बारा २ : महागढीमाईको भोटले उपेन्द्रलाई ब्रेक लगाएर बाजी मार्ने जनमतको आश – Nepal Press

बारा २ : महागढीमाईको भोटले उपेन्द्रलाई ब्रेक लगाएर बाजी मार्ने जनमतको आश

जसपा प्रवक्ता मनिष सुमन भन्छन्- अब कसैको गढ छैन, हाम्रो जित निश्चित

जनकपुरधाम । बारा २ सत्तारुढ गठबन्धनका उम्मेदवार जसपा अध्यक्ष उपेन्द्र यादवले अग्रता कायमै छ । मतगणनाको सुरुवाती चरणमा उम्मेदवार यादव र जनमतका शिवचन्द्र कुशवाहाबीच कडा प्रतिस्पर्धा देखिएको थियो । तर, पछिल्लो अपडेटअनुसार यादवले ४ हजार ५७३ मत ल्याएर लिड गरेका छन् ।

यादवले १३ हजार ८०४ मत ल्याउँदा जनमतका कुशवाहाले ९ हजार २३१ मत ल्याएर पछ्याइरहेका छन् । त्यहाँ एमालका पुरुषोत्तम न्यौपानेले ४ हजार ५७७ मत ल्याउँदा रास्वपाका रमेश खरेलले २ हजार ३१ मत ल्याएर चौथो स्थानमा छन् ।

पछिल्लो मतपरिणमाको रुझान हेर्दा जसपा अध्यक्ष यादव जित्ने सम्भावना देखिन्छ । जसपा प्रवक्ता मनिष सुमन पनि अध्यक्ष यादवको जित निश्चितजस्तै भएको दाबी गर्छन् ।

उनले भने, ‘अहिले करिब ५ हजार मतान्तरले अगाडि छौं । अब गन्न बाँकी ठाउँमा पनि हामी कमजोर छैन। त्यसैले हाम्रो जित्ने आधार बनियो छ ।’

जनमतको अझै ‘कोर एरिया’ बाँकी छ भन्ने चर्चा छ नि ? भन्ने नेपाल प्रेसको प्रश्नमा उनले भने, ‘अब कसैको गढ भन्ने छैन । अहिले हामीलाई जुन रेसियोमा मत आएको छ । सबैतिर उत्तिकै आउँछ । त्यसैले अहिले पाँच हजारले लिड गरेको हुँदा जितमा शंका गर्नुपर्ने ठाउँ छैन ।’

तर, जनमत पार्टीका उम्मेदवार कुशवाहा पनि अझै आशा मारिसकेका छैनन् । अहिलेसम्म सुवर्ण गाउँपालिका र करैयामाई गाउँपालिकाको मतगणना सकिएको छ ।
गत वैशाखमा सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा सुवर्ण गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा कांग्रेसले जितेको थियो । भने करैयामाईमा जसपाबाट निर्वाचित अध्यक्ष र उपाध्यक्ष । त्यसैले यी दुई पालिकामा उम्मेदवार यादव अगाडि देखिएको जनमतका नेताहरूको तर्क छ ।

जसपा अध्यक्ष यादवलाई कांग्रेस, माओवादी केन्द्र, लोसपा र नेकपा एसको पनि साथ भएकाले यी दुई पालिकामा अगाडि भएको जनमतका नेताहरुको बताउँछन् । अहिले गढीमाई नगरपालिकाको मतगणना सुरू भएको छ ।

यो नगरपालिकाको मतगणना सुरू भएपछि आफ्नो पार्टीको उम्मेदवार अगाडि बढ्ने जनमत पार्टीका नेता बीपी साहको विश्वास छ ।

उनी भन्छन् ‘यहाँ २१ हजार मत खसेको छ । जसमध्ये करिब ९/१० हजारको हाराहारीमा जनमत पार्टीमा परेको अनुमान छ ।’

महागढीमाई नगरपालिकामा अपेक्षाअनुसार मत खसेको भेटिए चुनाव जित्ने सम्भावना रहेको नेता साहको आँकलन छ ।

उनले भने, ‘यो नगरपालिकाको मत गणना भइसकेपछि मात्र को जित्छ भन्ने क्लियर हुन्छ। त्यसैले अहिले हामीले आश मारिसकेका छैनौँ ।’

महागढीमाई नगरपालिकापछि पचरौता नगरपालिका र देवताल गाउँपालिकाको मत गणना गर्न बाँकी रहन्छ । पचरौतामा जसपा र जनमतको करिब बराबर मत आउने र देवतालमा जनमतको मत बढी आउने पनि नेता साहको भनाई छ ।

‘चुनाव को जित्ने कुरा महागढीमाई नगरपालिकाकै मतले स्पष्ट हुन्छ’, उनले भने, ‘हेरौं के हुन्छ । तर हामी चुनाव जित्नेमा अझै आशावादी छौं ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर