प्रकाशशरण महतलाई प्रश्न- राष्ट्रपति निर्वाचनअघि पाँच दलीय गठबन्धन ब्युँताउने तयारी हो ? – Nepal Press
नेपाल टक

प्रकाशशरण महतलाई प्रश्न- राष्ट्रपति निर्वाचनअघि पाँच दलीय गठबन्धन ब्युँताउने तयारी हो ?

‘माधवजीलाई एमालेले राष्ट्रपतिमा गरेको प्रस्ताव कतिको सिरियस हो, हेर्दैछौं’

काठमाडौं । राष्ट्रपति निर्वाचनको मिति नजिकिएसँगै राजनीतिक माहोल गर्माएको छ । राष्ट्रपति निर्वाचनमा निर्णायक रहेको नेकपा माओवादी केन्द्रले राष्ट्रिय सहमतिको अडान लिएपछि दलहरुबीच दौडधुप चलिरहेको छ ।

पुस १० गते प्रचण्ड नेतृत्वको सरकार गठनपूर्व सत्ता गठबन्धनमा राष्ट्रपति एमालेले पाउने सहमति बनेको थियो । त्यसअनुसार एमालेले राष्ट्रपतिमा आफ्नो उम्मेदवार उठाउने र उसलाई माओवादीले समर्थन गर्नुपर्ने अडान राख्दैछ ।

कांग्रेस आफ्ना उम्मेदवारलाई माओवादीले सघाउनेमा ढुक्क भएर बसेको छ । तर, प्रधानमन्त्री प्रचण्ड र ओलीबीचको छलफल सकारात्मक बन्न नसकिरहेको वेलामा आइतबार कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा र नेता कृष्णप्रसाद सिटौला बालुवाटार पुगेका थिए ।

औपचारिक रुपमा कांग्रेसको प्रस्तावपछि सोमबार प्रचण्डले पार्टी पदाधिकारी बैठक राखेर निर्णय गर्ने अधिकार आफैंले लिइसकेका छन् । एमालेले साथ छाडे पाँचै वर्ष प्रधानमन्त्री दिने आश्वासनसहित कांग्रेसले प्रचण्डलाई पुरानै गठबन्धनमा फर्काउने प्रयास गरिरहेको छ ।

यहीबीच विपक्षी गठबन्धनमा रहेका एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई ओलीले राष्ट्रपति दिएर पार्टी एकताको प्रस्ताव गरेको चर्चा पनि चलेको छ । राष्ट्रपति निर्वाचन र आगामी गठबन्धनको विषयमा केन्द्रित रहेर कांग्रेस प्रवक्ता प्रकाशशरण महतसँग गरिएको संक्षिप्त कुराकानीः

– एमालेले माधवकुमार नेपाललाई राष्ट्रपतिको प्रस्ताव गरेको चर्चा छ । त्यसलाई कांग्रेसले कसरी हेरेको छ ?

हामी अझै कांग्रेसकै राष्ट्रपति हुनुपर्छ भन्ने पक्षमा छौं । माधवजीलाई ओलीले राष्ट्रपतिको प्रस्ताव गरेको भन्ने कुरा कतिको सिरियस हो, त्यो विस्तारै थाहा होला । त्यस विषयमा हामीले राम्रोसँग बुझेका छैनौं । तर, हामी राष्ट्रपति कांग्रेसबाटै हुनुपर्छ भन्नेमा छौं ।

– कांग्रेसकै हुँदा निर्णायक रहेको माओवादीको साथ पाउने सम्भावना कतिको छ ?

उहाँहरु अहिलेसम्म सकारात्मक हुनुहुन्छ । त्यहीअनुसारको जवाफ पाएका छौं । सबै निर्णय गर्ने अधिकार पार्टी अध्यक्ष प्रचण्डजीलाई दिइसकेको छ । त्यो कहिले निर्क्योल गर्नुहुन्छ, उहाँहरुको कुरा हो । हेर्दै जाऔं ।

– कांग्रेसले कसलाई उम्मेदवार बनाउँदैछ ?

कांग्रेसमा उम्मेदवारको विषयमा कुनै समस्या छैन । अरु दलहरुको समर्थन पाउने स्पष्ट हुनासाथ हामीले उम्मेदवारबारे निर्णय गर्छौं । अहिले चर्चामा आएकाहरुमध्येबाटै एकजना हुनुहुन्छ ।

– पार्टी सभापति देउवाको नाम पनि चर्चामा छ नि ?

बाहिर अनेक चर्चा हुन्छन् । तर, उहाँ अहिले राष्ट्रपतिको उम्मेदवार बन्न इच्छुक हुनुहुन्न ।

– पाँच दलीय गठबन्धन ब्यूुताउने अन्तिम तयारीमा छौं भनेर महामन्त्री गगन थापाले भनिराख्नुभएको छ । तयारी त्यही हो अहिले ?

गगनजीले के आधारमा भन्नुभयो, त्यो उहाँ नै जान्नुहोला । तर, अहिले हामी राष्ट्रपति निर्वाचनको विषयमा केन्द्रित छौं । त्यसपछिको घटनाक्रम कसरी अघि बढ्छ, त्यहीअनुसार सरकार र गठबन्धन अहिलेकै हिसाबले जान्छ कि परिवर्तन हुन्छ भन्ने कुरा राष्ट्रपतिको निर्वाचनले नै निर्धारण गर्छ । अहिले भन्न सक्ने अवस्था छैन ।

– राष्ट्रपति निर्वाचनपछि पनि यही गठबन्धनले निरन्तता पाउने सम्भावना कांग्रेसले देखेको छ र ?

राजनीतिमा नभएसम्म केही पनि थाहा हुँदैन । सम्भावना त जे पनि हुनसक्छ । तर, हामीले अहिले गठबन्धन भत्काउनेबारे सोचेका छैनौं । राष्ट्रपतिको निर्वाचनमा मात्रै केन्द्रित छौं ।

– भनेपछि कांग्रेसले एमालेसँग पनि सहयोग माग्छ ?

हामी अहिले विभिन्न दलसँग छलफलमा छौं । हामी विपक्षी गठबन्धनको मात्रै नभएर एमालेको पनि समर्थन आओस् भन्ने चाहन्छौं । सबैको सहयोगमा राष्ट्रिय सहमति भयो भने राम्रो कुरा हो नि !


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर