नेपाली टीमको बोल्ड डिसिजन, गुल्शन झाको डेलिभरी – Nepal Press
एसीसी प्रिमियर कप

नेपाली टीमको बोल्ड डिसिजन, गुल्शन झाको डेलिभरी

घरेलु मैदानमा अजेय बन्दै टीम नेपाल, वर्ल्डकप क्वालिफायर र एसिया कपमा के गर्ला ?

काठमाडौं । चिर प्रतिद्वन्द्वीसँगको भिडन्त, फाइनलको दबाब र प्रतिकूल कन्डिसन । दोस्रो ओभरमै नेपालले ओपनर कुशल भुर्तेललाई गुमायो । यूएईका आयान अफजल खानले उनलाई एलबीडब्लू धरापमा पार्दै त्रिवि मैदानमा रहेका हजारौं समर्थकलाई स्तब्ध बनाए ।

क्रिकेटमा कहिलेकाहीं झिनो लक्ष्यले पनि ठूलो तनाव दिन्छ । ‘इन फर्म’ नेपाली टीमका लागि ११८ रनको लक्ष्य मामुली थियो । तर, खराब मौसम र ओसिलो पिचमा ब्याटिङ सहज भएन । यूएईले नेपालविरुद्ध सुरुमै स्पिनर उतार्ने सही रणनीति लियो । र, उसलाई चाहेजस्तै सफलता पनि प्राप्त भयो । आयान फैजल खान, रोहन मुस्तफा र बसिल हमिदले सुरुवाती ओभरहरुमा नेपाललाई अत्याए ।

२२ रनमै तीन विकेट गुमाउँदा नेपाली खेमामा त्रास छाउन थालेको थियो । तर, लामो ब्याटिङ पङ्क्ति भएकाले ‘होपलेस’ भइहाल्ने अवस्था थिएन । नेपाललाई चाहिएको थियो, एउटा काउन्टर अट्याक, एउटा साझेदारी ।

पहिलो विकेट गिरेपछि नेपालले तेस्रो नम्बरमा पठाउने गरेका नियमित ब्याट्सम्यान थिए भीम सार्की । तर, सबैलाई आश्चर्यमा पार्दै क्रिजमा आए अलराउन्डर गुल्शन झा । तल्लो क्रममा ब्याटिङ गर्ने उनलाई वान डाउनमै पठाउनु नेपाली टीमले जुवा खेले बराबर थियो । तर, प्रशिक्षकको यही ‘बोल्ड डिसिजन’ आज नेपालका लागि ‘मास्टरस्ट्रोक’ सावित भयो । गुल्शनले टीमलाई चाहिएको बेला डेलिभरी दिएका छन् ।

गुल्शन नेपालको प्लेइङ ११ को नियमित सदस्य होइनन् । खासमा उनलाई फास्ट बलरको रुपमा टीममा समावेश गरिएको हो । तर, बलिङमा उनले अहिलेसम्म उल्लेख्य प्रदर्शन गर्न सकेका छैनन् । फलतः टीममा उनको स्थान धरमर छ ।

नेपालका लागि एसीसी प्रिमियर कपको फाइनलमा गुल्शनलाई प्लेइङ सेटमा समावेश गर्दा नै प्रश्न उठेको थियो । यसकारण कि दीपेन्द्र ऐरी जस्ता स्थापित खेलाडीलाई हटाएर उनलाई राखिएको थियो । गुल्शनलाई राखिनुको प्रमुख कारण भने उनले विश्वकप लिग– २ को अन्तिम खेलमा यूएईविरुद्ध गरेको ब्याटिङ हो । यूएईले दिएको ठूलो लक्ष्य पछ्याउने क्रममा गुल्शनले कठिन समयमा आएर अविजित अर्धशतक बनाएका थिए ।

आज फेरि यूएईविरुद्ध गुल्शनले साहसिक इनिङ खेले । नेपाली टीमलाई २२ रनमै ३ विकेट गुमाएको अवस्थाबाट उनले उद्धार गरे । उनले आफूलाई ‘बिग म्याच प्लेयर’ को परिचय दिएका छन् । कम्तिमा यूएई टीम चाहिँ उनको नामबाटै झस्किने छ ।

गुल्शनले आज अर्को इन्डमा भने जस्तो साथी पाएका थिए, भीम सार्कीको रुपमा । उनीहरु दुवैको खेल्ने स्टाइल फरक फरक छ । गुल्शनको ब्याटिङमा आक्रामकता छ भने भीमको ब्याटिङमा संयम । गुल्शनले यूएईमाथि काउन्टर अट्याक गरिरहँदा भीम प्रत्यक्षदर्शी बनेर बसे । केवल क्रिजमा टिकेर उनलाई साथ दिए ।

बलिङको कुरा गर्दा नेपालका लागि फाइनलमा सबैभन्दा धारिला देखिए, ललितसिंह राजवंशी । उनको बलिङले नै नेपालको जीतका लागि आधारशीला बनाइदिएको थियो । प्रतियोगिताभर उत्कृष्ट बलिङ गरिरहेका राजवंशीले फाइनलमा त्यसको उत्कर्ष नै देखाए ।

तर, नेपाल जीततर्फ लम्किन थालेपछि एक समय यस्तो आयो, जतिबेला गुल्शन एकाएक ‘नर्भस’ देखिए । अर्धशतक नजिक पुग्दा उनले लगातार फल्स सटहरु खेल्न थालेका थिए । फलस्वरुप उनको ब्याट नै रोकिए झैं भयो । व्यक्तिगत ४९ रनको स्थितिमा गुल्शन लगातार १२ वटा बलमा बिट भएका थिए । थुप्रै कडा अपिलहरुबाट जोगिएका थिए ।

गुल्शनले संघर्ष गरेको यो समयमा भीमले अग्रसरता लिए । उनले आफ्ना सटहरु खेल्न थाले । एउटा रिभर्स स्वीपसमेत गरे । फलतः गुल्शनको ब्याट रोकिँदा पनि नेपालको स्कोरबोर्ड रोकिएन ।

५० रन कटाएपछि फेरि गुल्शन लयमा फर्किए । अर्धशतक बनाउनुअघि ४ छक्का र ३ चौका हानेका उनले त्यसपछि फेरि दुई छक्का थपे । नेपालका लागि विजयी रन पनि उनले नै हाने ।

सबैखाले विशेषताहरुले सुसज्जित नेपालको ब्याटिङ पङ्क्तिमा गुल्शन अर्का सिक्स हिटरका रुपमा उदाएका छन् । यद्यपि, उनले ब्याटिङमा सुधार गर्ने ठाउँहरु धेरै छन् । उनी स्पिनरहरुमाथि जति हावी हुन सक्छन्, फास्ट बलरमाथि सक्दैनन् । बाउन्ड्री नआइरहँदा स्ट्राइक रोटेटमा उनले अझै ध्यान दिनुपर्ने देखिएको छ । आजको म्याचमा उनले अनगिन्ती डट बल खेलेका थिए ।

गुल्शनले टीममा आफ्नो स्थान मजबुत बनाउन भने बलिङमा निखार ल्याउनैपर्छ । फाइनल खेलमा उनले तुलनात्मक रुपमा राम्रो बलिङ गरे । तर पनि लाइन र लेन्थमा कन्ट्रोल अझै पनि थिएन । उनले सटिकता र गति दुवैमा धेरै काम गर्नुपर्नेछ ।

बलिङको कुरा गर्दा नेपालका लागि फाइनलमा सबैभन्दा धारिला देखिए, ललितसिंह राजवंशी । उनको बलिङले नै नेपालको जीतका लागि आधारशीला बनाइदिएको थियो । प्रतियोगिताभर उत्कृष्ट बलिङ गरिरहेका राजवंशीले फाइनलमा त्यसको उत्कर्ष नै देखाए । ७.१ ओभर बलिङ गर्दा केवल १४ रन खर्चिंदै ४ विकेट लिएका थिए राजवंशीले । फाइनलमा उनले नेपालका स्टार स्पिनर सन्दीप लामिछानेलाई नै छायाँमा पारेका छन् ।

नेपाली क्रिकेट टीमले यतिबेला स्वप्निल उडान भरिरहेको छ भन्दा फरक पर्दैन । एकै वर्ष विश्वकपको ग्लोबल क्वालिफायरमा र एसिया कपमा छनोट हुनु चानचुने उपलब्धि होइन । तर, यही नै नेपालको गन्तव्य पनि होइन ।

त्यसो त समग्र प्रतियोगिताको विश्लेषण गर्ने हो भने फेरि एकपटक सन्दीप लामिछाने नै नेपालका सबैभन्दा ठूला ‘म्याच विनर’ सावित भए । उनी कुनै पनि खेलमा विकेटविहीन रहेनन् । आफ्नो स्वभावअनुसार उनले हरेक खेलमा नेपाललाई चाहिएको बेला ‘ब्रेक थ्रु’ दिलाएका छन् । पछिल्लोपटक सन्दीपले विकेट नलिएको म्याच कुन थियो भनेर सम्झिन पनि गाह्रो पर्ने अवस्था आइसकेको छ ।

अहिले त उनको ब्याटबाट पनि अपेक्षा राख्न थालिएको छ । कतारविरुद्धको म्याचमा सन्दीपले नै नेपाललाई लज्जास्पद स्कोरबाट जोगाएका थिए । यसअघि विश्वकप लिग- २ मा पनि पटक पटक उनले आफ्नो ब्याटिङ क्षमता देखाइसकेका छन् ।

कुनै समय थियो, यूएई भनेपछि नेपाली टीम यत्तिकै तर्सिन्थ्यो । जसरी भारतसँग नेपालको फुटबल टीम तर्सिन्छ । नेपालको थुप्रै यात्रामा यूएई तगारो बन्दै आएको छ । तर, त्यही यूएई अब नेपाल भनेपछि तर्सिने दिन आएको छ । ब्याटिङ र बलिङ दुवैमा यूएई नेपालभन्दा पछि परिसकेको प्रतित हुन्छ ।

घरेलु मैदानमा त नेपाल ‘अजेय’ नै देखियो । अब कुनै पनि एसोसिएट टीमले नेपालकै मैदानमा नेपाललाई हरायो भने त्यसलाई ‘सेटब्याक’ मानिने छ । घरेलु मैदानमा खेलेका पछिल्ला १३ खेलमा नेपालले हारको सामना गरेको छैन । प्रायः म्याचहरुमा फराकिलो जीत निकालेको छ ।

नेपाली क्रिकेट टीमले यतिबेला स्वप्निल उडान भरिरहेको छ भन्दा फरक पर्दैन । एकै वर्ष विश्वकपको ग्लोबल क्वालिफायरमा र एसिया कपमा छनोट हुनु चानचुने उपलब्धि होइन । तर, यही नै नेपालको गन्तव्य पनि होइन । कप्तान रोहित पौडेलले भने झैं यात्रा त बल्ल सुरु भएको छ । विश्वकप क्वालिफायर र एसिया कपमा नेपालले क्रिकेटका शक्ति राष्ट्रहरुसँग भिड्ने अवसर पाएको छ । यी दुवै प्रतियोगिता नेपालका लागि अति महत्वपूर्ण छन् ।

त्यसो त सेप्टेम्बरमा हुने भनिएको एसिया कप अहिलेसम्म अन्योलमा नै छ । आशा राखौं, यो प्रतियोगिता रद्द नहोस् र नेपालले भारत र पाकिस्तान जस्ता राष्ट्रहरुसँग मुकाबिला गरेर आफ्नो क्षमता देखाउन सकोस् । जीतको आशा राख्नु बढी महत्वाकांक्षी सुनिएला । तर, नेपालले क्रिकेटको मैदानमा कुनै पनि राष्ट्रलाई टक्कर दिनसक्ने खुबी र आत्मविश्वास देखाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *