बुद्धिनारायण श्रेष्ठको प्रश्न- ‘अखण्ड भारत’को नक्सामा इतिहास देखाएको हो कि भविष्य ? – Nepal Press

बुद्धिनारायण श्रेष्ठको प्रश्न- ‘अखण्ड भारत’को नक्सामा इतिहास देखाएको हो कि भविष्य ?

‘प्रधानमन्त्रीको भारत भ्रमणमा कुरा उठाउनुपर्ने हो, तर सक्दैनन्’

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड जम्बो टीम लिएर भारत भ्रमणमा जाँदा नेपालमा भने भारतीय संसदमा राखिएको भनिएको ‘पौराणिक नक्सा’ ले हंगामा सिर्जना गरिरहेको छ । सञ्चारमाध्यममा आएको यो नक्सामा नेपालको लुम्बिनी र कपिलवस्तु भारतीय सीमाभित्र देखिन्छन् ।

संसद भवन जस्तो संवेदनशील स्थानमा राखिएको यस्तो नक्साले के कस्तो अर्थ र महत्व राख्छ ? नेपालमा विभिन्न कोणबाट विमर्शहरु भइरहेका छन् । भारतको हर्कत आपत्तिजनक रहेको भन्दै नेपालले प्रतिवाद गर्नुपर्ने आवाज जबरजस्त रुपमा उठिरहेको छ भने अर्काथरिले यो राजनीतिक वा प्रशासनिक नक्सा नभएकाले आत्तिनु नपर्ने पनि बताइरहेका छन् ।

सीमाविद् बुद्धिनारायण श्रेष्ठ चाहिँ भारतको नक्साभन्दा नियत महत्वपूर्ण रहेको बताउँछन् । यो नक्सामार्फत भारतले आफ्नो इतिहासलाई देखाउन खोजेको हो कि भविष्यको लक्ष्य प्रस्तुत गरेको हो भन्ने उनको प्रश्न छ ।

नेपाल प्रेससँगको कुराकानीमा श्रेष्ठले भने, ‘लुम्बिनी भारतमा कतै पनि छैन । सञ्चारमाध्यममा आएको नक्सामा लुम्बिनी र कपिलवस्तु भनेर बकाइदा उल्लेख गरिएको छ । नेपालको मात्र होइन, पाकिस्तानको तक्षसिला क्षेत्र पनि नक्सामा अंकन गरिएको छ । यो स्वाभाविक होइन ।’

उनले कथित ‘अखण्ड भारत’ को अवधारणामा ब्रिटिशको धङधङी रहेको बताए ।

श्रेष्ठले भने, ‘अंग्रेजको पालामा पनि अखण्ड भारत भनेर नक्साहरु निकालिएका थिए । त्यसबेला पाकिस्तान, बंगलादेश, श्रीलंका, म्यानमारदेखि थाइल्याण्डसम्ममा ब्रिटिश उपनिवेश थियो । ती सबैलाई समेटेर नक्साहरु जारी भएका थिए । त्यसैको धङधङी अहिले भारतीय संस्थापनमा देखियो ।’

उनले यदि इतिहासमात्र दर्शाउन खोजेको भए त्यसमा नेपालले टाउको दुःखाउनु नपर्ने बताए ।

‘उनीहरुले आफ्नो इतिहासको मानचित्र देखाएका हुन् भने ठूलो कुरा भएन । तर, भविष्य देखाउन खोजेका हुन् भने आपत्तिजनक हुन्छ । यसबारे प्रस्ट पार्न नेपालले माग गर्नुपर्छ’, श्रेष्ठले भने ।

प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणमा यो नक्साको विषयमा पनि कुरा हुनुपर्ने उनी बताउँछन् ।

‘कुरा त नेपालले उठाउनुपर्ने हो । तर, प्रचण्डले यति हिम्मत गर्छन् जस्तो लाग्दैन’, उनले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर