सारुक ताम्राकारको मृत्युबारे छानबिन गर्न कलाकार संघको माग – Nepal Press

सारुक ताम्राकारको मृत्युबारे छानबिन गर्न कलाकार संघको माग

काठमाडौं । अभिनेता सारुक ताम्राकारको मृत्युलाई लिएर भइरहेका सार्वजनिक टिप्पणीप्रति नेपाल चलचित्र कलाकार संघले चासो व्यक्त गरेको छ ।

संघको आइतबार बसेको कार्यसमिति बैठकले सदस्य ताम्राकारको मृत्युको विषयमा गहिरो छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न माग गरेको छ ।

अध्यक्ष मोहन निरौलाद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा सामाजिक सञ्जालमा पछिल्लो समय आएका अभिव्यक्तिको छानबिन गरी कोही दोषी देखिए सत्यतथ्य उजागर गरी कानूनको दायरामा ल्याउन माग गरिएको छ ।

सामाजिक सञ्जालमा केही दिनदेखि ताम्राकारको निधनलाई लिएर निर्देशकलगायतले भनेका भनाइहरु सार्वजनिक भइरहेका छन् । कलाकार र अन्य प्रयोगकर्ताले सामाजिक सञ्जालमार्फत पनि घटनाको छानबिन गरी यथार्थ पत्ता लगाउन माग राखेका छन् ।

सारुक असार २१ गते राति रातोपुलस्थित घरमा मृत भेटिएका थिए ।

मालीगाउँ प्रहरी वृत्तमा घटनाको यथार्थ पत्ता लगाउन माग गर्दै उनको मृत्युपछि आफन्तले निवेदनसमेत दिएका छन् । जसअनुसार प्रहरीले सारुकले प्रयोग गर्दै आएको मोबाइल अनुसन्धानका लागि लिएको छ ।

सिनेमाका लागि भनेर निर्माताले कलाकारका लागि बुढानीलकण्ठमा घर समेत भाडामा लिएका थिए । उक्त घरलाई अहिले प्रहरीले सिल गरेको छ । सारुक मृत्युअघि राजीव गुरुङले निर्देशन गरिरहेको सिनेमा ‘ह्यासट्याग माया’को छायांकनमा व्यस्त थिए । यो सिनेमामा नम्रता श्रेष्ठ र रोयदीप श्रेष्ठ पनि मुख्य कलाकारको रुपमा थिए ।

अभिनेता सानुकुमार ताम्राकारका छोरासमेत रहेका सारुकले रानी, मेरी मामु र इन्टुमिन्टु लण्डनमा लगायतका सिनेमामा अभिनय गरेका छन् ।


प्रतिक्रिया

One thought on “सारुक ताम्राकारको मृत्युबारे छानबिन गर्न कलाकार संघको माग

Leave a Reply

Your email address will not be published. Required fields are marked *