सोच परिवर्तन नभएसम्म व्यवस्था परिवर्तन हुँदैन : ज्ञानेन्द्र शाही – Nepal Press

सोच परिवर्तन नभएसम्म व्यवस्था परिवर्तन हुँदैन : ज्ञानेन्द्र शाही

युवाको मुद्दा हजुरबुबा हजुरआमाले बोक्न सक्नुहुन्न : सोविता गौतम

सुर्खेत । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता एवम् प्रतिनिधिसभाका सदस्य ज्ञानेन्द्र शाहीले सोच परिवर्तन नभएसम्म कुनै पनि व्यक्तिले व्यवस्था परिवर्तन गर्न नसक्ने बताएका छन् ।

कर्णाली राजधानी सुर्खेतको वीरेन्द्रनगरमा आइतबार कर्णाली उत्सवमा शाही रुपान्तरण नभइकन पुस्तान्तरणको कुनै पनि काम नभएको बताएका हुन् ।

उनले व्यवस्था परिवर्तन भएन भने अवस्था परिवर्तन गर्न हुन नसक्ने तर्क गरे ।

‘व्यवस्था परिवर्तन भएन भने अवस्था परिवर्तन गर्न सकिन्न’, शाहीले भने, ‘त्यसैले व्यक्तिले अवस्था परिवर्तन गर्न सकिँदैन । अवस्थामात्रै परिवर्तन भएको भए यस्तो अवस्था हुँदैन थियो । युवालाई नेपालको राजनीतिमा स्वीकार गर्न सक्ने अवस्था नै छैन । त्यसैले, पहिले रुपान्तरण अनि बल्ल पुस्तान्तरण हुन्छ ।’ कुनै पनि व्यक्ति योजनाबिना राजनीतिमा नआउने बताउँदै शाहीले पहिले आफू सुर्खेत आउँदा मान्छेहरुले कुट्न आउने र पत्रकारहरुले क्यामेरा उल्टो फर्काएर बस्ने गरेको स्मरण गरे ।

‘कुनै पनि व्यक्ति योजनाबिना राजनीतिमा आउँदैन । मेरै उदाहरणलाई लिएर हेरे हुन्छ । म बोल्दै गर्दा कुट्न आउँथे, क्यामेरा उता फर्किन्थे । आज यही मञ्चमा उभ्याइदिनुभएको छ, यही हो रुपान्तरण भनेको,’ शाहीले भने, ‘सोचबिना र लक्ष्य बिनाको मान्छे त मान्छे नै होइन नि ।’

कार्यक्रममा रास्वपा नेतृ एवम् सांसद सोविता गौतमले आफूहरुको मूल एजेण्डा रुपान्तरण नै रहेको बताइन् । तर नयाँ रुपान्तरणलाई बोक्न सक्नेगरी नयाँ पुस्ता आउनुपर्ने तर्क उनको थियो ।

‘हाम्रो मूल एजेण्डा रुपान्तरण नै हो रुपान्तरणलाई बोक्ने फेरि नयाँ पुस्ता हो । रुपान्तरणलाई बोक्न पुस्ता आवश्यकता पर्छ,’ उनले भनिन्, ‘नेपालको अहिलेको जनसंख्याको ४२ प्रतिशत हिस्सा युवा पुस्ताले ओगटेको छ । युवाको मुद्दा हजुरबुबा हजुरआमा उमेर समूहकाले बोक्न सक्नुहुन्न । त्यसैले सुरुमा रुपान्तरण जरुरी छ, त्यसपछि बल्ल पुस्तान्तरण हुन्छ ।’ उनले अहिलेको युवा पुस्ताको विद्रोह पनि रुपान्तरणका लागि भएको बताइन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर