घनश्यामको प्रतिवेदन- गठबन्धनमा निर्भर हुँदा पार्टीप्रति आकर्षण घट्यो, सानो मेहनतले फर्किँदैन (पूर्णपाठ) – Nepal Press

घनश्यामको प्रतिवेदन- गठबन्धनमा निर्भर हुँदा पार्टीप्रति आकर्षण घट्यो, सानो मेहनतले फर्किँदैन (पूर्णपाठ)

यस्तो छ घनश्यामले देखेका नेकपा एसका ११ चुनौती

काठमाडौं । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले पार्टीसामु ११ चुनौती औंल्याएका छन् । जारी केन्द्रीय समितिमा पेश परेको संगठनात्मक प्रतिवेदनमा उनले एमालेबाट विद्रोह गरेपछि पार्टी संगठन निर्माणमा देखिएको समस्याबारे उजागर गरेका हुन् ।

प्रतिवेदनमा भनिएको छ, ‘पार्टी निर्माणका बाह्य चुनौतीको समीक्षा गरेर मात्रै हाम्रो कार्यभार ठीकसँग निर्क्यौल हुन सक्दैन । संगठन निर्माणमा हामीले आज सामना गरिरहेका आन्तरिक समस्याहरूका बारेमा यथार्थपरक भएर छलफल गर्नु पनि उत्तिकै क्रान्तिकारी काम हो । आजको सङ्गठनका समस्याबारे छलफल गर्दा ती समस्या कुन परिस्थतिले उत्पन्न गर्‍यो भन्नेबारे छलफल गर्नु आवश्यक छ ।’

नवौँ महाधिवेशनले पारित गरेको विचार तथा सिद्धान्तविपरीत कित्ताबाट नेतृत्वको निर्वाचन गरेपछि एकपछि अर्को समस्या थपिँदै गएर दुर्घटना भएको उनको निचोड छ । एमाले अध्यक्ष ओलीलाई संकेत गर्दै भुसालले नेतृत्वले पार्टीलाई विचारहीन बनाउँदै लगेको उल्लेख गरेका छन् ।

प्रतिवेदनमा उनले भनेका छन्, पार्टीमा वैचारिक-सैद्धान्तिक छलफल हराउँदै गयो । राजनीतिमा व्यक्तिवादी अवसरवाद र सङ्गठनमा गुटबन्दी बढ्दै गयो । राजनीति र सङ्गठनका समस्या नै पार्टीमा मुख्य बन्दै गए । अर्थात् विचार-सिद्धान्तका बहस तथा छलफल परिपक्व भएर त्यसले राजनीतिक र साङ्गठानिक रूप लिन नपाउँदै विद्रोहका रूपमा हाम्रो पार्टी गठन भयो । संसद विघटनपछि तीव्र भएको राजनीतिक अन्तरविरोध विकसित हुँदै जाँदा हामीले नेकपा (एकीकृत समाजवादी) को स्थापना गर्‍यौँ । जसले गर्दा विद्रोहमा सामेल भएको ठूलो पङ्तिले हाम्रा वैचारिक तथा सैद्धान्तिक दिशाले कस्तो राजनीतिक निर्णय र सङ्गठनको माग गर्छ भन्ने बुझ्न सकेन ।

पार्टी केन्द्रको स्थापनापछि देशव्यापी राजनीतिक प्रशिक्षण र सङ्गठन निर्माणमा सम्पूर्णरूपले केन्द्रित हुन नसकेको उनले बताएका छन् ।

यी हुन् महासचिव भुसालले औंल्याएका समस्या

-एकै समयमा देशैभरी कमिटीहरू बनाउनु पर्ने अवस्थामा कसलाई कुन जिम्मेवारी दिने भन्ने मापदण्ड बनाउँदा विद्रोहको बेला देखिएको तात्कालिक सक्रियतालाई ध्यान दिनु स्वाभाविक थियो । तर विद्रोहको समयको सक्रियता विचार, सिद्धान्त र राजनीतिक तथा साङ्गठानिक योग्यता र अनुभवविना लामो समय टिकाउन सजिलो हुँदैन । विद्रोहलाई व्यवस्था र विधिमा ढाल्नु पर्ने अवस्थामा ती कमजोरीहरू विभिन्न क्षेत्रमा देखिँदै गएका छन् । त्यसले गर्दा कतिपयमा कमिटीमा नकारात्मक प्रभाव परेका छन् ।

– नेकपा एमालेमा रहेको गुटबन्दीले किनारामा परेका कार्यकर्ताहरूको ठूलो संख्या हाम्रो पार्टीमा आएको थियो । लामो समयसम्म उपयुक्त जिम्मेवारीमा नहुँदा त्यसमध्ये कैयौँ कमरेडहरूको क्षमताको स्तर वर्षौँ पुरानो छ तर अहिले उहाँहरू पार्टीको महत्वपूर्ण जिम्मेवारीमा हुनुहुन्छ । जिम्मेवारी र क्षमतामा तालमेल नहुँदा माथिल्लो पद र हैसियतमा रहेका कैयन्कमरेडहरूले साङ्गठानिक जिम्मेवारी पूरा गर्न नसक्ने अवस्था देखिएको छ ।

-तुलनात्मकरूपले कनिष्ठ तर सक्रिय वा जिम्मेवारी पाउँदा धेरै काम गर्न सक्ने नयाँ तथा नौजवान कमरेडहरू र तुलनात्मक रूपले पुराना तर जिम्मेवारीअनुसार सक्रिय हुन नसकेका कमरेडहरूका बीचमा हुने अन्तरविरोधहरूले पनि माथिदेखि तल्ला कमिटीहरूमा समस्या देखिएका छन् ।

-हामीले पार्टीको निर्माण माथिबाट गर्नुपर्ने थियो । धेरैजसो कमिटीहरू सम्पूर्णरूपले नयाँ बनाउनु पर्ने थियो । तर, कसलाई कुन पद वा जिम्मेवारी दिने वा को कुन कमिटी वा कुन पदमा रहने भन्ने कुनै वस्तुगत आधार उपलब्ध थिएन । जसले गर्दा व्यक्तिको मूल्यांकन मनोगत हुने अवस्था आयो ।

-निर्वाचनमा उम्मेदवारी र राजनीतिक नियुक्तिमा माथिल्लो कमिटीमा रहेकाहरूले प्राथमिकता पाउने परिपाटी सबैजसो पार्टीमा छ, जुन एक हिसाबले स्वाभाविक पनि हो । त्यसको समाधान लोकतान्त्रिक पद्धतिको अभ्यास र त्यस क्रममा स्थापित मापदण्डबाट हुन्छ । तर हाम्रो पार्टीले त्यस्तो अभ्यास शून्यबाट सुरू गर्नुपर्ने भएको हुँदा माथिल्लो कमिटी वा पदमा पुग्नका लागि हुने प्रतिस्पर्धालाई अझै व्यवस्थित गर्न सकिएको छैन ।

-पार्टी स्थापनाको समयको राजनीतिक तथा संवैधानिक आवश्यकताले हामी चुनावसम्मै जानेगरी गठबन्धन सरकारमा सामेल भयौँ । उक्त गठबन्धनमा बढि निर्भरता हुँदा पार्टी निर्माणको काम ओझेलमा पर्ने अवस्था आयो । स्थानीय र संघीय निर्वाचनमा हामीले अपेक्षित उपलब्धी हासिल गर्न सकेनौँ । जसले गर्दा पार्टीमा उर्जा र आकर्षण कम हुँदै गयो । त्यसलाई चिरेर नयाँ ऊर्जा सिर्जना गर्न अझै धेरै परिश्रम गर्नु पर्नेछ ।

-पार्टीको निर्माण माथिबाट गरिएको हुँदा समस्याको जरो पनि माथि नै थियो । सङ्गठनको माथिल्लो तहमा नै समस्या भएपछि तल्ला कमिटीहरूलाई जनवादी केन्द्रीयताअनुसार सञ्चालन गर्न कठिनाइहरू छन् ।

-एउटा राम्रो पार्टी अनेकौँ कामहरूको एउटा सिङ्गो प्रणाली हो । प्रणाली सुचारु नहुँदासम्म कमिटीमा व्यक्ति हावी हुने अवस्था आउँछ । हाम्रो पार्टी प्रणाली निर्माणकै क्रममा छ । त्यसैले कमिटी र पद्धतिमाथि व्यक्ति र तदर्थवाद हावी हुने अवस्था अझैसम्म कायम छ ।

-पार्टीमा रहेका उपरोक्त समस्याहरूको नकारात्मक प्रभाव जनसङ्गठनमा पर्नु स्वाभाविक छ । केही जनसङ्गठनहरूले सन्तोषजनक काम गरेका छन्, केही औपचारिकरूपमा चलेका छन् भने अरु समस्याग्रस्त छन्। सबैभन्दा चलायमान युवा र विद्यार्थीलाई जुन महत्वका साथ सञ्चालन गर्नुपर्थ्यो त्यो सकिएको छैन । आजको राजनीति र समाजका जटिलतालाई बुझ्न र चिर्न सक्ने युवा तथा विद्यार्थीहरूको राष्ट्रव्यापी परिचालनविना पार्टीलाई अगाडि बढाउन असम्भवजस्तै कुरा हो । यसमा हाम्रा गम्भीर कमजोरी रहेका छन् ।

-संसद र संविधानको रक्षाका लागि उभिएको हुँदा राजनीतिक चेतना भएको जमात र सञ्चारमाध्यममा हाम्रो पार्टीप्रति पर्याप्त आकर्षण थियो । तर, पार्टीमा विद्यमान साङ्गठानिक तथा राजनीतिक कमजोरीहरूले गर्दा त्यो आकर्षण क्रमशः कमजोर हुँदै गएको छ ।

-सरकार र संसदमा हाम्रो उपस्थितिलाई मुलुकले एउटा क्रान्तिकारी विद्रोही पार्टीको रूपमा हेरेको थियो । यसबारे पार्टी नेतृत्वमा बेलाबेलामा गम्भीरतापूर्वक छलफल भएका छन् । तर, संसद र सरकारमा पार्टीको अपेक्षित भूमिकालाई हामीले अझैसम्म स्थापित गर्न सकेका छैनौँ ।

यस्तो छ घनश्यामद्वारा बैठकमा प्रस्तुत संगठनातमक प्रस्ताव-


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर