सरकार पोखरामा किन धनाढ्य केन्द्रित परियोजनामा इच्छुक छ ? – Nepal Press
ब्लग

सरकार पोखरामा किन धनाढ्य केन्द्रित परियोजनामा इच्छुक छ ?

‘विराट भाइ कहिले आउने पोखरा प्लेन टिकट कहिलेको भनौं ?’

नेपाल लिटरेचर फेस्टिभल आयोजक संस्थाका निरज भारीबाट प्रश्न आयो ।

निरज दाइको प्रश्नमा मैले भनें, ‘दाइ अहिलेसम्म इटहरी पोखरा सडकबाटै गएकाले यो पालि पनि म सडकबाटै आउँछु ।’

आयोजकले गरेको विराटनगर-काठमाडौं-पोखरा हवाई यात्राको प्रस्तावभन्दा भिन्न सडकबाट आउन मैले रोजेको विकल्प गलत भएको महसुस पुस ८ गते बिहान साढे ७ बजे भयो । मैले यात्रा गरेको ग २ ख ९९७ नम्बरको गाडीलाई पछाडिबाट आएको ना ७ ख ६२७ नम्बरको गाडीले ठक्कर दियो । ठक्कर बिहानीको दृश्य हेर्दै सबैभन्दा पछिको कुनाको सीटमा मै बसेको ठाउँमा हान्यो । मभन्दा अगाडि बसेका दुई पाका भन्दै थिए, ‘भाग्यले बाँच्नुभयो । एक इन्च पनि नकटाएको भए गाडीको कुना हैन तपाईंलाई हान्थ्यो ।’

म चढेको गाडीमा लेखिएको ‘कुल देवताले रक्षा गरुन्’ भन्ने नाराअनुसारले सुरक्षित भएर म ठक्कर खान जोगिएँ वा जोगिनँ, त्यो फरक कुरा हो । पुस ८ को ठक्करमा मूलतः दुई कारण जिम्मेवार छन् । एक, चालक । चालकले कुन गाडी कता कसरी कुन गतिमा कुदेको छ भन्नेसम्म ख्याल नगरी चलाउँदा उनको गाडीले ठक्कर दिन पुगेको थियो । दुई, सडकको चौडाइको पनि दोष थियो । सडक अलि फराकिलो भएको भए चालकले गाडीको कुनामा नठोक्काइकन कुदाउन सक्थे ।

देशको प्रमुख पर्यटकीय नगरमा हुन गइरहेको देशकै स्थापित साहित्य महोत्सवमा सहभागी हुन मैले यात्रा गरिरहेको सडक देशको प्रमुख गन्तव्यस्थल पुग्ने स्तरको थिएन । ठाउँठाउँमा भत्किएको सडकमा विदेशी पर्यटकहरु शयर गराएर देशको शान देखाउने व्याख्या गर्ने स्तरको थिएन । अन्नपूर्ण क्षेत्रको गेटवे टाउनको रुपमा रहेको पोखरामा जाने विश्वस्तरीय सडकको कुनै कोणमा एक गुण पनि थिएन पोखरा पुग्ने सडक । हामीले पोखरा जाने झुर गुणस्तरको सडकमा दमौली नजिकै ठक्कर खाएकै समयमा पोखरामा भने अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटनको तारतम्य हुँदै थियो । मंसिर ५ देखि ११ सम्म क्यालिब्रेसन फ्लाइट सञ्चालन भएको थियो ।

अन्नपूर्ण क्षेत्रको गेटवे टाउनको रुपमा रहेको पोखरामा जाने विश्वस्तरीय सडकको कुनै कोणमा एक गुण पनि थिएन पोखरा पुग्ने सडक ।

पोखरा जोड्ने सडकलाई स्तरीय दुई लेन वा स्तरीय चार लेनको सडक नबनाइ हतारमा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको छ । पुस १७ गते सन् २०२३ को नयाँ वर्षको अवसरमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल औपचारिक रुपममै उद्घाटन भएको छ । भन्नमा र बन्नमा ‘अन्तर्रास्ट्रिय विमानस्थल’ भनिए पनि राष्ट्रिय रुटका विमान चलाएर विमानस्थल उद्घाटन भएको छ ।

पोखरामा कहिलेबाट भारत, चीन वा अन्य देश जोड्ने अन्तर्राष्ट्रिय उडान हुन्छन् भनेर यकिन भन्न सकिन्न । यत्ति चै भन्न सकिन्छ पोखराको मौसम खराब भएर विमानस्थल सञ्चालन हुन नसकेको समयमा सडक यात्राबाट काठमाडौं आउनेहरुले सडकको बारेमा धेरै गुनासो गर्नेछन् । र भन्नेछन्, ‘एउटा गतिलो राष्ट्रिय राजमार्ग बनाउन नसक्ने देशले ऋण लिएर अन्तर्राष्ट्रिय विमानस्थल किन बनाउनू ?’

२२ अर्बको ऋणमा बनाइएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा वाइड बडी विमान चल्दैनन् । सात महिना अगाडि टर्किस एयरलाइन्सका जीएम अब्दुल्लाहले काठमाडौं पोस्टसँगको कुराकानीमा बाइड बडी नबस्ने विमानस्थल भएकाले भैरहवा र त्रिभुवन अन्तर्रास्ट्रिय विमानस्थलमा जस्तो पोखरामा व्यवसायिक सम्भावना नहुने तर्क गरेका थिए । पर्यटन बोर्डको २४औं जन्मोत्सवमा बोलेका सीईओ धनञ्जय रेग्मीले पनि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले व्यवसायिक सफलता पाउनेमा शंका गरेका थिए । विश्वस्तरीय विमान कम्पनीदेखि नेपाली पर्यटन क्षेत्रका हस्तीहरुले व्यवसायिक सम्भावना नदेखेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन सरकारले भने सम्भावना देखेको थियो । सम्भावना देखेकैले २०७२ मा शिलान्यास गरेर २०७९ मा उद्घाटन गरिएको छ ।

पोखरामा सन् १९५२ बाट हवाईजहाज चलेको हो । दरभंगाबाट भाडामा ल्याएर चलाइएको डिसी-३ विमान आएको पाँच वर्षपछि मात्रै पोखरामा गाडी आएको थियो । सन् १९५७ मा त्रिभुवन ग्राम विकास कार्यक्रममा अमेरिकी जीप पोखरामा हवाईजहाज चढेर पुगेको थियो ।

नेपाल लिटरेचर फेस्टिभलमा बुकर अवार्ड पाउनेदेखि विभिन्न अन्तर्राष्ट्रिय लेखकहरु पोखरा ओर्लंदा बिदा नदिएको महानगरले अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडान नहुँदै भएको उद्घाटन समारोहमा सार्वजनिक बिदा दियो । यो स्तरमा भावुकता देखाएर बनाइएको विमानस्थलमा म जस्ता निम्न मध्यम आय भएकाहरुले यात्रा गर्न सक्दैनन् । देशका बहुसंख्यक नागरिकले बाध्यताबाहेक हवाई यात्रा गर्न सक्दैनन् । देशका बहुसंख्यक नागरिकले धान्न नसक्ने र अन्तर्राष्ट्रिय उडान हुने व्यवसायिक सफलताको सम्भावना कम हुने विमानस्थल मूलतः धनाढ्यमैत्री परियोजना हो । यसले उडान गर्दा धनाढ्यलाई मात्रै सहज हुन्छ । नाफा नहुँदा आम मान्छेको करले धान्नुपर्ने हुन्छ । धनाढ्य केन्द्रित परियोजना हो पोखरा अन्तर्राष्ट्रिय विमानस्थल ।

उसो त सरकारले पोखरामा सबैभन्दा पहिलो प्राथामिकता धनाढ्यलाई नै दिँदै आएको छ । उदाहरणको लागि पोखरामा सन् १९५२ बाट हवाईजहाज चलेको हो । दरभंगाबाट भाडामा ल्याएर चलाइएको डिसी-३ विमान आएको पाँच वर्षपछि मात्रै पोखरामा गाडी आएको थियो । सन् १९५७ मा त्रिभुवन ग्राम विकास कार्यक्रममा अमेरिकी जीप पोखरामा हवाईजहाज चढेर पुगेको थियो । साइकलले पोखरा प्रवेश सन् १९६० मा मात्रै पाएको हो । सडक त पोखरामा जहाज ओर्लिएको १५ वर्षपछि मात्रै सन् १९६७ सुनौलीबाट पुगेको थियो । काठमाडौंसँग सडक जोडिन त्यसको पाँच वर्ष अर्थात् १९७२ सम्म कुर्नुपरेको थियो । पोखरामा आम जनताको लागि भन्दा धनाढ्यका विलासी सवारीको प्रवेशको यो रोचक कथा हर्क गुरुङले २० वर्ष अगाडि पोखरा उद्योग वाणिज्य संघको कार्यक्रममा कार्यपत्रमै भनेका थिए ।

अहिले हर्क गुरुङले देहत्याग गरेको पनि दुई दशक पुग्न लागेको छ । तर, पोखराको विकासे मोडल हर्क गुरुङले भने जस्तो सात दशक अगाडिकै छ । जहाँ पहिलो प्राथमिकता विमानस्थलमा हुन्छ । सडकमा दोस्रोमात्रै हुन्छ । त्यसको पहिलो असर म र म जस्ता आम मान्छेहरुलाई परिरहन्छ ।


प्रतिक्रिया

One thought on “सरकार पोखरामा किन धनाढ्य केन्द्रित परियोजनामा इच्छुक छ ?

  1. झुर आर्टिकल ! यस्ताे आर्टिकलले नेपाल प्रेसकाे स्तर घट्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *