नेपाल फर्निचर तथा फर्निसिङ संघको अध्यक्षमा अग्रवाल – Nepal Press

नेपाल फर्निचर तथा फर्निसिङ संघको अध्यक्षमा अग्रवाल

काठमाडौं । नेपाल फर्निचर तथा फर्निसिङ संघ काठमाडौंमा सर्वसम्मत नयाँ नेतृत्व चयन भएको छ । शनिबार राजधानीमा सम्पन्न संघको २३ औं साधारणसभा तथा अधिवेशनले दिनेश अग्रवालको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन भएको हो ।

२ वर्षे कार्यकाल रहेको संघको वरिष्ठ उपाध्यक्षमा मनिष अग्रवाल, प्रथम उपाध्यक्षमा अरुणकुमार चौधरी, द्वितीय उपाध्यक्षमा अर्जुन घिमिरे र महासचिवमा सञ्जय लामा निर्विरोध भएका हुन् ।

त्यसैगरी कोषाध्यक्षमा रमिता कसजू श्रेष्ठ, सचिवमा केदारनाथ बस्ताकोटी र डमरु बल्लभ पराजुली निर्विरोध भएका छन् । संघको सदस्यमा दिलविक्रम श्रेष्ठ, भोलामान योञ्जन, ऋषिकिशोर अग्रवाल, सम्यकमान सिंह, मुकेश अग्रवाल, गीता अच्छामी, रञ्जु श्रेष्ठ, निकुञ्ज अग्रवाल र टेकबहादुर कार्की निर्बिरोध भएका हुन् ।

निवर्तमान अध्यक्ष शुभेन्द्र जोशी रहेको कार्यसमितिले थप ३ जना सदस्यहरु मनोनयन गरी २१ सदस्यीय कार्यसमितिलाई पूर्णता दिनेछ ।

संघको साधारणसभालाई सम्बोधन गर्दै काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले घर बहालका सन्दर्भमा व्यापक गुनासोहरु आएकाले घरबेटी र बहालमा बस्नेलाई सहज हुने किसिमको कानूनी व्यवस्था गर्न लागिएको जानकारी दिइन् ।

कार्यक्रमका वक्ताहरुले उपत्यकामा मालवस्तु ढुवानीमा गरिएको कडाइले फर्निचरका उत्पादन ओसारपोसारमा समस्या भएको गुनासो गरेका थिए । महानगरले अघि सारेका योजना राम्रा भए पनि व्यवसायीसँग छलफल नगर्दा व्यवस्थापकीय समस्या उत्पन्न भएको उनीहरुको भनाइ थियो ।

संघका निवर्तमान अध्यक्ष शुभेन्द्र जोशीले फर्निचर व्यवसायीलाई काठ कटानीको टेण्डरमा सहभागी हुनबाट बञ्चित गराइएकोतर्फ ध्यानाकर्षण गराए । संघका नवनिर्वाचित अध्यक्ष अग्रवालले उच्च विन्दुमा पुगेको बैंक व्याजदरका कारण फर्निचर व्यवसायीहरु विस्थापित हुने अवस्थामा पुगेको बताए ।

संघमा २०० आजीवन र ४०० साधारण सदस्य गरी ६०० फर्निचर व्यवसायी आबद्ध छन् । देशभर १२ हजारको संख्यामा फर्निचर व्यवसायी छन् । यो व्यवसायले २ लाखभन्दा बढीलाई प्रत्यक्ष रोजगारी दिइरहेको छ । फर्निचर व्यवसायमा करिब ३० अर्ब रुपैयाँको लगानी छ । वार्षिक कारोबार ४० अर्ब रुपैयाँभन्दा माथि छ । जसमा कुल कारोबारको ६० प्रतिशत वस्तु विदेशबाट आयात हुँदै आएको अनौपचारिक तथ्यांक छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर