बाढीले १३ वटा जलविद्युत आयोजनाको अर्बौं क्षति, १८ जना बेपत्ता – Nepal Press

बाढीले १३ वटा जलविद्युत आयोजनाको अर्बौं क्षति, १८ जना बेपत्ता

काठमाडौं । असार १ र २ गते आएको बाढीले कोशी प्रदेशका संखुवासभा, ताप्लेजुङ र पाँचथर जिल्लामा निर्माणाधीन तथा निर्माण सम्पन्न भएका जलविद्युत आयोजनाहरुमा क्षति भएको छ ।

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) ले १५० मेगावाट क्षमताका १३ वटा जलविद्युत आयोजनामा बाढीले क्षति पुर्‍याएको जनाएको छ ।

‘बाढीले संखुवासभामा हेवा खोला, पिलुवा खोला र सवा खोला नदी बेशिनमा बनेका, अपर हेवा खोला ८.५ मेगावाट, हेवा खोला ४.५ मेगावाट, सुपर हेवा खोला ५ मेगावाट, अपर पिलुवा खोला ४ मेगावाट, डाउन पिलुवा ९.९ मेगावाट, पिलुवा खोला ५ मेगावाट र सवा खोला ४ मेगावाटलगायतका आयोजनाहरूमा क्षति पुर्‍याएको छ’, इप्पानले आज जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘सुपर हेवा खोलामा कार्यरत १८ जना मजदुर र कर्मचारी बेपत्ता भएका छन् । अहिलेसम्म ४ जना मृत फेला परेका छन् ।’

इप्पानका अनुसार ताप्लेजुङ र पाँचथर जिल्लामा इङ्गवा, इवा, काबेली र हेवा खोला नदी बेशिनमा बनेका आयोजनाहरु इगुवा खोला १० मेगावाट, इवा खोला १० मेगावाट, काबेली बी-१ २५ मेगावाट, काबेली बी-१ क्यासकेड १० मेगावाट, हेवा खोला ए १५ मेगावाट, हेवा खोला ५ मेगावाट, लोअर हेवा खोला २२ मेगावाटका आयोजनामा बाढीले क्षति छ ।

इप्पानका अध्यक्ष गणेश कार्कीले बाढीकाे कारण जलविद्युत क्षेत्रमा ठूलो क्षति भएको बताए । उनले भने, ‘१५० मेगावाट क्षमताका १३ वटा जलविद्युत आयोजनामा बाढीले क्षति पुर्‍याएको छ । अर्बौंको क्षति भएको छ । केही आयोजनाको सबै संरचना नै बगाएका छन् ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर