जसपामा ‘गौर हत्याकाण्ड’को परकम्प- प्रधानमन्त्रीलाई भेटेर उपेन्द्रले के भने ? – Nepal Press

जसपामा ‘गौर हत्याकाण्ड’को परकम्प- प्रधानमन्त्रीलाई भेटेर उपेन्द्रले के भने ?

संसदीय समिति गठन गरेर घटनाको छानबिन गर्न माग

काठमाडौं । गौर हत्याकाण्डका पीडितद्वारा गठित संघर्ष समिति र गृह मन्त्रालयबीच ५ बुँदे सहमति भएपछि सत्तारुढ दल जनता समाजवादी पार्टी (जसपा) तरंगित बनेको छ । यो घटनाका मुख्य योजनाकारका रुपमा जसपाका अध्यक्ष उपेन्द्र यादव नै मुछिएका छन् ।

सरकारले गठन गरेको न्यायिक जाँचबुझ आयोगले यादवसहित १३० जना घटनामा संलग्न रहेको निष्कर्ष निकालेको थियो । १७ वर्षअघिको जघन्य अपराधमाथि अहिले आएर सरकार छानबिनका लागि अग्रसर भएपछि यादव तर्सिएका छन् ।

तत्कालीन मधेशी जनअधिकार फोरमका कार्यकर्ताले तत्कालीन माओवादीको भ्रँतृ संगठन वाईसीएलका कार्यकर्तामाथि आक्रमण गरेका थिए । २०६३ चैत ७ गते भएको घटनामा २७ जना वाईसीएल कार्यकर्ताको नृशंस हत्या भएको थियो ।

गौर हत्याकाण्डको छानबिन गर्न सरकार तयार भएपछि जसपा चिन्तामा परेको छ । पार्टीका प्रवक्ता मनिष सुमन पार्टीभित्र यो विषयमा गम्भीरतापूर्वक छलफल भइरहेको बताउँछन् ।

उनले भने, ‘यो सम्झौताले अनुसन्धान पूरा गर्न सक्दैन । यसअघि पनि धेरै आयोगहरु बनेका थिए । तर, कुनैले काम टुंग्याउन सकेन ।’

उनले गौर हत्याकाण्डमाथि छानबिन गर्न संसदीय छानबिन समिति बनाउनुपर्ने माग गरे । सुमनले भने, ‘घटनाको सत्यतथ्य बाहिर ल्याउन संसदीय छानबिन समिति बनाउनुपर्छ । समितिले जे प्रतिवेदन दिन्छ, त्यही आधारमा गाडि बढ्नुपर्छ ।’

सरकारले मंगलबार पीडित पक्षसँग सहमति गरेपछि आशंकित यादव बुधबार पार्टीका नेताहरुसँग छलफल गरेर बालुवाटार पुगेका थिए । बालुवाटारमा प्रधानमन्त्री प्रचण्डसँगको भेटमा उनले गठबन्धन र सरकार छाड्नेसम्मको चेतावनी दिएको स्रोतको दाबी छ ।

यादवले प्रधानमन्त्रीसँग मात्रै नभएर कांग्रेस सभापति शेरबहादुर देउवासँग पनि बुधबार नै छलफल गरेका थिए ।

जसपाका एक नेताले भने, ‘प्रधानमन्त्रीसँग हिजो बालुवाटारमा अनौपचारिक कुराकानी भएको छ । उहाँ (उपेन्द्र)ले घटनाको छानबिनको लागि समिति गठनको प्रस्ताव राख्नुभएको छ । अब सरकारको कदमपछि कसरी अघि बढ्ने हामीले निर्णय गर्छौं ।’

ती नेताले सरकार र गठबन्धनबारे अबको घटनाक्रमले निर्धारण गर्ने बताए । यद्यपि, बुधबारको भेटमा प्रधानमन्त्रीले उपेन्द्रलाई ढुक्क हुन आश्वासन दिएको ती नेताको भनाइ छ ।

जसपा प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले बुधबार सरकारले गौर घटनाको सन्दर्भमा गरेको ५ बुँदे सहमतिबारे पार्टीमा अनौपचारिक छलफल भएको बताए ।

उनले भने, ‘पार्टीले ठोस धारणा बनाइसकेको छैन । सरकार कसरी अगाडि बढ्छ, त्यहीअनुसारको धारणा बनाउँछौं । केही समय लाग्ला ।’

उनले पार्टी बैठकमा सरकारले गरेको सहमति र घटनाको वास्तविकताको विषयमा अध्यक्षले ब्रिफिङ गरेको उल्लेख गरे ।

जसपाका अर्का एक नेताले भने गौर हत्याकाण्डबारे पीडितसँग सरकारले गरेको सहमति आपत्तिजनक भएको बताए ।
उनले भने, ‘यो जसपाविरुद्ध सुनियोजित ढंगबाट गरिएको छ । यसमा हाम्रो आपत्ति छ ।’

यद्यपि, उनले तत्काल सरकार छाड्ने पक्षमा पार्टी नरहेको जिकिर गरे ।

घटनालाई लिएर परेका जाहेरीसमेतलाई आधार मानेर अनुसन्धान प्रक्रिया अगाडि बढाइने र दोषीलाई कानूनी कारबाहीको दायरामा ल्याउने सहमति सरकारले गरेको थियो । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले गौर हत्याकाण्डबारे निरन्तर छानबिनको माग गर्दै आएका छन् । यो प्रकरणलाई लिएर मधेशमा राजनीतिक दलहरु नै विभाजित छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर