डिपेन्डेन्टमा क्यानडा पठाउने भन्दै ठगी, केटीको आवाजमा कुरा गर्ने युुवराज पक्राउ – Nepal Press

डिपेन्डेन्टमा क्यानडा पठाउने भन्दै ठगी, केटीको आवाजमा कुरा गर्ने युुवराज पक्राउ

काठमाडौं । डिपेन्डेन्टमा क्यानडा जान पाउने लोभमा दुईजना युवा केटीको आवाजमा बोल्ने युवकबाट ठगिएका छन् । काठमाडौं प्रहरीले संखुवासभाको चैनपुर स्थायी घर भई काठमाडौंको पुतलीसडक बस्ने २४ वर्षीय युवराज राउतलाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार युवराजले डा. एलिसा राउत नामको फेसबुक अकाउन्ट खोलेर २० देखि ३० वर्ष उमेरका युवाहरुलाई ठग्ने गरेका थिए ।

युवतीको नाममा नक्कली एकाउन्टबाट डिप‍ेन्डेन्टमा क्यानडा जान चाहनेले इनबक्समा म्यासेज गर्नु भन्दै स्टाटस लेखेपछि पीडितहरु युवराजको सम्पर्कमा पुगेको देखिएको छ । प्रहरीका अनुसार नक्कली अकाउन्ट भएका व्यक्तिसँग कुराकानी गर्दा युवती बोलेको र आफू हाल क्यानडामा रहेको बताएका थिए ।

युवतीको आवाजमा बोल्ने ती व्यक्तिले नेपाली मोबाइल नम्बर दिएर उनीहरुलाई सम्पर्क गर्नु भनेका थिए । त्यहीक्रममा युवतीको आवाजमा बोल्ने ती व्यक्तिले युवराज आफ्नो भाई भएको बताएका थिए ।

क्यानडा लैजाने प्रलोभनमा ती महिलाको आवाजमा बोल्ने व्यक्तिले भाई युवराजको जन्मदिन पार्टी गरिदिनु भनेका कारण पीडितले दरबारमार्गको एक रेस्टुरेन्टमा जन्मदिन पार्टी आयोजना गरिदिएको जाहेरीमा उल्लेख छ । त्यसयता केटी बनेर कुरा गर्ने व्यक्तिले भाइको नाममा १ लाख १९ हजार ५०० रूपैयाँ पनि जम्मा गर्न लगाएको पीडितकाे दाबी छ ।

त्यसपछि डा‌. एलिसा राउत भन्ने व्यक्ति सम्पर्क बाहिर भएपछि पीडितहरुले आफू ठगिएको चाल पाएका थिए । उनीहरुले युवराजसँग पैसा फिर्ता मागेका थिए । अनुसन्धान अधिकारीसँगको बयानमा युवराजले आफूले नै डा. एलिसा राउतको नाममा नक्कली अकाउन्ट खोलेको र केटी बनेर आफैं कुराकानी गर्ने गरेको बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर