चक्रपथबाहिरको क्षेत्रमा मेलम्चीको पानी वितरण गर्न २४ अर्ब वित्तीय श्रोत आवश्यक – Nepal Press

चक्रपथबाहिरको क्षेत्रमा मेलम्चीको पानी वितरण गर्न २४ अर्ब वित्तीय श्रोत आवश्यक

काम नगर्ने चिनियाँ ठेकेदार कम्पनीबाट ८८ करोड फिर्ता

काठमाडौं । काठमाडौं खानेपानी आयोजना कार्यान्वयन निर्देशनालयका निर्देशक राजेन्द्र सापकोटाले काठमाडौं उपत्यकाको चक्रपथ बाहिरको क्षेत्रहरुमा मेलम्चीको पानी वितरण गरिदिन अत्याधिक माग आएको बताएका छन् ।

सोमबार आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले काठमाडौं उपत्यकाको चक्रपथ बाहिरको क्षेत्रहरुमा पनि मेलम्चीको पानी वितरण गरिदिन अत्याधिक माग आइरहेको र माग सम्बोधन गर्न अनुमानित २४ अर्ब बित्तीय श्रोत आवश्यक देखिएको बताए।

उनले काठमाडौं उपत्यकामा हाल नेपाल विद्युत प्राधिकरणबाट विद्युत लाइन भूमिगत गर्ने कार्य भइरहेको र कतिपय स्थानमा सडक साँघुरो हुँदा बिछ्याइसकिएको खानेपानीको पाइप तथा विद्युत लाइन भूमिगत गर्ने क्रममा आवश्यक सुरक्षित दूरी कायम हुन नसकेको बताए ।

उनले नयाँ पाइपलाइन बिछ्याएपछि पानी पठाउने क्रममा केही समस्या र चुनौतिहरु आएको बताए ।  मेलम्चीको पानी दोस्रो चरणमा नेपाल सरकारको आफ्नै श्रोतबाट चक्रपथभित्र बाँकी रहेका स्वयम्भू, बालुवाटार, महाराजगञ्ज, धुम्बाराही आदि स्थान र चक्रपथ बाहिरका मण्डिखाटार, कपन, चाबहिल, बौद्धको दक्षिणी भाग गरी करिव ८ सय किलोमिटर पाइपलाइन बिछ्याउने कार्य भइरहेको छ ।

यसमध्ये हालसम्म करिव ४३० किलोमिटर पाइपलाइन बिछ्याउने कार्य सम्पन्न भएको र बाँकी पाइपलाइन आगामी आर्थिक वर्षभित्र बिछ्याइ परीक्षण शुरु गर्ने लक्ष्य रहेको छ । चक्रपथ बाहिरका खुमलटार, ग्वार्को, नखिपोट, धापाखेल, सुनाकोठी, भैंसेपाटी, वागडोल, सूर्यविनायक, मुलपानी, इमाडोल, महालक्ष्मी, नागार्जुन नगरपालिका, धापासी, स्युचारटार लगायतका स्थानमा करिव १६ सय ५० किलोमिटर पाइपलाइनको सर्वेक्षण तथा डिजाइनको कार्य भइरहेको आयोजनाले जनाएको छ ।

उनले भने, ‘काठमाडौं उपत्यकामा विद्यमान खानेपानीको समस्या समाधान गर्नका लागि मेलम्चीको पानी सुन्दरीजल पानी प्रशोधन केन्द्रमा पथान्तरण हुँदा नयाँ थोक तथा वितरण सञ्जालमार्फत पानी वितरण गर्नका लागि आवश्यक खानेपानीहरुको संरचना निर्माण गर्ने काम भइरहेको छ । सुन्दरीजलदेखि चक्रपथ वरिपरि निर्माण भएका पानी पोखरीसम्म पु¥याउने करिव ७६ किलोमिटर थोक प्रणाली जसले २२ करोड लिटर प्रतिदिन पानी ल्याउन सक्छ । र ७४ हजार ५ सय घनमिटरको पानी पोखरीहरु १० वटा छ । निर्माण भएका पानी ट्याङ्की र पोखरीहरुको हामीले सफलतापूर्वक परीक्षण पश्चात मेलम्चीको पानी काठमाडौं उपत्यकामा अहिले वितरण भइरहेको छ ।’

पत्रकार सम्मेलनमा काठमाडौं उपत्यका खानेपानी लिमिटेडका प्रवक्ता प्रकाशकुमार राईले दोस्रो पटक मेलम्चीको पानी गत मंसिर २३ गते वितरण भएपछि लिमिटेडले राखेको रेकर्डअनुसार करिव ११ सय वटा चुहावट मर्मत गरेको बताए । उनले अहिले पनि पुरानो पाइपलाइनबाट नै पानी वितरण भइरहेको भन्दै पुरानो वितरण सञ्जाल तत्कालिन आवश्यक्तालाई ध्यानमा राखेर मात्रै सञ्चालन गरिएको बताए ।

उनले भने, ‘मंसिर २३ गते पानी वितरण भइसकेपछि मंसिर २४ गतेदेखि रेकर्ड राख्दा करिव ११ सय वटा चुहावट मर्मत हामीले गरिसकेका छौँ । चुहावट मर्मतका कुरामा धेरै चासो भएकाले अहिले हामीले पुरानो वितरण सञ्जालबाट नै पानी वितरण गरिरहेका छौँ । त्यसमा कति पाइपहरु सय वर्ष पुरानो छ, त्यसलाई नै मर्मत गरेर पानी वितरण गर्नुपर्ने बाध्यता छ । पुरानो वितरण सञ्जाल तत्कालिन आवश्यक्तालाई ध्यानमा राखेर गरिएको हो । भविष्यमा कति घर थपिन्छन् भन्ने आँकडा राखिएको छैन, पानी हुँदा हुँदै पनि वितरण सञ्जालको साइजको कारणले सबै घरधुरीमा समानुपातिक रुपमा पानी वितरण गर्न सकिरहेका छैनौँ ।’

काम नगर्ने चिनियाँ ठेकेदार कम्पनीबाट ८८ करोड फिर्ता

काठमाडौ उपत्यका खानेपानी सुधार आयोजना अन्तर्गत खानेपानी वित्तरण सञ्जाल सुधार प्याकेज अन्र्तगत क्षति भएको सडकको पुनस्थापनाका लागि गरिएको सम्झौता बमोजिम काम नगर्ने भारतको हैदरावाद स्थित सिआइपिएलको ठेक्का रद्द भएको छ ।

सो कम्पनीको परफरमेन्स सेक्यूरीटि बापत ११ करोड रुपैयाँ जफत गरिएको छ । मोबिलाइजेसन पेमेन्ट वापत १० करोड रुपैयाँ पनि फिर्ता लिइएको आयोजनाको भनाइ छ । यता फाेहोर व्यवस्थापन आयोजना अन्तर्गत काम गर्ने चिनियाँ साफवन वाटर सर्भिस होल्डिङ सँगको पनि ठेक्का सम्झौता रद्द भएको छ । उक्त कम्पनीबाट पनि मोबिलाइजेसन पेमेन्टको ८८ करोड १६ लाख रुपैयाँ फिर्ता लिइएको निर्देशनालयले जनाएको छ ।

राष्ट्रिय गौरवको आयोजनामा राखिएको मेलम्ची खानेपानी आयोजना २०५५/५६ बाट बजेट बिनियोजन भएर निर्माण शुरु भएको हो । करिब २५ वर्ष भइसक्दा पनि यो आयोजना पुर्ण रुपमा सम्पन्न हुन सकेको छैन । काठमाडौ उपत्यकामा ५१ करोड लिटर पानी उपलब्ध गराउँने उदेश्यका साथ निर्माण शुरु गरिएको थियो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर