प्राध्यापक गुप्तोको ‘संस्कृति चिन्तन’ बजारमा – Nepal Press

प्राध्यापक गुप्तोको ‘संस्कृति चिन्तन’ बजारमा

काठमाडौं । प्रा.डा.अरुण गुप्तोको संस्कृति दर्शन सम्बन्धी निबन्धसंग्रह ‘संस्कृति चिन्तन’ सार्वजनिक भएको छ । शनिबार काठमाडौंमा लेखक तथा प्रध्यापकद्धयक अभी सुवेदी र सञ्जीव उप्रेती तथा समालोचक एवं निबन्धकार कुमारी लामाले संयुक्त रुपमा पुस्तक सार्वजनिक गरेका छन् ।

कार्यक्रममा बोल्दै लेखक सुवेदीले संस्कृतिको ‘टाइम फ्रेम’ नहुने बताउँदै पहिरन, संरचना, बनावट, रङ, ध्वनि र कालिक चेतनामा संस्कृति बाँचिरहने बताए । यसैगरी उप्रेतीले राज्यले खस संस्कृतिलाई राष्ट्रिय संस्कृति भनेर स्थापित गर्नु गम्भीर त्रुटी भएको आशय व्यक्त गरे ।

पछिल्लो समय समृद्धि र सहरीकरणको बहस भइरहेको र पूर्वाधार निर्माण नै विकास हो भन्ने भाष्य स्थापित हुँदै गएकोमा आपत्ति जनाउँदै उनले भने, ‘समृद्धिको बहसबारे विश्वभर विवाद छ । समृद्धि कसका लागि ? समृद्धिसँग विकास जोडिएको हुन्छ, विकास कसका लागि ? जीडीपी बढ्नुलाई मात्रै विकास मान्ने कि ह्याप्पिनेसलाई ?’

समालोचक लामाले सहर परिवर्तनशील भएको, तर स्मार्ट सहर नभई सांस्कृतिक सहर निर्माण गर्नुपर्ने बताइन् ।

गुप्तोले आफू कलाको पाटोबाट संस्कृति चिन्तन बढी गर्ने बताए । आफूले संस्कृतिलाई लेखका रुपमा नभई निबन्धका रुपमा प्रस्तुत गर्नुको कारणबारे गुप्तोले भने, ‘कलाले प्रश्न गर्छ, समालोचना गर्छ, धम्की दिन्छ । कलाको बाटोबाट हिँड्दा यसबाट मुक्त हुन सकिन्छ । त्यसैले कलाको बाटो लिएर संस्कृतिबारे लेख्छु ।’

संस्कृति चिन्तक तथा अध्येता गुप्तोको नेपाली भाषामा प्रकाशित पहिलो पुस्तक ‘संस्कृति चिन्तन’ लाई इन्डिगो इन्कले प्रकाशन गरेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *