प्रचण्डले आफैलाई धोका दिएका हुन, परिणाम केहि समयमा नै थाहा हुन्छ : महासचिव पोखरेल – Nepal Press

प्रचण्डले आफैलाई धोका दिएका हुन, परिणाम केहि समयमा नै थाहा हुन्छ : महासचिव पोखरेल

हेटौँडा । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा माओवादीका अध्यक्ष प्रचण्डले एमालेलाई नभइ आफैलाई धोका दिएको बताएका छन् ।

नेकपा एमालेको ‘मिसन ग्रासरुट’ अभियान अन्तर्गत शनिवार हेटौँडामा भएको प्रशिक्षण कार्यक्रमलाई सम्वोधन गर्दै महासचिव पोखरेलले प्रचण्डले माओवादीलाई धोका दिएको र त्यसको परिणाम केहि समयभित्रै थाहा हुने बताए ।

उनले भने, ‘अहिले कतिपयले भन्ने गरेका छन् अझ केहि एमालेका नेता कार्यकर्ताहरू पनि अन्योलमा छन्, कि प्रचण्डले एमालेलाई धोका दिए, तर त्यो अन्योलताबाट सबै मुक्त हुन जरुरी छ, प्रचण्डले एमालेलाई हैन, माओवादीले एमालेलाई हैन, उनीहरूले आफूलाई नै धोका दिएका हुन, त्यसको परिणाम अब केहि समयमा नै माओवादीले थाहा पाउँछ ।’

कार्यक्रममा बोल्दै पोखरेलले माओवादी नेतृत्वको सरकारले देशको अर्थतन्त्र सुधार गर्न नसक्ने बताए । माओवादी–कांग्रेस सरकारसँग अर्थतन्त्र सुधार गर्ने कुनै पनि कार्यक्रमहरू नरहेको भन्दै महासचिव पोखरेलले सरकारको कारण देशको अर्थतन्त्र डामाडोल बनेको बताए ।

एमाले सरकारमा रहेको समयमा बजार ‘गुल्जार’ हुने बताउँदै पोखरेलले यथास्थितिवादी सोच भएका पार्टीहरू मिलेर निर्माण भएको सरकारले देशमा परिवर्तन गर्न नसक्ने ठोकुवा गरे ।

राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरूको पछिल्लो हर्कतबारे महासचिव पोखरेलले ब्यङ्ग्य गर्दै भने, ‘हिजो अरूलाई प्रश्न गरेर नथाक्नेहरू आज आफूलाई आएको प्रश्नको सामना गर्न नसकेर भाग्नु परेको छ, यस्ता शक्तिबाट जनताले के आशा गर्ने ?’ नेपालमा कहिलेकाहीँ ‘स्याल हुइया’ चल्ने गरेको भन्दै उनले नयाँ राजनीतिक धारहरूबाट आशा गर्न सकिने ठाउँ नरहेको स्पष्ट पारे ।

उनले भने ‘ पाँच वर्ष अघि काठमाडाैंमा विवेकशील नामको एउटा राजनीति दलले मानिसहरूलाई केहि भ्रमित पारेको थियो, तर तिनै काठमाडाैंका जनताले पाँच वर्षमा नै उनीहरूको जमानत नै जफत पारिदिएको दृश्य हामीमाझ छ नि । ’

गत प्रतिनिधिसभा निर्वाचनमा मकवानपुरको एउटा क्षेत्र बाट कमल थापालाई उम्मेदवार बनाउनु उनले आफूहरूको नेतृत्वको सरकारलाई लगाएको गुण र राजतन्त्र छाडेर गणतन्त्रलाई स्वीकार गरेर आउनु रहेको महासचिव पोखरेलको भनाई रहेको थियो ।

उनले वर्षभरि एमाले हुने र चुनावको दिन पार्टीलाई मत नदिनेहरू पार्टीको संगठित सदस्य हुन नसक्ने भन्दै संगठित सदस्य बढाउने भन्दा पनि कटिबद्ध एमाले निर्माणको लागि मातहतका कमिटीलाई निर्देशन दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर