सिरहाको राजदेवी मन्दिरमा बलि चढाउनेको घुइँचो (तस्बिरहरू) – Nepal Press

सिरहाको राजदेवी मन्दिरमा बलि चढाउनेको घुइँचो (तस्बिरहरू)

जनकपुरधाम । सिरहाको लहान नगरपालिका १५ ढोढनास्थित राजदेवी मन्दिरमा पशुपक्षीको बलि चढाउनेको भीड लागेको छ ।

बोकाको बली चढाउन हजारौँ मानिस मन्दिर परिसरमा लाइन बसेका छन् । आज अत्यधिक गर्मी छ । चर्को घाममा मन्दिर परिसरमा बलि चढाउन श्रद्धालुहरू तँछाडमछाड गरिरहेका छन् । ठूलो संख्यामा सुरक्षाकर्मी र स्वयंसेवक परिचालन गरिएको छ ।

मन्दिर रहेको ढोढना गाउँ थारु समुदायको बाहुल्य छ । यो मन्दिर लहान बजारबाट करिब ७ किलोमिटर उत्तरमा पर्छ । लहान बजारदेखि मन्दिरसम्म श्रद्धालुको भिडभाड छ ।

मन्दिर क्षेत्रमा बिहानैदेखि विशाल मेला लागेको छ । मेला भर्न भारतको विहार र नेपालको विभिन्न जिल्लाबाट श्रद्धालु आउने गर्छन् ।

राजदेवी मन्दिर बाराको गढीमाई मन्दिरपछि दोस्रो धेरै संख्यामा बलि दिइने मन्दिरको रूपमा लिने गरिन्छ । मेला समितिका तेजनारायण चौधरीका अनुसार यस मन्दिरमा पशुपंक्षीको बलि दिएर राजदेवी माताको भाकलअनुसार पूजाअर्चना गरेपछि सन्तान प्राप्ति, रोग व्याधिबाट मुक्ति र मनोकांक्षा पूरा हुने विश्वास छ ।

मन्दिरमा बोका, पाठी, हाँस, परेवा, कुखुराको बलि चढाइन्छ । उनले भने, ‘प्रायः व्यक्तिले बोकाको बलि चढाउँछन् । कतिपयले परेवाको बलि पनि दिन्छ । भाकल गरेका धेरैले परेवा उडाउने गर्छन् ।’

बलि दिइएको पशुपंक्षीको रगतले मन्दिर परिसर रक्ताम्मे बन्छ । अचम्म के भने मन्दिर परिसर रक्ताम्मे बने पनि दुर्गन्ध आउँदैन । झिँगा पनि लाग्दैन । यसलाई राजदेवीको शक्ति रहेको मान्छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर