भन्सारको कडाइले भारतीय बजार सुनसान, बौरिँदै नेपाली बजार (भिडिओ) – Nepal Press

भन्सारको कडाइले भारतीय बजार सुनसान, बौरिँदै नेपाली बजार (भिडिओ)

रुपन्देही । नेपाली उपभोक्तालाई लक्षित गरेर भारतको सीमावर्ती बजारमा खोलिएका पसलहरू नयाँ भन्सारमा गरिएको कडाइले सुनसान बन्दै गएका छन् ।

यसअघि उपभोक्ताले आवश्यक वस्तु सहजै भन्सारबिना ल्याउन पाउने विभिन्न नाकाहरूमा एक सय रुपैयाँभन्दा बढी सामग्रीको अनिवार्य भन्सार गराउन थालिएपछि सामान खरिदका लागि भारतीय बजार जानेहरूको संख्या पूरै हटेजस्तै भएको छ ।

एक सय रुपैयाँभन्दा बढीको सामान ल्याउँदा अनिवार्य भन्सार तिर्नुपर्ने नियम बनाएपछि राजश्व वृद्धि मात्रै भएको छैन नेपाली बजारमा उपभोक्ताको चहलपहल बढेको छ ।

भन्सार तिर्नुपर्ने नियमले देशकै दोस्रो ठूलो सीमा नाका बेलहियामा पहिलेको तुलनामा कम चहलपहल भइरहेको छ भने बजार गएकाहरूले पनि अनिवार्य भन्सार तिर्नुपर्दा उपभोक्ताबाटै दैनिक लाखौँ रुपैयाँ राजश्व संकलन हुन थालेको हो ।

नेपाली बजारलाई चलायमान बनाउन सीमावर्ती बजारमा भन्सार नीति कडा गर्नुपर्ने विषय व्यावसायिक संघसंस्थाले पटक पटक उठाउँदै आएपनि अहिले बल्ल कार्यान्वयनमा आएको छ । भन्सारमा गरिएको कडाइबाट रुपन्देहीका व्यापारी खुसी भएको र सरकारले अन्य खुला नाका कडाइका लागि बनाउन सहकार्य गर्ने प्रतिबद्धता जनाएका छन् ।

भन्सार नीति कार्यान्वयन हुँदा भिडभाड हुने सुनौली, नौतनहवा बजार सुनसान छन्। भारतीय व्यापारीहरू भने भन्सार नीति कार्यान्वयन नगराउन विभिन्न आन्दोलन तथा दबाबका कार्यक्रममा लागेका छन् ।

सीमा बजार बेलहिया, नौतनहवाका ९५ प्रतिशत ग्राहक नेपाली हुन्। तर भन्सार नीति कार्यान्वयन नगराउन भारतीय व्यापारीहरूले नेपालका लागि भारतीय राजदूतमार्फत नेपाल सरकारलाई लबिङ गरिरहेका छन् भने भारतीय नेताहरूमार्फत खुलाउन पहल गरिरहेका छन् ।

त्यति मात्र होइन उनीहरूले भन्सार नाका नै ठप्प गर्ने चेतावनी दिएर नेपाल सरकार तथा अन्य नियामक निकायलाई दबाब दिन थालेका छन्।

भैरहवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत मनिराम पौडेलले भन्सार नीति कार्यान्वयनबाट पछि नहट्ने बताएका छन्।

उनले उपभोक्ताबाट राजश्व लिने उद्देश्यभन्दा पनि नेपाली बजारमा उपभोक्ताले किनमेल गर्ने प्रवृत्तिलाई बढवा दिन नीति कार्यान्वयनमा लगिएको बताए।

भन्सार कार्यालयका सूचना अधिकृत युवराज भट्टराईले अहिलेको भन्सार कडाइले नेपाली उपभोक्तालाई सचेत बनाएको र नेपाली बजारलाई चलायमान बनाएको बताए । उनले यसबाट राजश्वमा पनि केही रकम थप हुने संकेत देखिएको बताए ।

‘उपभोक्ताले पहिले र अहिले तिर्ने भन्सारमा धेरै ठूलो फरक छ। तर त्यो मात्र हाम्रो लागि उपलब्धि होइन। नेपाली उपभोक्ताले नेपाली बजारमै किनमेल गरून् भन्ने हो। त्यसैले जो जहाँ पुगेर लबिङ नै गरे पनि यो कार्यान्वयनबाट हामी पछि हट्दैनौँ, भारतीय टोली पनि सहज बनाइदिनुपर्‍यो भनेर छलफलका लागि आएको थियो, हामीले यहाँ बनाएको नियम होइन, सरकारले बनाएको नीतिगत निर्णय कार्यान्वयन गरेका हौँ भनेर पठायौँ’, उनले भने।

भैरहवा भन्सार कार्यालयका अनुसार भारतबाट किनमेल गरेर फर्किनेहरूबाट अहिले दैनिक २ देखि ३ लाख रुपैयाँसम्म राजश्व संकलन भइरहेको छ। भन्सार नीति कार्यान्वयन नहुँदा २० हजार रुपैयाँ पनि यस्तो राजस्व संकलन हुने गरेको थिएन।

सुरुमा अलिक धेरै जनाहरू भारतीय बजार गएर आउँदा यो रकम संकलन भएपनि अहिले बिस्तारै घट्दै गएको छ । उपभोक्ताहरू भन्सार तिर्नुपर्ने भएपछि दैनिक बजार गर्न उता जाने धेरै कम भएको उनको भनाइ छ ।

सिद्धार्थनगर उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुरप्रसाद श्रेष्ठले नाकामा कडाइ हुँदा यसले सरकार र नेपाली व्यवसाय सबैलाई फाइदा पुगेको बताए। नीति कार्यान्वयन गर्न सरकारले कुनै पनि बहाना नबनाउन पनि आग्रह गर्दै अन्य खुला नाकामा कडाइ गर्न आग्रह गर्दै त्यसको लागि निजी क्षेत्रले सहकार्य गर्न तयार रहेको बताए ।

‘नेपाल सरकारले बनाएको नियम कार्यान्वयन गर्दा भारतमा विरोध भएर डराउनुपर्दैन, सरकारले आफ्नो नीति कार्यान्वयन गर्दा कसैसँग पनि डराउनुपर्दैन, अहिले केही अप्ठ्यारो आउन सक्छ। तर सरकार डराउनु हुँदैन, निजी क्षेत्रले पूरै साथ दिनेछ’, उनले भने।

भैरहवाका व्यापारी नेत्र प्रसाद आचार्यले भन्सारको कडाइले नेपाली उद्योगी व्यापारीलाई ठूलो मद्दत गरेको बताए ।

‘चोरी पैठारी गरेर कमाउन पल्केका केही व्यक्तिहरूले विरोध गरेको सुनेका छौँ, अधिकांश खुसी छन्, मुख्य नाकाबाट गरिएको कडाइ अब अन्य साना नाकामा पनि गर्नुपर्‍यो, नेपालीलाई चाहिने वस्तु नेपालमै किनेर यहीको बजार बिस्तार हुने हो, यहीको उपभोक्ताले यहीको व्यापारीसँग किन्दा ठगिने कुरा हुँदैन, त्यो विषय आम नागरिकलाई अझै बुझाउन जरुरी छ’, उनले भने ।

गत जेठ १६ गतेदेखि भैरहवा भन्सार कार्यालयले एक सय रुपैयाँभन्दा बढीको समान ल्याउँदा अनिवार्य भन्सार महसुल लिने व्यवस्था कार्यान्वयन ल्याएको हो। त्यसपछि भन्सारमा प्रज्ञापन पत्र भर्नेको संख्या पनि बढेको छ।

भन्सार कार्यालयका सूचना अधिकृत युवराज भट्टराईले भन्सार नीतिमा कडाइ गरेकाले स्थानीयले स्वतःस्फूर्त रूपमा प्रज्ञापन पत्र भरिरहेका बताए। अहिले भन्सार नाकाबाट कुनै पनि सर्वसाधारणलाई प्रज्ञापनपत्र नभरी घरायसी वा अन्य कुनै प्रयोजनका समान नेपाल ल्याउन नदिएको र त्यही कारण प्रज्ञापन पत्र भर्नेहरूको संख्या बढेको उनले बताए।

उनका अनुसार जेठ १६ देखि जेठ मसान्तसम्मको अवधिमा ३० हजार तीन सय ६६ जनाले प्रज्ञापनपत्र भरेर समान लिएका छन्। नीति कार्यान्वयन नहुँदा जेठ १ गते देखि १५ गतेसम्म जम्मा ३ सय ५७ जनाले मात्रै प्रज्ञापनपत्र भरेका थिए।

गत वर्षको जेठमा ३ सय ६ जनाले मात्रै प्रज्ञापनपत्र भरेर समान लिएका थिए। तर २०८० वैशाखमा भने १ हजार १ सय ८३ जनाले मात्र प्रज्ञापन पत्र भरेर सामान ल्याएका भन्सार कार्यालयको तथ्यांकमा छ।

रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्यालले मुख्य भन्सार नाका बेलहियामा भन्सारमा गरिएको कडाइलाई प्रशासनबाट पूर्ण साथ दिइएको बताए । उनले नेपाली उपभोक्ता र व्यवसायीलाई अवैधरुपमा ल्याइएको समान प्रयोग नगर्न र बिक्री वितरण नगराउन अझै बढी सचेत गराउनुपर्ने बताउँछन् ।

साना नाकामा छैन कडाइ

रुपन्देही जिल्लामा भारतसँग जोडिएको करिब ६० किलोमिटर खुला सीमा रहेको छ ।

बेलहिया नाकामा कडाइ गरिएपछि अहिले उपभोक्ताहरू अन्य साना नाकातर्फ केन्द्रित हुन थालेका छन्। अन्य नाकामा पनि कडाइ गरिएको बताइए पनि खुला सीमाका कारण सबै ठाउँमा रोक्न पर्याप्त कर्मचारी र सुरक्षा संयन्त्र छैन । खुला नाकाको फाइदा उठाउँदै केही व्यापारी तथा उपभोक्ताहरूले विना भन्सार नै सामान ल्याउने गरेका छन्।

सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुरकुमार श्रेष्ठले साना नाकाहरूमा पनि कडाइ गर्नेतर्फ सरकारले अझै कडाइका साथ संयन्त्र बनाउनुपर्ने बताउँछन् ।

‘मुख्य नाकालाई मात्र टार्गेट गरेर हुँदैन। अन्य खुला नाकाबाट पोके व्यापारी र उपभोक्तालाई पनि नियन्त्रण गरे मात्र मुख्य नाकामा कडाइ गरेको सार्थक हुन्छ, सीमामा कडाइ गर्ने काम प्रशासनको हो, हामीले के सहयोग गर्नुपर्छ तयार छौँ’, श्रेष्ठले भने।

अहिले पनि उपभोक्ता र पोके व्यापारीहरूले कदमहवा, बगौली, हरिनगढ, बंशी डिहवा, करौता, ठोठरी, तरैनी, खैराघाट, कञ्चनपुर, दुईमोहना, हर्दीडाली, बनगाई, सेमरपानी, भुजौली, पिपरहिया, केवटिलया, शंकरपुर, मेउडिहवा, नौडिहवा, बगहा, मैनिहवा, फरेनियालगायत नाकाबाट निर्बाध सामान ल्याइरहेका छन्।

यी साना नाकाबाट सामान ल्याउँदा कतिपयले प्रहरीलाई नै ‘सहयोगी’ बनाएको र कतिपय भारतीय व्यापारीले भारतीयलाई नै भैरहवा र बुटवलसम्म पुराउनेगरी जिम्मेवारी दिएर सामान पुराउने गरेको विषय बाहिर आएका छन् ।

जेठ २२ गते रुपन्देही भारतबाट भन्सार छली ल्याएको ११ लाख ४७ हजार रुपैयाँ बराबरको अवैध सामान बरामद गरेको थियो। प्रहरीले काठको ढोका ५ वटा, पेन्ट ९कलर० ३ बाल्टी ९५० लिटर० र टायल ४० पेटीसहित ७ लाख ७ हजार ७ सय रुपैयाँ बराबरको सामान बरामद भएको थियो भने सिद्धार्थनगर नगरपालिका आवारोडबाट ४ लाख ४० हजार रुपैयाँ बराबरको सामान बरामद गरेको थियो।

जेठ २५ गते रुपन्देही प्रहरीले भारतीय बजारबाट भन्सार छली गरी ल्याइएका विभिन्न कम्पनीका ८ लाख ३० हजार रुपैयाँ बराबरका ३७ थान मोबाइल बुटवल उपमहानगरपालिकास्थित राजमार्ग चौराहबाट बरामद गरेको थियो।

जेठ २८ गते मात्र प्रहरीले भारतीय बजारबाट भन्सार छलेर ल्याइएका ४ लाख ३२ हजार मूल्य बराबरका ३ सय ४० बोरा ५० केजीको युरिया मल लुम्बिनी सांस्कृतिक नगरपालिकास्थित खुनगाईबाट बरामद भएको थियो।

त्यस्तै जेठ मसान्तमा मात्र अवैध रूपमा भन्सार छलेर ल्याएको ७ लाख बराबरको ८५ पेटी टायल र मल गरी १४ लाख ९६ हजार ७ सय रुपैयाँ बराबरको सामान प्रहरीले बरामद गरेको थियो।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख एसपी भरतबहादुर विकले मुख्य नाकामा मात्र नभई अन्य साना नाकामा पनि प्रहरीले चेकजाँचलाई कडाइ गरेको बताए। सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्यालले खुला सिमाना धेरै भएको र प्रशासनको जनशक्ति कम भएकाले प्रहरी एक्लै मात्रले ६० किलोमिटर नाकामा पूर्णरुपमा रोक्न सक्ने अवस्था नरहेकोले निजी क्षेत्र, स्थानीय सबै मिलेर संयन्त्र बनाउनुपर्ने बताउँछन् ।

भारतीय बजारमा आन्दोलन

नेपाली उपभोक्ता लक्षित गरेर भारतीय सीमा बजारमा खोलिएका पसलमा ग्राहक जान छाडेपछि त्यहाँका व्यापारीले कर्मचारी कटौती गर्न थालेका छन् । सधैँ भिडभाड हुने सुनौलीको जैसवाल साडी सेन्टरमा सोमबार सुनसान थियो ।

सञ्चालक अमित जैसवालले भन्सारमा कडाइ गरेपछि बजार सुनसान भएको बताए । उनले घरायसी सामान रोकेर नेपालभारतको पुरानो सम्बन्धमा नराम्रो भएको बताए । यताका मान्छे र उताका मान्छेबीच रोटीबेटीको सम्बन्ध भएकाले घरायसी सामान रोक्न खोज्नु राम्रो होइन– उनले भने ।

अर्का व्यापारी विमित शर्माले खुला सीमा भएकाले साना सामानमा कडाइ गरेर दुःख दिन थालिएको बताए । अहिले भारतीय बजारमा लगानी गरेका व्यापारीले दिनहुँ आन्दोलन, प्रदर्शन गर्न थालेका छन् ।

नेपालसँग नाका सहज गर्न दबाब दिन उनीहरूले विभिन्न नेता तथा सरकारलाई भनिरहेका छन् । दुई दिनअघि व्यापारीको एक टोलीले भैरहवा भन्सार कार्यालय आएर नाका सहज बनाउन आग्रह गरेको थियो ।

उनीहरूले राजदूतमार्फत पनि दबाब दिएका छन् । भैरहवा भन्सार मात्रै नभएर देशभरका अन्य नाकामा पनि भन्सार कडाइ गरिए पनि ती क्षेत्रमा रहेका भारतीय व्यापारीले आन्दोलन थालेका हुन् ।

अहिले भारतीय बजारमा जाने नेपालीहरूमाथि पनि निगरानी बढी गरिएको छ भने नेपाली पत्रकारहरूलाई पनि सहजरुपमा फोटा भिडिया खिच्न र व्यापारीहरू प्रतिक्रिया दिन तयार छैनन् ।

स्थानीय मोजिब अलिले नेपाली उपभोक्ता आउन छाडेपछि भारतका बजारमा व्यापारीहरुले आन्दोलन थालेको र विरोधका विभिन्न शैलीहरू अपनाएको आफूले पाएको बताए ।

‘म सिमानाकामा छु, भारतीयहरू नेपालीलाई कमजोर बनाउन अनेक रणनीति बनाइरहेका छन्, मुख्य नाकामा कडाइ गरेपनि सहायक नाकाहरु तथा अन्य खुला क्षेत्रमा निर्वाधरुपमा भारतबाट सामानहरू आइरहेको छ, यसलाई कसरी रोक्ने ? कसले रोक्ने ? भन्ने प्रश्न खडा भएको छ’ उनले भने ।


प्रतिक्रिया

One thought on “भन्सारको कडाइले भारतीय बजार सुनसान, बौरिँदै नेपाली बजार (भिडिओ)

  1. प्रचण्ड काम्न थालिसके । पदको लोभ छ उनीलाई । अब राजदुतले एक फोन हानेपछि थर्रर भएर नाका खोलिदिन्छन् । भारतका व्यापारीको कुरा सुन्दा पनि कन्सिरी तात्छ । नेपालमा आउने सामानमा भन्सार लिदा रोटीबेटीको कुरा निकाल्ने ? जेमा पनि जोडने रोटीबेटी ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर