२५६८ औं बुद्धजयन्तीका लागि प्रधानमन्त्रीलाई निम्तो, विभिन्न देशका राजदूत पनि सहभागी हुने – Nepal Press

२५६८ औं बुद्धजयन्तीका लागि प्रधानमन्त्रीलाई निम्तो, विभिन्न देशका राजदूत पनि सहभागी हुने

रूपन्देही । लुम्बिनी विकास कोषले २५६८ औं बुद्धजयन्ती एवं लुम्बिनी दिवस मनाउन तयारी सुरु गरेको छ । जेठ १० गते परेको बुद्धजयन्ती एवम् लुम्बिनी दिवस समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रमुख आतिथ्यतामा गर्ने गरी तयारी तीव्र पारिएको छ ।

कोषका उपाध्यक्ष डा। ल्हारक्याल लामा (खेन्पो छिमे) ले प्रधान्मन्त्री प्रचण्डलाई भेट गरी औपचारिक रुपमा निम्ता दिएका छन् । उपाध्यक्ष लामाले प्रधानमन्त्रीसहित गृहमन्त्री रवि लामिछानेलाई समेत भेट गरी बुद्धजयन्तीका लागि निमन्त्रणा गरेको कोषका कार्यकारि सदस्य श्याम रोक्काले जानकारी दिए ।

टोलीमा कोषका कार्यकारिणी सदस्य श्याम रोक्का, वरिष्ठ निर्देशक ज्ञानिन राई, प्रशासन शाखाका नमराज अधिकारी सहभागी रहेका थियो ।
बुद्वजयन्ती एवम् लुम्बिनी दिवसलाई व्यवस्थित बनाउनका लागि कोषले संस्कृति, पर्यटन तथा नागरिक उड्डन मन्त्री हितबहादुर तामाङको अध्यक्षतामा ५६८ सदस्यीय मूल आयोजक समिति गठन गरिएको कोषका सदस्य सचिव सानुराजा शाक्यले जानकारी दिए । उनले कोषले बुद्धजयन्तीलाई उत्सवका रुपमा मनाउनका लागि ९ वटा विभिन्न उपसमितिहरु गठन गरिएको बताए ।

दिवसका अवसरमा प्रधानमन्त्री सहित, उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, गृहमन्त्री रवि लामिछाने, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङ एवं लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचन, विभिन्न देशका राजदुूत लगायतका उच्च ओहोदा व्यक्तिहरुलाई निम्ता गरिएको कोषले जनाएको छ ।

प्रत्येक वर्ष बैशाख शुक्ल पूर्णिमा दिन बुद्धजयन्ती एवम् लुम्बिनी दिवस मनाउने गरिन्छ । बृहत्तर लुम्बिनी क्षेत्र अन्तर्गत तिलौराकोट, रामग्राम र देवहदमा पनि विभिन्न कार्यक्रम गरी बुद्धजयन्ती मनाइँदैछ ।

बुद्धपूर्णिमालाई नेपालसहित बौद्ध राष्ट्रहरू भुटान, थाइल्याण्ड, म्यानमार, मंगोलिया, कम्बोडिया, श्रीलङ्का, लाओसमा राजकीय सम्मानका साथ मनाउँछन् । यस्तै नेपालसहित चीन भारत युरोप लगायतका देशहरूमा सम्मानको साथ मनाउने गरिएको छ । नेपामा तत्कालीन राजा त्रिभुवनले वि।स।२००६ साल जेठ ८ गतेदेखि सरकारी तवरबाट मान्यता दिएपछि नेपालमा रहेको लाखौ बौद्धमार्गी नेपालीले बुद्धजयन्ती मनाउन थालेका हुन् ।

लुम्बिनीमा विस २०५५ मा ऐतिहासिक प्रथम विश्व बौद्ध शिखर सम्मेलन भएपछि बुद्धजयन्तीकै दिन सरकारले लुम्बिनी दिवस पनि मानाउन थालेको हो ।

विभिन्न बौद्ध मुलुकहरूको विशेष पहलमा १९९९ देखि संयुक्त राष्ट्रसंघसमेत अन्तराष्ट्रिय रुपमै बुद्धजयन्तीलाई मान्यता प्रदान गरी ‘बैशाख डे’ का रुपमा विश्वभर रहेका आफ्ना सबै कार्यालयहरूमा बुद्धजयन्ती मनाउन बिदा दिँदै आएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर