दुई वर्षअघि बर्दीमै मदिरा चोर्दा निलम्बनमा परेका थिए प्रहरी जवान राय, उन्मत्त व्यवहार देखाउँदा अहिले हतकडी (भिडिओ) – Nepal Press

दुई वर्षअघि बर्दीमै मदिरा चोर्दा निलम्बनमा परेका थिए प्रहरी जवान राय, उन्मत्त व्यवहार देखाउँदा अहिले हतकडी (भिडिओ)

जनकपुरधाम । जिल्ला प्रहरी कार्यालय सिरहामा कार्यरत प्रहरी जवान अन्नुकुमार रायलाई पछाडि हात बाँधेर ‘यातना दिएको’ भिडिओ सामाजिक सञ्जालमा भाइरल भयो । मधेश प्रदेश प्रहरीले यस विषयमा छानबिन गर्न ५ सदस्यीय छानबिन टोलीसमेत बनाएको छ ।

अनुशासनविपरीतका क्रियाकलाप गरेपछि जिल्ला प्रहरी कार्यालयमा नै उनलाई हतकडी लगाएर राखिएको थियो । उनलाई थप यातना भने नदिइएको जिप्रकाको भनाइ छ ।

राय विवादित पृष्ठभूमि भएका प्रहरी जवान हुन् । उनले अनुशासन उल्लंघन गरेका कारण दुई वर्ष अगाडिसमेत कारबाही भोगेका थिए । प्रहरी बर्दीमा नै उनले मदिरा पसलबाट मदिरा चोरी गरेको भिडिओ सार्वजनिक भएको थियो । त्यसपछि उनी निलम्बनमा परेका थिए । जिल्ला प्रहरी कार्यालय सिरहा स्रोतकाअनुसार लहान नगरपालिका २२ गढिया चोकस्थित पूजा होटल एवं एसके मदिरा पसलबाट ‘भोड्का’ को बोतल चोरी गरेको आरोपमा उनीसहित तीनजना प्रहरीलाई निलम्बन गरिएको थियो ।

भिडिओ:

घटना विवरणअनुसार ०७८ जेठ ९ गते स्थानीय मदिरा पसलमा केही व्यक्ति मदिरा खाएर होहल्ला गरिरहेका थिए । उनीहरूलाई नियन्त्रणमा लिन ईलाका प्रहरी कार्यालय लहानबाट तीनजना प्रहरी सो पसलमा पुग्यो । प्रहरी पुग्नासाथ पसल सञ्चालक भागे । पसल सञ्चालक नदेखेपछि प्रहरी जवान रायसहितले भोड्काको बोतल झिकेर गोजीमा हालेका थिए ।

अनुसन्धानमा दोषी देखिएपछि ०७८ जेष्ठ १६ मा निलम्बनमा परेका रायलाई ०७८ साउन ७ मा २ ग्रेड घटुवासहित निलम्बन फुकुवा गरियो । त्यसको चार महिना नबित्दै उनले ०७८ कात्तिक ५ मा पहिलोपटक नसिहत पाएका थिए ।

अहिले फेरी उनी अनुशासनहीनताकै कारण विवादमा तानिएका हुन् । हात बाँधेर यातना दिएको उनको सार्वजनिक भिडिओबारे छानबिन गर्न प्रदेश प्रहरी कार्यालयले ज्ञानकुमार महतोको संयोजकत्वमा ५ सदस्यीय टोली बनाएको छ । छानविन टोलीले घटनाबारे अनुसन्धान सुरु गरिसकेको छ । सत्यतथ्य बाहिर आउन केही समय लाग्न सक्छ ।

तर सिरहाका प्रहरी प्रमुख एसपी टेकुनन्द इवा लिम्बूका अनुसार प्रहरी जवान राय स्वयम् दोषी छन् । रक्सी खाएर मनपरी गर्न थालेपछि हतकडी लगाएर नियन्त्रण गर्नुपरेको एसपी लिम्बूको भनाई छ ।

सिरहा प्रहरीले तयार पारेको रिपोर्टअनुसार ०८० असार २५ गते साँझ प्रहरी जवान रायले कमाण्डरलाई नभनी व्यारेक छाडेका थिए । नशा सेवन गरी सोही दिन कार्यालयमा आएपछि हवल्दार धर्मदेव यादवसँग उनले वादविवाद गरे । वादविवादका क्रममा हातपातको अवस्थासमेत सृजना भएपछि प्रहरी सहायक निरीक्षक इन्द्रजित ठाकुर, प्रहरी निरीक्षक हेमन्त राईसमेतले प्रहरी जवान रायलाई सम्झाइबुझाइ गर्ने प्रयास गरे । तर, प्रहरी जवान अपशब्द र गोलीगलौजमा उत्रे ।

‘उनी ‘मर्छु मर्छु’ भन्दै कार्यालयको गेटबाहिर करिब ५ सय मिटरसम्म भागे । सोक्रममा मोवाइल ड्यूटीमा रहेका प्रहरी जवान मिथिलेशकुमार यादवले बोकेको ३०३ लीईन्फिल्ड राइफलसमेत खोस्ने प्रयास गरे,’ जिल्ला प्रहरी कार्यालयको रिपोर्टमा उल्लेख छ ।

भाग्न खोजेपछि उनलाई ड्यूटीमा खटिएका प्रहरी सहायक निरीक्षक रमानन्द यादव कमाण्डको टोलीले नियन्त्रणमा लिई कार्यालयतर्फ ल्याउँदा असहज भएपश्चात उनलाई हत्कडी लगाएको रिपोर्टमा भनिएको छ ।

हतकडी लगाएको अवस्थामा सोधपुछ गरिरहेको बखतको भिडिओ सार्वजनिक भएको हो । उक्त भिडिओ कुनै प्रहरी जवानले नै मोवाइलमा कैद गरेका थिए । ती जवानले भिडिओ उपलब्ध गराएपछि रायले भाइ रजनीशलाई पठाए । र, रजनीशले नै दाई प्रहरी जवान अन्नुलाई यातना दिएको भन्दै न्याय माग्दै भिडिओ सेयर गरेको बुझिएको छ ।

उक्त भिडिओका कारण छानबिन टोली त गठन भयो । तर, अनुशासन उल्लंघन गरेको आरोपमा फेरि उनी नै कारबाहीमा पर्ने देखिएको छ ।


प्रतिक्रिया

One thought on “दुई वर्षअघि बर्दीमै मदिरा चोर्दा निलम्बनमा परेका थिए प्रहरी जवान राय, उन्मत्त व्यवहार देखाउँदा अहिले हतकडी (भिडिओ)

  1. चोरि गरे वापत कारबाहि भोगिसकेको रहेछ|अनि अहिले साना दर्जालाइ जे गर्दा पनि हुने जे आरोप लगाउदा पनि हुने होर?हतकडि लगाउनु पर्ने बुटैबुटले लात्तिले हान्नु पर्ने अनि अधिकृत बचाउन तेहि पिडित जवानलाइ आरोप लगाउन पनि पछि नहट्ने|हत्कडि लगाउनु को कारण हुन्छ होला नि अपराधि भाग्छ भन्ने मनसायले हत्कडि अपराधिलाइ लगाइन्छ होला |उ सिपाहि हो त्यो पनि वहालवाला कतै भाग्ने त थिएन होला हत्कि किन? शारिरिक यातना किन? मानसिक यातना किन? कुटपिट किन? मन्त्रिपरिषद् ले कारबाहि अगाडि बढाए हुन्छ|

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर