सहकारीले किसानलाई बाँड्यो भाडाको भैंसी ! अनियमितता गर्न खोजेको पुष्टि (प्रतिवेदनसहित) – Nepal Press

सहकारीले किसानलाई बाँड्यो भाडाको भैंसी ! अनियमितता गर्न खोजेको पुष्टि (प्रतिवेदनसहित)

जनकपुरधाम । सिरहाको औरही गाउँपालिका- ४ स्थित खजनपुर सहकारी संस्थाले प्रधानमन्त्री अन्तर्गत भैंसी वितरण गर्दा अनियमितता गरेको खुलेको छ ।

आर्थिक वर्ष २०७९/८० को अन्त्यमा उक्त सहकारी संस्थाले १७ वटा भैंसी भाडामा ल्याएर किसानलाई डोरीमात्रै थमाएको खुलेको हो ।

भाडाको भैंसी वितरण गर्न पालिका अध्यक्ष शिवजी यादव, प्रमुख प्रशासकीय अधिकृत रमेश शर्मा, पालिकाअन्तर्गत रहेको पशु शाखा संयोजक रामस्वरुप यादवलगायतलाई सहकारीले बोलाएको थियो । उनीहरुले नै असार २३ गते किसानलाई भैंसी हस्तान्तरण गरेका थिए ।

तर, सहकारीले भाडामा भैंसी ल्याएर किसानलाई वितरण गर्न लगाएकोबारे जनप्रतिनिधि र कर्मचारीले सुइकोसमेत पाएनन् । स्रोतका अनुसार सहकारी सञ्चालक रामझारी यादव र किसानहरुको सेटिङमै भाडामा भैंसी ल्याएर अनियमितता गर्न खोजिएको छ ।

सहकारीले भाडामा भैंसी ल्याएर आफूहरुलाई दिन लागेको किसानहरुले पहिल्यै जानकारी पाएका थिए । तर, सहकारी सञ्चालकको आर्थिक प्रलोभनका कारण उनीहरु चुप बसेको स्रोतको दाबी छ ।

स्रोतका अनुसार सहकारीले व्यापारीहरुलाई प्रतिभैंसी ३ हजार रुपैयाँ दिएको थियो । भैंसी वितरणको नाटक मञ्चन गरी सबै प्रक्रिया पुर्‍याएर उक्त सहकारीले भुक्तानीका लागि पालिकामा कागजातसमेत पेश गरेको थियो ।

तर, पछि किसानले सहकारीलाई भैंसी फिर्ता गरेपछि स्थानीय युवाहरुले सोधखोज गर्न थाले । त्यसपछि उनीहरुले भैंसी भाडामा ल्याएर वितरण गरेको र पालिकाबाट भुक्तानी लिएर अनियमिता गर्न खोजेको खुलासा गरेका हुन् । अहिले पालिकाले भुक्तानी रोकेको छ ।

औरही गाउँपालिकाले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत गाई/भैंसी साना व्यवसायिक कृषि उत्पादन केन्द्र (पकेट) विकास कार्यक्रमका लागि २०७९ फागुन १७ मा प्रस्ताव आह्वान गरेको थियो । सो कार्यक्रमका लागि पालिकाले खजनपुर सहकारी संस्था छनोट गरेको थियो ।

उक्त सहकारीलाई कार्यक्रम सञ्चालनका लागि पालिकाले कार्यादेश दिएको थियो । स्रोतका अनुसार कार्यक्रमको कुल बजेट २५ लाख थियो । जसमा १५ लाख भैंसी वितरणका लागि र अन्य रकम औषधि, च्याप कटर, दूध राख्ने भाँडो, घाँसको बीउ वितरणका लागि छुट्याइएको थियो ।

उन्नत जातको १ लाख ५० लाख पर्ने भैंसी वितरण गर्नुपर्ने र त्यसका लागि ५० प्रतिशत रकम कार्यक्रमबाट र ५० प्रतिशत रकम किसान स्वयंले व्यहोनुपर्ने सम्झौता भएको थियो ।

तर, सहकारीले ६० देखि ७० हजार रुपैयाँमात्र पर्ने लोकल भैंसी भाडामा ल्याएर वितरण गरेको थियो । सहकारीले एक त भैंसी भाडामा ल्याएको थियो, त्यो पनि उन्नत जातको नभएर लोकल अन्दाजी ६०-७० हजार रुपैयाँमात्र पर्ने । यद्यपि जनप्रतिनिधि र कर्मचारी केही थाहा नभएको जस्तो गरेर सहकारीलाई भुक्तानी दिने प्रक्रियासमेत पुर्‍याएकाले उनीहरुको पनि अनियमितता गर्नमा संलग्नता रहेको आरोप लागेको छ ।

गाउँपालिका अध्यक्ष यादवले सहकारीले आफूहरुलाई झुक्याएर भाडामा ल्याएको भैंसी वितरण गर्न लगाएको बताए । उनले भने, ‘भैंसी वितरण कार्यक्रममा सहकारीले अनियमितता गर्न खोजेको थियो । तर, यो कुरा थाहा पाएलगत्तै भुक्तानी रोकेका छौं ।’

अध्यक्ष यादवले सहकारीसँग किसानहरु मिलेकाले आफूहरुसमेत झुक्किएको सुनाए । उनले भैंसी काण्डबारे सत्यतथ्य छानबिन गर्न समितिसमेत बनाएको र समितिले दिने प्रतिवेदनको आधारमा कानूनबमोजिम सहकारीमाथि कारबाही गरिने बताए ।

भैंसी वितरणमा भ्रष्टाचार गर्न खोजेको समितिको ठहर

भैंसीमा अनियमितता गर्न खोजेको विषयमा स्थानीय लक्ष्मी यादवसहितका युवाहरुले जनप्रतिनिधिलाई ध्यानाकर्षण गराएका थिए । उनीहरुले अनियमितता गर्न खोज्ने सहकारीलाई भुक्तानी रोकेर आवश्यक कारबाही गर्न पालिका अध्यक्ष शिवजी यादव, सम्बन्धित वडा ४ का अध्यक्ष सुरेन्द्र यादवलगायतलाई पटक पटक दबाब दिएका थिए ।

युवाहरुको निरन्तरको दबाबपछि पालिका अध्यक्ष यादवको अध्यक्षतामा असार ३० मा बसेको कार्यपालिका बैठकबाट कार्यपालिका सदस्य २ जना र पशु शाखा संयोजक रामस्वरुप यादव रहने गरी ५ सदस्यीय छानबिन समिति गठन भयो । समितिमा स्थानीय युवा दीपेन्द्र यादव र प्रदीप यादव सदस्य छन् ।

उक्त समितिलाई तीन दिनभित्र घटनास्थलमा पुगेर सत्यतथ्य छानबिन गरी प्रतिवेदन बुझाउने जिम्मेवारी दिएको थियो । जसअनुसार समितिले मंगलबार ९ पृष्ठ लामो प्रतिवेदन अध्यक्ष यादवलाई बुझाएको छ ।

उक्त प्रतिवेदनमा भैंसी वितरणमा खजनपुर सहकारी संस्थाले भ्रष्टाचार गर्न खोजेको ठहर गरेको छ । समितिले पालिका अध्यक्ष यादवसँग सहकारीलाई भुक्तानी रोक्न र कालोसूचीमा राख्न सुझाव दिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर