नेपालले हङकङलाई ६ विकेटले हरायो – Nepal Press

नेपालले हङकङलाई ६ विकेटले हरायो

काठमाडौं । आईसीसी वुमन्स टी-२० एसिया क्षेत्र छनोटअघिको चार देश सम्मिलित सिरिजको पहिलो खेलमा हङकङलाई ६ विकेटले हराउँदै नेपालले सुखद सुरुवात गरेको छ ।

मलेसियाको वायुमास स्पोर्ट्स एण्ड इभेन्ट कम्प्लेक्समा भएको खेलमा नेपालले १५.५ ओभरमा चार विकेटको क्षतिमा ८५ रनको लक्ष्य पूरा गरेको हो ।

नेपालको लागि सम्झना खड्काले अविजित रहँदै सर्वाधिक ३६ रन बनाएकी छन् । त्यस्तै सीता रानामगरले अविजित ३ रन बनाइन् ।

त्यस्तै पूजा महतोले १६, कप्तान रुविना क्षेत्रीले १० र ईन्दु वर्माले ८ रनको योगदान दिए । नेपालका ओपनर विन्दू रावल विनारन आउट भएकी थिइन् ।

बलिङतर्फ हङकङका इक्रा सहर, मारिको हिल, मर्याम बिवी र क्यारी चानले एकएक विकेट लिए ।

यसअघि पहिले व्याटिङ गरेको हङकङले १९.१ ओभरमा अलआउट हुँदै ८४ रनको योगफल तयार गरेको थियो ।

हङकङका लागि क्यारी चानले सर्वाधिक ३४ र डोरेथिया चानले १६ रन बानउनुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकको रन बनाउन सकेनन् ।

बलिङतर्फ नेपालका सीता रानामगरले ५, ईन्दु वर्माले २ र कविता कुँवर, पूजा महतो र रुविना क्षेत्रीले एकएक विकेट लिए ।

अगष्ट ३१ देखि मलेसियामै हुने आईसीसी महिला टी-२० विश्वकप एसिया क्वालिफायरको तयारीस्वरुप चारदेशीय टी-२० सिरिज भइरहेको हो । जसमा नेपाल र हङकङसहित मलेसिया कुवेत रहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *