राजदूतको ‘मेनपावर धन्दा’मा माधव नेपाल साक्षी, मलेसियाको रोजगारीमा सिण्डिकेट लाउने प्रयास – Nepal Press

राजदूतको ‘मेनपावर धन्दा’मा माधव नेपाल साक्षी, मलेसियाको रोजगारीमा सिण्डिकेट लाउने प्रयास

श्रमिकको टाउको गन्दै रिंगेटमै पैसा असुलेरमात्र डिमाण्ड प्रमाणीकरण गर्छन् मलेसियास्थित नेपाली राजदूत डिल्लीराज पौडेल, श्रम सहचारी कामविहीन

काठमाडौं । इण्डोनेशिया हिँडेका पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई मलेसिया उतारेर क्वालालम्पुरस्थित नेपाली राजदूत डिल्ली पौडेलले आफ्नो व्यापार प्रवर्द्धनमा दुरुपयोग गरेका छन् ।

करिब ६ लाख नेपाली श्रमिक कार्यरत मलेसियामा नेपालको प्रतिनिधित्व गर्ने राजदूत पौडेल आफैं मेनपावर धन्दामा लागेको भन्दै यसअघि नै सरकारले सचेत गराइसकेको छ । उनै पौडेलले पूर्वप्रधानमन्त्री नेपाललाई साक्षी राखेर आफ्नो व्यापारिक प्रस्ताव मलेसियन सरकारसमक्ष राखेका छन् ।

पौडेलले अब एक वर्षपछिको नेपालको प्रधानमन्त्री भन्दै माधव नेपाललाई मलेसियाका उच्च सरकारी अधिकारीहरुसँग भेट गराएका छन् । विदेश भ्रमण भनेपछि प्रोटोकलको मतलबै नगरी लगेज कसेर हिँडेको भन्दै आलोचना खेप्ने गरेका पूर्वप्रधानमन्त्री नेपाललाई राजदूत पौडेलले यसपटक मलेसियामा नराम्ररी फसाएका छन् ।

राजदूतको धन्दामा माधव नेपाल साक्षी

नेपाललाई अबको प्रधानमन्त्री भन्दै त्यहाँका गृहमन्त्री सैफुद्दिनसँग पौडेलले मंगलबार भेट गराएका थिए । गृह मन्त्रालयमा माधव नेपाल पत्नी गायत्री नेपालसहित भएको भेटको सोही मौकामा राजदूत पौडेलले नेपाली श्रमिकको हितका लागि भन्दै ८बुँदे प्रस्तावको मस्यौदा पेश गरेको भेटका एक सहभागीले बताए ।

पौडेल राजदूत भएर गएदेखि नै आफ्नो व्यापारमा लागेको भन्दै मेनपावर व्यवसायीहरुले प्रमाणहरु नै श्रम तथा रोजगार मन्त्रालयमा पेश गरेका छन् । यसपटक माधव नेपाललाई साक्षी राखेर उनले नेपालमा सेक्युरिटी गार्ड तालिम केन्द्र खोल्ने र तालिम नलिएकालाई मलेसिया नलैजाने प्रस्ताव पेश गरेका छन् ।

दूतावासका एक अधिकारीले भने, ‘यहाँको गृह मन्त्रालयमा पनि पैसा भनेपछि जे पनि गर्ने व्यक्तिहरु छन् । उनीहरुमार्फत ‘ट्रेनिङ सेन्टर’बाट तालिम लिएकालाई मात्र मलेसियाले सेक्युरिटी गार्डमा लिने भनेर नेपाल सरकारलाई बाध्य पार्ने र नेपालमा तालिम केन्द्रको सिण्डिकेट खडा गरेर अर्बौं कमाउने योजनामा राजदूत छन् । पूर्वप्रधानमन्त्री जस्ता व्यक्तिले बुझेरमात्र भेट्नुपर्ने हो ।’

माधव नेपालको मलेसिया भ्रमण र त्यहाँको भेटघाटबारे परराष्ट्र मन्त्रालयले जानकारी नभएको जनाएको छ । श्रम तथा रोजगारमन्त्री शरदसिंह भण्डारीले राजदूतले मलेसियन गृहमन्त्रीसमक्ष राखेका प्रस्तावहरुबारे जानकारी नभएको र ती विषयमा अहिलेसम्म तालुक मन्त्रालयमा कुनै छलफल तथा प्रस्ताव नभएको प्रस्ट पारेका छन् ।

मलेसिया किन गए माधव नेपाल ?

के माधव नेपालको मलेसिया भ्रमण पूर्वतयारीअनुसार भएको थियो ? सरकारमात्र होइन उनकै सचिवालय पनि यसबारेमा जानकार छैन । पूर्वप्रधानमन्त्री नेपालका स्वकीय सचिवसमेत रहेका नेकपा एसका नेता मोहन गौतमले मलेसियामा नेपालको कार्यक्रमको तयारी नभएको बताए ।

गौतमले नेपाल प्रेससँग भने, ‘माधव नेपाल पाँच दिने विदेश भ्रमणमा जानुभएको हो । उहाँको मलेसियामा केही कार्यक्रमको तयारी थिएन । के सम्झौता भएको हो, कुनै जानकारी छैन । मलेसियाका नेपाली राजदूतले कार्यक्रमको तयारी गरेको हुनसक्छ ।’

कमाउ धन्दामा राजदूत

पौडेलले मलेसियाका गृहमन्त्रीसमक्ष राखेको ८बुँदे प्रस्तावमा कतिपय कामदारको हितसँग सम्बन्धित विषय छन् भने कतिपय व्यापारिक स्वार्थ गाँसिएका तर, श्रमिकलाई घाटा हुने विषय छन् ।

मलेसियामा अवैध रुपमा बसेका १० हजार नेपालीलाई फर्काउने बुँदासमेत उनले राखेका छन् । यसमा टिकटलगायतमा राम्रो रकम प्राप्त हुने भएर धरपकड गराउँदै स्वदेश फर्काउने योजना रहेको बताइन्छ ।

त्यस्तै उनले मेडिकल स्क्रिनिङलगायतका व्यवसाय पनि आफैं हत्याउने गरी प्रस्ताव गरेका छन् भने मलेसिया सरकारबाट प्रमाणित भएको तालिम केन्द्र नेपालमा खोलेर मलेसियाकै आवश्यकताअनुसारका कामदार उत्पादन गर्ने प्रस्तावलाई महत्व दिएका छन् ।

मेनपावर व्यवसायीहरु भन्छन्, ‘मलेसियाले तोकेको तालिम केन्द्र खोल्ने भनेको उताका माफिया र राजदूतको गिरोह मिलेर यहाँ तालिम केन्द्रका नाममा सिण्डिकेट खडा गर्ने र तालिमका नाममा श्रमिकबाट अर्बौं रुपैयाँ उठाएर मेनपावर पनि सिण्डिकेट गर्ने खेल हो । माधव नेपाललाई यो कुरा थाहा नहुन सक्छ ।’

राजदूत पौडेलले पूर्वप्रधानमन्त्री नेपाल मलेसिया आएको बेला यहाँका गृहमन्त्रीसँग शिष्टाचार भेट गराएको बताए । उनले ८बुँदे प्रस्ताव आन्तरिक छलफलका लागि ल्याइएको भन्दै यसलाई ठूलो विषय नबनाउन नेपाल प्रेसलाई आग्रह गरे ।

कामदारकै हितका लागि आफूले ती विषय राखेको उनको दाबी छ ।

श्रम सहचारीको काम पनि आफैं गर्दै असुल्छन् राजदूत

नेपालको सबैभन्दा ठूलो श्रम गन्तव्यमध्येमा पर्ने मलेसियामा श्रमिकलाई सहजीकरण र मेनपावरमार्फत रोजगारदाताले गर्ने कामदारको माग प्रमाणीकरण गर्ने कामका लागि उपसचिव र अधिकृत तहका कर्मचारी श्रम सहचारीका रुपमा खटिएका हुन्छन् ।

ती कर्मचारीले सम्बन्धित रोजगारदाताले कामदार माग गर्ने डिमाण्ड प्रमाणीकरण गरेर नेपाल पठाएपछि मेनपावरमार्फत श्रम स्वीकृति हुन्छ । राजदूत पौडेलले भने श्रम सहचारीको काम पनि खोसेर आफैंले प्रमाणीकरणको अधिकार लिएको बताइएको छ । मलेसियामा श्रम सहचारी भोला गुरागाईं छन् । दिलीप खड्का अट्याची छन् ।

राजदूत पौडेलले मेनपावर कम्पनीमा सिण्डिकेट लगाउने र मेडिकल तथा तालिम केन्द्रदेखि भिसा सेन्टरसम्मको काम आफ्नो गिरोहको कब्जामा ल्याउन मलेसिया सरकारका उच्च अधिकारीहरुमार्फत लबिङ गरेका छन् । यसैक्रममा उनले भावी प्रधानमन्त्री भन्दै माधव नेपाललाई भेटाएका हुन् ।

दूतावासका एक कर्मचारीले भने, ‘कुनै पनि मेनपावरले मलेसियाको रोजगारदाताबाट आउने कामदार डिमाण्ड प्रमाणीकरण गर्न राजदूतलाई प्रतिकामदार पैसा नबुझाए उनीहरुको काम हुँदैन । कामै नहुनुभन्दा पैसा बुझाएर मेनपावरहरुले डिमान्ड लगिरहेका छन् । एकजना मेनपावर व्यवसायीले राजदूतका कारण मलेसियामै केही दिनअघि आत्महत्या नै गरे । यहाँ खुलेआम घुसखोरी भइरहेको छ । तर, सरकारले राजदूतलाई केही गर्दैन ।’

मेनपावर व्यवसायीहरु राजदूतलाई भेटेर रकम बुझाएपछि मात्र डिमान्ड प्रमाणीकरण हुने गरेको बताउँछन् । उनको पछिल्लो ८बुँदे प्रस्तावदेखि सबै विषय श्रममन्त्री शरतसिंह भण्डारी र सचिव केवल भण्डारीलाई भलिभाँती जानकारी रहेको व्यवसायी बताउँछन् ।

कसरी राजदूत बने पौडेल ?

डिल्लीराज पौडेल परराष्ट्र सेवाका कर्मचारी होइनन् । उनी प्राध्यापक वा कुनै कूटनीतिक विषयका जानकार भएर राजदूत बनेका पनि होइनन् । राजनीतिक व्यक्ति पनि होइनन् । तर पनि नेकपा एसको कोटाबाट गठबन्धन सरकारले उनलाई मलेसियाको राजदूत बनायो ।

अमेरिकामा बस्ने पौडेल झलनाथ खनालको उपचारका क्रममा नजिकिएका थिए । खनालकै कोटाबाट नेकपा एसले उनलाई राजदूत बनाए पनि पछिल्लो समय नियुक्तिको बेला कबोल गरेअनुसार नगरी धोका दिएको भन्दै खनाल असन्तुष्ट रहेको बताइन्छ ।

जानकी मेडिकल कलेजको घोटालामा समेत संलग्न उनी पैसा कमाउने उद्देश्यले नै सेटिङबाट राजदूत बन्न सफल भएका थिए । निश्चित मेनपावर कम्पनीलाई मात्र डिमान्ड मिलाउन रोजगारदाताहरुमा लबिङ गर्ने र नमान्नेहरुको डिमान्ड नै प्रमाणीकरण नगरेर रोजगारी गुमाउन राजदूत नै संलग्न रहेको भन्दै व्यवसायीले सरकार गुहार्ने तयारी गरेका छन् ।


प्रतिक्रिया

2 thoughts on “राजदूतको ‘मेनपावर धन्दा’मा माधव नेपाल साक्षी, मलेसियाको रोजगारीमा सिण्डिकेट लाउने प्रयास

  1. पैसा नदिएकाले खनाल रिसाय । पैसा दिनै परे पुच्छर खनाललाइ किन दिने ? टाउकोलाई दिन मलेसिया नै बोलाय ।व्यापारीले त नाफा घाटा हेरिहाल्छ नि ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *