विश्वकपमा पेनाल्टी सुटआउट : क्वाटरफाइनल पुगेका ८ टोलीमध्ये को बढी सफल ? – Nepal Press

विश्वकपमा पेनाल्टी सुटआउट : क्वाटरफाइनल पुगेका ८ टोलीमध्ये को बढी सफल ?

दोहा । पहिलो खेलमा कोस्टारिकालाई ७-० गोलले हराएको स्पेन प्रि-क्वाटरफाइनलभन्दा अगाडि बढ्न सकेन । समूहगत चरणमा दुई विश्व च्याम्पियन स्पेन र जर्मनीलाई स्तब्ध बनाएको जापान पनि अन्तिम १६ मै रोकियो ।

यी दुवै टोलीको यात्रा लगभग एकै तरिकाले टुंगिएयो । दुवै टोली निर्धारित र अतिरिक्त समयको खेल बराबरीमा सकिएपछि भएको पेनाल्टी सुटआउटमा पराजित भए ।

जापानले क्रोएसियाविरुद्ध सुरुका चारमध्ये तीनवटा पेनाल्टीमा गोल गर्न सकेन । क्रोएसियाका गोलरक्षकले तीनवटै प्रहार रोकेका थिए । मोरोक्कोविरुद्ध स्पेन पनि सुरुका लगातार तीन पेनाल्टीमा चुकेको थियो । उसको पहिलो प्रहार बारमा लागेको थियो भने बाँकी दुई प्रहार मोरोक्कोका गोलरक्षकले रोकेका थिए ।

विश्वकपमा नकआउट चरण सुरु भएपछि पेनाल्टी सुटआउटले रोमाञ्चकता बढाउँछ । जारी विश्वकपमा दुईवटा पेनाल्टी सुटआउट भइसकेका छन् ।

विश्वकप इतिहासमा हालसम्म ३२ वटा पेनाल्टी सुटआउट भएका छन् । पेनाल्टी सुटआउटमा गोल रोक्ने र गोल गर्न नसक्नेको बढी चर्चा हुन्छ । गोल गर्ने नसक्नेको आलोचना हुन्छ भने गोल रोक्नेको बढी तारिफ । गोल गर्नेको न चर्चा हुन्छ न त गोल खानेको आलोचना नै ।

विश्वका एकसेएक खेलाडीहरु पेनाल्टीमा चुकेको इतिहास छ । जारी विश्वकपमै पछिल्ला दुई संस्करणका फिफा वर्ष खेलाडी रोबर्ट लेवान्डोस्की र ७ पटकका फिफा वर्ष खेलाडी लियोनल मेस्सीले पाएको पेनाल्टी अवसरलाई सदुपयोग गर्न सकेनन् । उनीहरु दुवैका प्रहारलाई गोलरक्षकले रोकेका थिए । दुवै खेलाडी पेनाल्टीमा चुकेको पहिलो अवसर भने होइन ।

प्रतिस्पर्धा अगाडि बढ्दै जाँदा क्वाटरफाइनल, सेमिफाइनल र फाइनलमा पेनाल्टी सुटआउटको सम्भावना अझ बढी रहन्छ । जारी विश्वकपमा फ्रान्स, इङ्ल्यान्ड, नेदरल्यान्ड्स, ब्राजिल, अर्जेन्टिना, पोर्चुगल, क्रोएसिया र मोरोक्को क्वाटरफाइनलमा पुगेका छन् । अन्तिम ८ का खेलहरु शुक्रबारदेखि सुरु हुँदैछन् ।

टाइब्रेकरमा कुन टोली बलियो भन्न गाह्रो हुन्छ । तुलनात्मक रुपमा बलिया टोली र खेलाडीहरु पेनाल्टीमा चुकेका धेरै उदाहरण छन् । तर, विगतमा टाइब्रेकरमा को बढी सफल भएको थियो भन्न चाहिं सकिन्छ ।

विश्वकपको इतिहास हेर्ने हो भने क्वाटरफाइनल पुगेका टोलीमध्ये पेनाल्टी सुटआउटमा सबैभन्दा बढी सफल क्रोएसिया देखिन्छ । क्रोएसियाले हालसम्म खेलेका सबै तीन पेनाल्टी सुटआउट जितेको छ ।

यस्तै अर्जेन्टिनाले हालसम्म खेलेका ५ पेनाल्टी सुटआउटमा एउटामा हार ब्यहोरेको थियो भने ४ वटा जितेको छ । विश्वकपमा अर्जेन्टिना पेनाल्टी सुटआउटमा सबैभन्दा बढी सहभागी टोली हो ।

इङ्ल्यान्डले चारपटक पेनाल्टी सुटआउट खेलेकामा तीनपटक हारेको थियो । फ्रान्स सन् २००६ को विश्वकपको फाइनलमा इटालीसँग पेनाल्टी सुटआउटमै पराजित भएको थियो ।

सन् १९८२ को विश्वकप सेमिफाइनलमा फ्रान्सले पश्चिम जर्मनीसँग पेनाल्टी सुटआउटमा हार ब्यहोरेको थियो । विश्वकप इतिहासमा पहिलो पेनाल्टी सुटआउट त्यही थियो । सन् १९८६ को विश्वकप क्वाटरफाइनलमा फ्रान्सले ब्राजिललाई पेनाल्टी सुटआउटमा पाखा लगाएको थियो ।

चार वर्षपछि आयोजित विश्वकपमा अर्जेन्टिनाले युगोस्लाभियालाई पेनाल्टी सुटआउटमा हराएर सेमिफाइनलमा स्थान बनाएको थियो ।विश्वकपमा अर्जेन्टिनाले खेलेको त्यो पहिलो पेनाल्टी सुटआउट थियो । सेमिफाइनलमा इटालीलाई टाइब्रेकरमै हराएर अर्जेन्टिना फाइनल पुगेको थियो ।

सन् १९९४ को विश्वकप फाइनलमा इटालीलाई टाइब्रेकरमा हराएर ब्राजिलले उपाधि जितेको थियो । विश्वकपमा टाइब्रेकरबाट उपाधि विजेताको टुंगो लागेको त्यो पहिलो अवसर थियो ।

सन् १९९८ को विश्वकपमा इङ्ल्यान्डलाई टाइब्रेकरमा हराएर अर्जेन्टिनाले क्वाटरफाइनलमा ठाउँ बनाएको थियो । त्यस विश्वकपमा फ्रान्सले इटालीलाई टाइब्रेकरमा हराएर सेमिफाइनल पुगेको थियो भने नेदरल्यान्ड्सलाई टाइब्रेकरमा हराएर ब्राजिलले फाइनल यात्रा तय गरेको थियो ।

सन् २००६ को विश्वकपमा जर्मनीले अर्जेन्टिना र पोर्चुगलले इङ्ल्यान्डलाई पेनाल्टी सुटआउटमा हराएर सेमिफाइनलमा स्थान बनाएका थिए । त्यस विश्वकपको फाइनलमा इटालीले फ्रान्सलाई टाइब्रेकरमा हराएको थियो । सन् २०१४ को विश्वकपमा ब्राजिलले चिलीलाई प्रि-क्वाटरफाइनलमा र नेदरल्यान्ड्सले कोस्टारिकालाई क्वाटरफाइनलमा टाइब्रेकरमा हराएका थिए । सेमिफाइनलमा नेदरल्यान्ड्सलाई टाइब्रेकरमा हराएर अर्जेन्टिना फाइनलमा पुगेको थियो ।

चार वर्षअघि आयोजित विश्वकपमा क्रोएसियाले डेनमार्क तथा इङ्ल्यान्डले कोलम्बियालाई टाइब्रेकरमा हराएर क्वाटरफाइनलमा स्थान बनाएका थिए । सेमिफाइनल पुग्ने क्रममा क्रोएसियाले रुसलाई पनि टाइब्रेकरमै हराएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *