बुद्ध एयरको शेयरमा दाजुभाइको किचलो, ४० प्रतिशतको हिसाब नदिएको शिवेन्द्रको गुनासो – Nepal Press

बुद्ध एयरको शेयरमा दाजुभाइको किचलो, ४० प्रतिशतको हिसाब नदिएको शिवेन्द्रको गुनासो

काठमाडौं । बुद्ध एयरका शेयरहोल्डरमध्येका एक शिवेन्द्रबहादुर बस्नेतले आफूले हिसाब नपाएको भन्दै पत्रकार सम्मेलन गरेका छन् ।

बुबाको मृत्यु भएपछि ४० प्रतिशतको शेयरको हिसाब नदिएको भन्दै उनले गुनासो गरेका हुन् ।

दाजु वीरेन्द्रसँग एयरको हिसाब खोज्दा नदिएको उनको भनाई छ । बुद्ध एयरलाई पत्र लेख्दा अब साधारणसभापछि दिने भनेर भनेको बताए ।

कामको सिलसिलामा अमेरिकामा बसोबास तथा व्यवसाय सञ्चालन गर्न थालेपछि बुद्ध एअरमा आफ्नो प्रत्यक्ष संलग्नता नरहेको उनको भनाई छ ।

‘एअरलाइन्समा बुबा सुरेन्द्रबहादुर बस्नेतको ८० प्रतिशत शेयर स्वामित्व र दाजु वीरेन्द्रबहादुर बस्नेतको नाममा २० प्रतिशत शेयर कायम थियो । पछि बुबाले आफ्नो नाममा रहेको ८० प्रशित शेयर मध्ये ४० प्रतिशत दाजु वीरेन्द्र बहादुर बस्नेतसहित उहाँको परिवारका सदस्यको नाममा र बाँकी ४० प्रतिशत शेयर मेरा परिवारका सदस्यको नाममा गरिदिनुभएपछि पछिल्लो समय वीरेन्द्र बहादुर बस्नेतको ६० प्रतिशत र मेरो परिवारका सदस्यका नाममा ४० प्रतिशत शेयर स्वामित्व रहेको छ’, उनले विज्ञप्तिमा भनेका छन् ।

‘कम्पनीमा ४० प्रतिशत शेयरको प्रतिनिधित्व गर्ने शेयरधनीहरुको तर्फबाट अख्तियार प्राप्त गरि म शिवेन्द्र बहादुर बस्नेतले बुद्ध एअर प्रा.लि.ले गरिरहेका काम कारबाही, यसको आर्थिक हिसाब किताब हेर्ने तथा यसका योजनाहरूका बारेमा जान्ने र संस्थाको छविलाई अझै कसरी माथि उठाउन सकिन्छ भनेर यसको वास्तविक अवस्थाका बारेमा बुझ्ने खोज्ने काम भयो । यसको लागि ४० प्रतिशत शेयर स्वामित्वको अख्तियार प्राप्त व्यक्तिको नाताले कानून बमोजिम लिखित रुपमा सम्बन्धित कागजात माग्ने काम भयो । तर, हाम्रो त्यो माग अनुरुप कम्पनीबाट कुनै आधिकारिक हिसाब किताब दिइएन । उल्टै हिसावकिताब माग्न थालेपछि विभिन्न बहानामा ४० प्रतिशतको हिस्सेदारमाथि नै विभिन्न आरोप लगाउन थालियो । फलस्वरुप ४० प्रतिशतको हिस्सेदारको अख्तियारप्राप्त व्यक्तिलाई कम्पनीको कार्यालयमा जान समेत दिइएन’, शिवेन्द्रले भनेका छन् ।

शिवेन्द्रले पत्रकार सम्मेलनमा सार्वजनिक गरेको विज्ञप्ति र शेयर विवरण

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर