुगे भन्ने एकिन तथ्यांक न सरकारसँग छ न त उद्योगी व्यवसायीको छाता संस्थासँग ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर