कृषि मन्त्रालयमा ७ महिनापछि मन्त्रीको पाइला : उत्पादन बढाउने र किसानका समस्या हल गर्ने दाबी – Nepal Press

कृषि मन्त्रालयमा ७ महिनापछि मन्त्रीको पाइला : उत्पादन बढाउने र किसानका समस्या हल गर्ने दाबी

कैलाली । सुदूरपश्चिम प्रदेश सकारले ६ महिनामा पूर्णता पाएको छ । भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयमा ७ महिना पछि रामेश्वर चौधरी मन्त्री नियुक्त भएका छन् ।

पुस २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका एमाले संसदीय दलका नेता राजेन्द्र रावलले पनि उक्त मन्त्रालयमा मन्त्री नियुक्त गरेका थिएनन् ।

माघ २६ गते मुख्यमन्त्रीमा नियुक्त भएका कांग्रेसका कमल बहादुर शाहले बुधवार चौधरीलाई भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयमा नियुक्त गरेका हुन् । ७ महिना पछि कृषि मन्त्रालयले मन्त्री मात्रै पाएन राज्य मन्त्रीमा कैलाश चौधरीले पनि शपथ खाएका छन् । उनीहरू दुवै जना नागरिक उन्मुक्तिका हुन् ।

पहिलो पटक प्रदेश सभामा निर्वाचित भएका दुवैले मन्त्री र राज्यमन्त्रीको जिम्मेवारी पाएका हुन् ।

कस्ता छन् योजना ?

नेपाल कृषि प्रधान देश भनिए पनि कृषिमै सबैभन्दा धेरै समस्या रहेको नवनियुक्त मन्त्री रामेश्वर चौधरीको बुझाइ छ । उनले आफ्नो कार्यकालमा किसानका समस्या र कृषि उत्पादनमा भइरहेका नीतिगत समस्याहरू हल गर्ने प्रतिबद्धता जनाएका छन् ।

‘हामी कृषि प्रधान देश भन्छौँ यसमै गौरव गरेर बसेका छौँ तर, सबै भन्दा धेरै समस्या अहिले किसान र कृषि क्षेत्रमै छन् ’ उनले भने ‘मैले मेरो कार्यकालमा ती समस्याहरू हल गर्न प्रयास गर्ने छु । ’

कृषिमा प्रदेशलाई आत्मनिर्भर बनाउने, भारतबाट विना परीक्षण आइरहेका विषादीयुक्त फलफूल तथा तरकारीहरूको आयातमा रोक लगाउने, फलफूल तथा तरकारी खेतीलाई बिस्तार गर्ने, किसानलाई मल र सिचाइको अभाव हुन नदिने, उत्पादनशील क्षेत्रमा लगानी बढाउने,दक्ष जनशक्तिलाई पलायन हुन नदिने आफ्नो मूल एजेन्डा रहेको चौधरीले बताए ।

प्रदेशमा रानी जमरा कुलरिया सिचाइ आयोजना र महाकाली आयोजना जस्ता ठुला दुई राष्ट्रिय गौरवका आयोजना तयार भइरहेका बेला खेतीयोग्य जमिन खण्डीकरण भइरहेकोमा चिन्ता व्यक्त गर्दै मन्त्री चौधरीले त्यसलाई नियन्त्रण गर्न नसक्दा ठुलो समस्या हुन सक्ने बताए ।

‘२७ अर्बको रानिजमरा र करिब १७ अर्बको महाकाली आयोजना बन्दै छ तर, त्यो पुरा हुँदा सम्म यहाँ खेतीयोग्य जग्गा नरहने हो कि भन्ने खतरा छ ’ उनले भने ‘कृषि भूमिलाई नीतिगत रूपमै संरक्षण गर्ने योजनामा पनि म लाग्ने छु ।’

उनले आफ्नो कार्यकालमा ठाउँ अनुसारको खेती र मौसम अनुसारको उत्पादनको नीति लिने समेत बताए । जडिबुटी निर्यातको कुनै तथ्याङ्क समेत नभएको अवस्थामा जडीबुटीबाटै प्रदेशलाई समृद्ध बनाउन सकियो जना पनि आफूसँग रहेको मन्त्री चौधरीको भनाइ छ ।

त्यस्तै राज्यमन्त्रीमा नियुक्त भएका कैलाश चौधरीले पनि कृषि क्षेत्रमा देखिने गरी काम गर्ने बताएका छन् ।

‘हामी एउटै पार्टीका हौँ हामीले मिलेर किसान र कृषिमा देखिने समस्या हल गर्ने गरी काम गर्ने छौँ’ उनले भने ‘हामी हाम्रो एजेन्डा भन्दा बाहिर जाने छैनौँ ।’

राज्यमन्त्री चौधरीले प्रदेशमा कृषिको ठुलो सम्भावना रहेको हुँदा त्यही सम्भावनाबाट समृद्धि हासिल गर्न सकिने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर