चिरीबाबु भन्छन्- सबैले बालेनलाई पछ्याउनुपर्छ भन्ने छैन, ललितपुरमा हिन्दी फिल्म रोकिँदैन – Nepal Press

चिरीबाबु भन्छन्- सबैले बालेनलाई पछ्याउनुपर्छ भन्ने छैन, ललितपुरमा हिन्दी फिल्म रोकिँदैन

काठमाडौं । काठमाडौं महानगरपालिकाले आजबाट कुनै पनि भारतीय फिल्मको प्रदर्शनमा रोक लगाएको छ । दक्षिण भारतीय चलचित्र ‘आदिपुरुष’ को विवादलाई लिएर महानगरपालिकाका मेयर बालेन्द्र शाहले यो कडा कदम चालेका हुन् ।

तर, बालेनको निर्णयले काठमाडौंबाहिर प्रभाव नपर्ने भएकाले देशका अन्य स्थानमा भने निर्वाध रुपमा भारतीय फिल्म चलिरहेका छन् । काठमाडौं उपत्यकाभित्रकै ललितपुर र भक्तपुरमा पनि भारतीय फिल्ममाथि रोक लगाइएको छैन । ललितपुरका मेयर चिरिबाबु महर्जन आफ्नो महानगरमा हिन्दी फिल्ममाथि प्रतिबन्ध नलगाइने बताउँछन् ।

नेपाल प्रेससँगको कुराकानीमा महर्जनले काठमाडौंका मेयरले जे गरे, सबैले त्यसलाई नै पछ्याउनुपर्छ भन्ने आवश्यकता नरहेको बताए । आदिपुरुषले त्रुटि गर्‍यो भन्दैमा सबै हिन्दी फिल्म रोक्नु गलत भएको पनि उनको टिप्पणी छ ।

महर्जन भन्छन्, ‘हामीले भारतीय फिल्मलाई रोक लगाउने विषयमा कुनै छलफल गरेका छैनौँ । सबै हिन्दी फिल्मलाई रोक लगाउनुपर्ने आवश्यकता पनि छैन ।’

‘आदिपुरुष’ मा जानकीलाई भारतकी छोरी भनिएको संवाद सच्याइयो भने त्यो पर्याप्त हुने उनले बताए ।

‘त्यो मुभी चाहिँ बन्द होस । तर, अरू मुभी किन बन्द गर्नु ? उनले भने ।

तर राष्ट्रियतासँग जोडिएको विषयमा स्थानीय तहहरूले एउटै नीति अख्तियार गर्दा राम्रो हुन्थ्यो कि भन्ने प्रश्नमा महर्जनले जवाफ दिए, ‘बालेनले गरेको कुरा हामीले पनि गर्नै पर्छ भन्ने जरुरी छ र ? उहाँले गर्नुभयो, ठिक छ । सबैको आआफ्नो शैली हुन्छ । उहाँको शैली, स्टाइल र फर्म्याट हामीले फलो गर्नुपर्छ भन्ने कुनै पनि बाध्यता छैन ।’

महर्जनले ललितपुर महानगरले गरेका थुप्रै राम्रा कामहरूलाई बालेनले अनुसरण नगरेको बताए ।

‘हामीले साइकल लेन बनाइरहेका छौँ, उसले केही गरेको छैन । हामीले यहाँ स्मार्ट स्ट्रिट लाइटहरू यत्रतत्र राखिसक्यौँ, उसले केही पनि गरेको छैन । ग्रीनरीहरु मेन्टेन गरेका छौँ, अपांगतामैत्री बाटो प्रशस्त मात्रामा बनाएका छौँ । उसले त्यो केही गरेको छैन । अनि उसले गरेको कुरा चाहिँ हामीले गर्नै पर्छ भन्ने छ ?’

आफूलाई भारतीय फिल्म रोक्नका लागि जनदबाब नरहेको उनले बताए ।

‘तपाईँ नै पहिलो व्यक्ति हो मलाई यो विषयमा सोध्ने,’ महर्जनले भने, ‘एउटा पार्टिकुलर केसलाई लिएर अन्य हिन्दी मुभीहरू बन्द गर्नुपर्छ भन्ने मलाई लाग्दैन ।’

यो महानगरको क्षेत्राधिकारको विषय हो कि होइन भन्ने प्रश्नमा उनले प्रष्ट जवाफ दिएनन् ।

‘नेपालको एक किसिमको सीताको सन्दर्भमा जे कुरा भनिएको छ, त्यो करेक्सन हुनुपर्छ । त्योभन्दा बहकेका अन्य मुभी बन्द हुनुपर्छ भन्ने मान्यता म राख्दिनँ,’ उनले भने ।


प्रतिक्रिया

6 thoughts on “चिरीबाबु भन्छन्- सबैले बालेनलाई पछ्याउनुपर्छ भन्ने छैन, ललितपुरमा हिन्दी फिल्म रोकिँदैन

  1. नेपाल नगरपालिका फोरमको के अर्थ ? एउटा पालिकाको प्रमुखले रोक्ने अनि अर्कोले खुल्ला गर्ने ! यसको भित्रि रहस्य ?

    1. केन्द्रीय सरकारको कुरा एउटा एउटा मेयर वा अध्यक्ष ले गर्ने हो नेपालीमा ७०० भन्दा बढी अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकार हो र? होइन भने के का लागि भ्रम ? वाइयात विषयले फाइदा नेपालीलाई होइन विदेशीलाई हुने हो ।

      1. केन्द्रीय सरकारको कुरा , एउटा मेयर वा अध्यक्ष ले गर्ने हो ? नेपालमा ७०० भन्दा बढी स्थानीय तह छन सबैले स्व घोषणा गर्ने हो भने अन्तर्राष्ट्रिय मान्यता प्राप्त भएको सरकार हो र? होइन भने के का लागि भ्रम ? वाइयात विषयले फाइदा नेपालीलाई होइन विदेशीलाई हुने हो ।

  2. विनास काले विपरीत बुद्धि भनेको यही हो।

  3. विकासको कुरामा चिरिबाबुले धेरे गर्नुभएको छ, जुन चर्चाको विषय बन्दैनन्, जो कसैलाई प्रमाण चाहिन्छ एकचोटि काठमाण्डु र ललितपुर घुम्न आग्रह, अनि दुधको दुध पानीको पानी हुन्छ, ललिपुर विकास र सफाईको आधारमा कामपा भन्दा धेरै अगाडि रहेको छ । राष्ट्रयिताको सवालमा पहिला हामी आफै सक्षम हुनुपर्छ, दुनियाले हेप्ने हुनुहुदैन, आदिपुरुषको निर्देषकले नेपाल पहिले भारतकै अंश रहेको र सन १९०३-१९०४मा छुट्टिएको कुरा गरेका छन्, यसमा त कामपा मेयरको कुनै आपत्ति छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *