‘नवीन राप्रपा’ को कार्ययोजना घोषणाः युवा-महिलालाई पार्टीमा महत्वपूर्ण हिस्सा, नेताहरू भूगोलमा खटिने – Nepal Press

‘नवीन राप्रपा’ को कार्ययोजना घोषणाः युवा-महिलालाई पार्टीमा महत्वपूर्ण हिस्सा, नेताहरू भूगोलमा खटिने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले ‘नवीन राप्रपाको कार्ययोजना’ सार्वजनिक गरेका छन् । आज आयोजित पत्रकार सम्मेलनमा उनले पार्टीको सबलीकरणका लागि ६ महिने अभियानको समेत घाषणा गरे ।

राप्रपाको केन्द्रीय कार्यसम्पादन समिति तथा पदाधिकारी बैठकले ‘नवीन राप्रपा’ सम्बन्धी प्रतिवेदन पारित गरेका थिए । उक्त प्रतिवेदनले पार्टीमा थुप्रै संरचनात्मक तथा अवधारणागत परिवर्तनको प्रस्ताव गरेको छ । आजैबाट प्रतिवेदन कार्यान्वयनमा गएको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

राप्रपाले अब पार्टीका सबै तहमा ३३ प्रतिशत महिलाको उपस्थिति सुनिश्चित गर्ने भएको छ । ६ महिनाभित्रैमा यो लक्ष्य हासिल गरिने लिङदेनले बताए । यसैगरी, पार्टीका सबै तहमा ४० प्रतिशत युवाको अनिवार्य सहभागिताको व्यवस्था मिलाउन केन्द्रीय कार्यसमितिमा ४० र कार्यसम्पादन समितिमा कम्तीमा ७ जना युवाहरूको प्रतिनिधित्व गराइने भएको छ । राप्रपाले ४० वर्ष मुनिका पुरुष वा महिला नेताहरूलाई युवाका रूपमा परिभाषित गरेको हो ।

अर्को महत्वपूर्ण परिर्वतन भनेको उम्मेदवार छनोट प्रक्रियामा गरिएको छ । राप्रपाले विवभिन्न तहमा उम्मेदवार बनाउँदा ५० प्रतिशत प्राइमरी छनोट प्रक्रिया अपनाउने भएको छ । यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीले प्राइमरी छनोट प्रक्रियालाई व्यवहारमा अवलम्बन गरिसकेको छ ।

राप्रपाले पार्टीका करिब ९०० जना नेतालाई एकैसाथ संगठन विस्तारका लागि भूगोल केन्द्रित जिम्मेवारी प्रदान गरेको छ । केन्द्र, प्रदेश, जिल्लास्तरीय नेता तथा जनवर्गीय संगठनका प्रतिनिधिहरूले भूगोलको जिम्मेवारी पाएका हुन् । एकैसाथ ७५३ वटा स्थानीय तह र ६,७४३ वटा वडा तथा प्रवासमा समेत यो जिम्मेवारी तोकिएको छ । भूगोलमा जिम्मेवारी प्राप्त नेताहरूले आफूलाई तोकिएको भूगोलमा ६७ महिनासम्म तोकिएअनुसार संगठन विस्तार र सुदृढीकरणका काम गर्नुपर्ने छ । अध्यक्ष राजेन्द्र लिङदेन स्वयम्‌ले धरान उपमहानगरपालिकाको जिम्मेवारी पाएका छन् ।

यसरी भूगोलमा जिम्मेवारी प्राप्त नेताहरूले आफूलाई तोकिएको भूगोलमा ६ महिनासम्म तोकिएअनुसारको संगठन विस्तार र सुदृढीकरणका काम गर्नुपर्नेछ । यसअन्तर्गत राजसंस्था, हिन्दूराष्ट्र र संघीयता सम्बन्धित पार्टीको अवधारणालाई जनसमक्ष पुर्‍याउने बताइएको छ । तोकिएको भूगोलको जिम्मेवारीमा नजाने नेता स्वतः पदीय जिम्मेवारीबाट मुक्त हुने लिङदेनले बताए ।

भूगोलकेन्द्रित जिम्मेवारीमा रहेका नेताहरूले आफ्नो दैनिक क्रियाकलाप विद्युतीय माध्यमबाट सचिवालयमा नियमितरूपमा पेश गर्न निर्देश गरिएको छ । ६ महिनापछि भूगोलको जिम्मेवारी भने हेरफेर हुनेछ ।

भूगोलकेन्द्रित जिम्मेवारीमा रहेका नेता तथा विभिन्न तहका कार्यसमितिका क्रियाकलापको समन्वय तथा अनुगमनका लागि सातवटै प्रदेशमा संयोजक तथा सह संयोजकको व्यवस्था मिलाइएको छ ।

राप्रपाले अब विद्युतीय माध्यमबाटै साधारण, सक्रिय सदस्य बन्नसकिने तथा आर्थिक सहयोग पनि गर्न सकिने व्यवस्था मिलाएको छ । एक वर्षभित्रमा सक्रिय सदस्य संख्या दुई लाख पुर्‍याउने लक्ष्यसहित यो व्यवस्था गरिएको हो । ६ महिनाभित्रमा १६५ निर्वाचन क्षेत्रसम्म प्रशिक्षण कार्यक्रम सम्पन्न गर्ने पनि पार्टीको योजना छ ।

राप्रपाले सरकारी वेतनधारीहरूको भ्रातृ संगठनलाई शुभेच्छुक संगठनमा परिणत गर्ने भएको छ । विधार्थी संगठनलाई राजनीतिक कम शैक्षिक बढी क्रियाकलापमा संलग्न गराइने पार्टीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर