कर्णालीमा बढे बलात्कारका घटना, अन्य अपराधको विवरण कस्तो ? – Nepal Press

कर्णालीमा बढे बलात्कारका घटना, अन्य अपराधको विवरण कस्तो ?

सुर्खेत । पछिल्लो समय कर्णाली प्रदेशमा जबर्जस्ती करणीका घटना बढ्दै गएका छन् । पछिल्लो समयमा विभिन्न जिल्लामा प्रदेशभर २०७ वटा जबरजस्ती करणी सम्बन्धी मुद्दा दर्ता भएका छन् । जसमध्ये सबैभन्दा बढी सुर्खेतमा र कम डोल्पामा घटना घटेका छन् ।

सुर्खेतमा ८८ वटा मुद्दा दर्ता भएको छ भने डोल्पामा सबैभन्दा कम १ वटा मुद्दा दर्ता भएको छ । त्यसैगरी, सल्यानमा २३, दैलेखमा १८, रुकुम पश्चिममा १७, जाजरकोटमा ९, कालिकोट १७ र जुम्लामा १८ मुगुमा ७ र हुम्ला ९ वटा जबर्जस्ती करणी सम्बन्धी मुद्दा दर्ता भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

त्यस्तै, जबरजस्ती करणीको घटनाहरूबाट सबैभन्दा बढी १० देखि १६ उमेर समूहका बालिका ९४ जना रहेका छन् भने १० वर्ष भन्दा कम उमेरका ४ जना पीडित रहेका कार्यालयको विवरणमा उल्लेख छ । साथै, १७ देखि २५ वर्षसम्मका ७४ जना, २६ देखि ३५ वर्षसम्मका २१ जना, ३६ देखि ४५ वर्षसम्म ९ जना, ४६ देखि ५९ वर्षसम्म ३ जना र ६० वर्षभन्दा माथि २ जना पीडित भएका छन् ।

यसैगरी, कर्तव्य ज्यानमा कर्णाली प्रदेशमा आर्थिक वर्ष ०७९/०८० मा ४० वटा कर्तव्य ज्यानका मुद्दाहरू दर्ता भएको छ । जसमध्ये सबैभन्दा धेरै सुर्खेत, सल्यान र कम डोल्पा र मुगुमा मुद्दाहरू दर्ता भएका छन् ।

सुर्खेत र सल्यानमा १०/१० र डोल्पा र मुगुमा १/१ मुद्दा दर्ता भएका छन् । त्यसै गरी रुकुम पश्चिममा ५, जाजरकोटमा ३, कालिकोट ३ र जुम्लामा ३ तथा दैलेखमा र हुम्लामा २/२ वटा मुद्दा दर्ता भएको कार्यालयले जनाएको छ ।

यस्तै, कर्णालीमा आत्महत्याका घटनाहरू पनि बढ्दै गएका छन् । जसमा प्रदेशमा २७३ जनाले आत्महत्या गरेका छन् । जसमध्ये सुर्खेतमा सबैभन्दा बढी १०९ जनाले आत्महत्या गरेका छन् भने डोल्पा जिल्लामा आत्महत्या भएको छैन ।

त्यस्तै, सल्यानमा ४५, दैलेखमा ४४, रुकुम पश्चिममा २८, जाजरकोटमा १९, कालिकोट १२ र जुम्लामा ६ मुगुमा ६ र हुम्ला ४ जनाले आत्महत्या गरेका छन् । जसमध्ये २३९ जना झुन्डिएर, जना विष सेवन गरेर २ जना औजारबाट र १ जना हाम फालेर आत्महत्या गरेका छन् ।

यस्तै, बैङ्किङ कसुर सम्बन्धी मुद्दा कर्णालीमा १३५ वटा मुद्दा दर्ता भएकोमा १३१ वटा मुद्दा सुर्खेतमा दर्ता भएको छ । जसमा ४ वटा मुद्दा सल्यानमा दर्ता भएको छन् भने बाँकी अन्य जिल्लामा मुद्दा दर्ता भएका छैनन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *