प्रहरी जवानलाई हात बाँधेर कार्यालयमै यातना (भिडिओ) – Nepal Press

प्रहरी जवानलाई हात बाँधेर कार्यालयमै यातना (भिडिओ)

यथार्थ बुझ्न डीआईजी पुगे सिरहा

जनकपुरधाम । जिल्ला प्रहरी कार्यालय सिरहामै एक प्रहरी जवानलाई हात बाँधेर यातना दिइएको छ ।

प्रहरी जवान अणु रायको हात पछाडिबाट बाँधिएको छ । सार्वजनिक भिडिओमा सादा पोशाकमा रहेका उनी रोइरहेको देख्न सकिन्छ ।

एक प्रहरी अधिकारीले ‘के खाएछस् ?’ भनेर गरेको प्रश्नमा बाँधिएका प्रहरी जवान राई जवाफ दिन्छन्, ‘केही खाको छैन ।’

उनले खोल्नुस्, यसरी यातना दिनुहुन्छ भने मर्छु पनि भनेका छन् ।

स्रोतका अनुसार उनलाई हात बाँधेर प्रहरी निरीक्षक हेमन्त राईले यातना दिएका हुन् ।

प्रहरी जवान रायका भाइ राजनीशले ड्युटी अधिक गराएको र गुनासो गरेकै कारण यातना दिएको आरोप लगाएका छन् ।

यता सिरहाका प्रहरी प्रमुख एसपी टेकनन्द इवा लिम्बूले प्रहरी जवान रायलाई यातना नदिएको दाबी गरे ।

उनले भने, ‘प्रहरी जवान राय चालक छन् । उनी लागुऔषध खायो कि के ? थाहा भएन । तर, नशामा जथाभावी गरेपछि नियन्त्रणमा लिएर हतकडी लगाएर सोधपुछमात्र गरिएको छ । यातना दिएको छैन ।’

नियन्त्रणमा लिन खोज्दा उनी भाग्न खोजेको भन्दै एसपी लिम्बूले भने, ‘जिल्ला प्रहरी कार्यालयदेखि ५ सय मिटर टाढाबाट नियन्त्रणमा लियौं । उनलाई नियन्त्रणमा लिनै गाह्रो भएपछि हतकडीमात्र लगाएको थियो ।’

प्रहरी जवान रायको स्वास्थ्य परीक्षण गराउँदा मदिरा सेवन गरेको पनि पुष्टि नभएको एसपी लिम्बूले बताए । उनले भने, ‘हतकडी लगाएर सोधपुछ गरिएको भिडिओ कसरी लिक भएको हो, थाहा भएन । यस विषयमा अनुसन्धान भइरहेको छ ।’

भिडिओ बाहिरिएपछि प्रदेश प्रहरी कार्यालयले पनि छानबिन सुरु गरेको एसपी लिम्बूले बताए । उनका अनुसार घटनाको छानबिनका लागि डीआईजी अहिले सिरहा आएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर