बुटवलमा लुम्बिनी बौद्ध र काठमाडौं विश्वविद्यालयको संयुक्त शैक्षिक कार्यक्रम सुरु – Nepal Press

बुटवलमा लुम्बिनी बौद्ध र काठमाडौं विश्वविद्यालयको संयुक्त शैक्षिक कार्यक्रम सुरु

रुपन्देही । लुम्बिनी बौद्ध विश्वविद्यालय र काठमाडौं विश्वविद्यालयले संयुक्त रुपमा स्नातक तहमा हस्पिटालिटी एण्ड टुरिजम विषयको प्राध्यापन सुरु गरेका छन् । दुई विश्वविद्यालयको संयुक्त डिग्रीको कक्षा सञ्चालन लुम्बिनी बौद्ध विश्वविद्यालयले बुटवलमा गर्नेछ ।

संयुक्त डिग्रीको शिक्षा विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिला कुमारीले शुक्रबार बुटवलमा एक कार्यक्रमबीच सार्वजनिक गरेकी छन् । सो अवसरमा राज्यमन्त्री प्रमिला कुमारीले पर्यटन विषयमा दक्ष जनशक्ति उत्पादनका लागि दुई विश्वविद्यालयले सुरु गरेको शैक्षिक कार्यक्रम कोशेढुंगा सावित हुने बताइन् ।

‘बुद्ध शिक्षा र पर्यटन एकापसमा परिपूरक छन्’, उनले भनिन्, ‘बौद्ध विश्वविद्यालयले पर्यटन क्षेत्रलाई चलायमान बनाउन शिक्षा क्षेत्रबाट महत्वपूर्ण योगदान गर्नुपर्छ ।’

लुम्बिनी बौद्ध विश्वविद्यालयका निमित्त उपकुलपति डा. तिलकराम आचार्यले काठमाडौं विश्वविद्यालयसँगको सहकार्यमा पर्यटन क्षेत्रका लागि आवश्यक सीपयुक्त जनशक्ति उत्पादनका लागि यो कार्यक्रम सुरु गरिएको बताए ।

गत असार २१ गते सहकार्य सम्झौता भई एक महिनाभित्रै शैक्षिक कार्यक्रम सार्वजनिक गरिएको उनले जानकारी दिए ।

काठमाडौं विश्वविद्यालयका विषय समिति अध्यक्ष उज्ज्वल सत्यालले विश्वविद्यालयहरु खाली भइरहने अवस्था आएको भन्दै अब सीपयुक्त जनशक्ति उत्पादनका लागि विश्वविद्यालयले विशेष ध्यान दिनुपर्ने बताए ।

लुम्बिनी बौद्ध विश्वविद्यालय मानविकी तथा सामाजिक शास्त्र संकायका डीन डा. हरिशरण चखुले विश्वविद्यालयहरुबीच टीमवर्कमा कार्य गर्न आवश्यक रहेकाले काठमाडौं विश्वविद्यालयसँग सहकार्यमा शैक्षिक कार्यक्रम सुरु गरिएको बताए ।

कार्यक्रममा लुम्बिनी बौद्ध विश्वविद्यालय टुरिजम विषय समितिका अध्यक्ष श्रीप्रसाद भट्टराईले हस्पिटालिटी र टुरिजम विषयबारे जानकारी गराएका थिए ।

नयाँ सुरु गरिएको कार्यक्रममा यसै शैक्षिक सत्रबाट भर्ना सुरु गरिने जनाइएको छ । दुई विश्वविद्यालयको सहमतिअनुसार बुटवलको सिटी क्याम्पसमा पठनपाठन हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर